बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वायु प्रदूषणका कारण शरीरमा यस्ता असर देखिन सक्छन्

बुधबार, १८ चैत २०७७, १९ : ४१
बुधबार, १८ चैत २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश केही दिनयता निकै प्रदूषित छ । उपत्यकामा बढेको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । वायु प्रदूषण बढेपछि विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयले देशभरका विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्न समेत निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घरबाहिर सकेसम्म ननिस्कन र निस्कनै परेमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबारदेखि उपत्यकाको आकाशमा उडिरहेको प्रदूषित हावाले स्वास्थ्यमा निकै असर पुर्याउने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास बताउँछन् । वायुमण्डलमा उडिरहेको प्रदूषित हावाले फोक्सोमा सिधै असर गर्ने उनी बताउँछन् ।

अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोका बिरामीलाई झन् असहज हुन्छ । वायु प्रदूषणका कारण रुघाखोकी, घाटी खसखस हुने, चिलाउने अर्थात घाँटीको एलर्जी र फोक्सोमा बढी समस्या देखिनसक्छ । वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले सावधानी अपनाउन उनको सल्लाह छ । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या भएका, सीओपीडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, दम, ब्रमटाइटिस र निमोनिया भएकालाई गाह्रो हुने डा.दास बताउँछन् ।

वायु प्रदूषणका कारण शरीरमा यस्तो असर पर्नसक्छ 

-प्रदूषित वायुले फोक्सोको बिरामीको फोक्सो थप सुनिन्छ ।
-फोक्सोको काम गर्ने क्षमतामा ह्रास आउने
-श्वास फुल्ने
-छातीमा केहीले समातेजस्तो हुने 
-रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने
-फोक्सोका बिरामीलाई अन्य रोगका भाइरसहरूले छिट्टै आक्रमण गर्न सक्छ ।

फोक्सोमा समस्या नभएका व्यक्तिमा देखिने असर
–श्वासप्रश्वासमा बाधा भएको महसुस हुने
-छाती भारी हुने 
-वायु प्रदूषणले नाक आँखा, छालामा तत्काल समस्या देखिन सक्छ ।
-दीर्घरोगी तथा मुटुको समस्या भएका बिरामीलाई पनि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।
-वायु प्रदूषणले फोक्सोको क्यान्सरको जोखिम बढाउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १० माइक्रोनभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्छ । कण २.५ माइक्रोनभन्दा पनि कम व्यासको हुन्छ । त्यसैले यो कणले भावी दिनमा समेत स्वास्थ्यमा असर पुर्याउँछ । प्रदूषणको स–सानो कण फोक्सोबाट रक्त प्रणालीमा प्रवेश गर्ने भएकाले फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्यामात्रै नभएर अन्य रोग बढाउनका लागि पनि सहयोग गर्छ । 

प्रदूषणबाट यसरी जोगिन सकिन्छ

-मर्निङ वाक, इभिनिङ वाकमा ननिस्कने ।

-घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाएर हिँड्ने ।

-अनावश्यक रुपमा घरबाहिर ननिस्कने ।

-वायु प्रदूषण भएका बेला कठिन खालका शारीरिक अभ्यास सकेसम्म नगर्ने ।

-घरबाहिर निस्किँदा वायु प्रदूषणबाट आँखालाई जोगाउनका लागि चस्मा लगाउने ।

-श्वासप्रश्वास प्रक्रियामा धेरै गाह्रो हुने, खोकी लाग्ने, छातीमा समस्या भएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।  

-फोक्सोमा समस्या, श्वासप्रश्वास प्रक्रियामा समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने ।

– बिहान र बेलुका घरका झ्यालढोका सकेसम्म नखोल्ने ।

 -बढी भीड र अत्यधिक सवारी भएको स्थानमा नजाने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप