शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय खोपमा गरेको गल्ती चिनियाँ खोपमा सरकारले नदोहोर्‍याउने

बिहीबार, १९ चैत २०७७, १८ : २७
बिहीबार, १९ चैत २०७७

काठमाडौं । सरकारले चीनले अनुदान सहयोगमा दिएको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदान सहयोगमा उपलब्ध खोपबारे थप निर्णय लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

कोभिशिल्ड खोपभन्दा भेरोसेल खोप फरक भएको उनले बताए । ‘चीनबाट अनुदानमा उपलब्ध गराइएको भेरोसेल खोप ४ लाख जनालाई दिने तयारी भएको छ’ उनले भने, ‘विश्वमा खोपको उत्पादन कम र माग बढी छ, हामीसँग जति खोप छ त्यहीअनुसार योजना बनाउँछौँ ।’

चीन सरकारले दिएको खोप भारतले दिएको कोभिशिल्ड खोपभन्दा फरक भएकाले स्वास्थ्यकर्मीलाई बुझाउने काम भइरहेको उनको भनाई छ । खोप लगाउने लक्षित वर्गको प्राथमिकिकरण गर्ने काम भइरहेको उनले जानकारी दिए । ‘भेरोसेल र कोभिशिल्ड खोप लगाउने व्यक्तिको कार्ड फरक हुने भएकोले त्यसको गृहकार्य भइरहेको छ’ उनले भने, ‘खोपको ढुवानी, व्यवस्थापन, प्राथमिकिकरण जस्ता साना मसिना काम गर्न छोटो समय लागेको हो ।’​ भेरोसेल खोप दिनका लागि प्राविधिक तथा स्वास्थ्यकर्मीहरु खटिइरहेको समेत उनले सुनाए । चीनले ८ लाख डोज खोप नेपाललाई उपलव्ध गराइसकेको छ ।

वैशाख ७ देखि वैशाख १५ सम्म दोस्रो डोज 

यसअघि पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकाहहरुले वैशाख ७ गतेदेखि दोस्रो डोज लगाउन पाउने भएका छन् । वैशाख ७ देखि वैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयले तयारी गरेको हो । भारतबाट अनुदान सहयोगमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप अग्रपंक्तिमा खटिएका चिकित्सक, सफाईकर्मी पत्रकार, विदेश नियोगका कर्मचारीलगायत ४ लाख २९ हजारले लगाइसकेका छन् । पहिलो चरणको पहिलो प्राथमिकतामा परेकालाई दोस्रो डोजको खोप लगाइएको १२ हप्ताभित्र चरणबद्ध रुपमा दिइने डा.अधिकारी बताउँछन् ।

सरकारले २० लाख डोज खोप खरिदका लागि भारतलाई भुक्तानी गरिसकेको छ । त्यसमध्ये १० लाख डोज खोप नेपालले प्राप्त गरिसकेको छ । १० लाख डोज खोप अप्रिल पहिलो सातासम्म पठाउने खोप उत्पादक कम्पनी सेरमले जानकारी दिएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिङ्करीले बताए । यसअघि १७ लाख ५७ हजार जनाले कोरोना विरुद्धको  कोभिशिल्ड खोप लगाइसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप