शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकद्वारा ८ अर्ब ७० करोड बराबरको सहयोग

शुक्रबार, २० चैत २०७७, १६ : २९
शुक्रबार, २० चैत २०७७


काठमाडौं । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकार बिच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । ‘कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय(सान्दर्भिक सहयोग पुर्याउनेछ’ अर्थसचिव शिशिरकुमार ढुंगानाले भने। ‘कोभिड–१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्धको खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुनेछ।’

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रुपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनाका अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन्।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड–१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ । कोभिड–१९ विरुद्धका खोपहरूको माग र स्वीकार्यता सुधार गर्न सामुदायिक संलग्नता र जोखिम सञ्चारलाई  प्रवर्द्धन गर्नेछ, र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाइलाई पनि बढावा दिनेछ । 

‘कोभिड–१९  विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने।

विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको  ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशील देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।

यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९का खोपहरूको खरिद, वितरण, परीक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो । यस वित्तिय सहयोग विश्व बैंक समूह स्तरीय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्दछ, जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप