शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतबाट आएका ६८ जनामा संक्रमण, भाइरसको ​भेरिएन्टबारे सरकार बेखबर

१२ नाकामा मात्रै हेल्थ डेक्स
शुक्रबार, २० चैत २०७७, १७ : ४९
शुक्रबार, २० चैत २०७७


काठमाडौं— भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश गर्ने मध्ये कोरोनाभाइरस कोभिड—१९ को आशंका गरिएकालाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले जानकारी दिए ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा वृद्धि भइरहेको संक्रमण दरको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा पर्ने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

नेपालमा पनि साता दश दिनयता कोरोना संक्रमण दरको ग्राफ उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. समीरकुमार अधिकारले बताए । १९ गते शुक्रबार ३ हजार ५ सय ६५ कोरोना परीक्षण गर्दा १ सय ७९ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण दर उच्च विन्दुमा पुगेको थियो । भारतमा संक्रमण दर बढ्दै जाने नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएकाले नेपालमा कोरोना संक्रमणको दोस्रो लहरको संकेत देखिएको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताउँछन् । सीमा नाकाहरूबाट मानिसको आवत–जावत हुनुका साथै पेशा व्यवसाय, श्रम र तीर्थयात्राका लागि धेरै भारतीयहरू नेपाल आउने जाने गर्छन । त्यसैले संक्रमण सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

१२ नाकामा मात्रै हेल्थ डेस्क

सरकारले भारतमा कोरोना संक्रमण दर बढेपछि नेपाल भारतको सीमा नाकाका ११ वटा हेल्थ डेस्कलाई सक्रिय बनाएको छ । हेल्थ डेस्कलाई सक्रिय बनाएपछि भारतबाट १९ हजार ६ सय ४२ जना स्क्रिन टेष्ट गरेर नेपाल प्रवेश गरेको डा. पौडेलले सुनाए । नेपालमा प्रवेश गर्ने मध्ये संक्रमणको आशंकामा १७ सय ३४ जनालाई एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । बिहिबार मात्रै आशंका गरिएका २ सय ८८  एन्टिजिन परीक्षण गरेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सक्रिय ११ सीमा नाकामध्ये त्रिनगर हेल्थ डेस्क कञ्चनपुरबाट ५८ संक्रमण फेला परेको छन् ।

भारतबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि भएका मध्ये सामान्य लक्षण देखिएका र घर नजिकै हुनेलाई होम आइसोलेसनका लागि हेल्थ डेस्कले पठाउन सक्ने निर्देशक प्रमुख डा. पौडेल बताउँछन् ।

‘संक्रमितको घर नाकाबाट टाढा जस्तै दार्चुला, रुकुम रोल्पा छ भने ।’ उनी भन्छन्, ‘नाका नजिकै रहेको आइसोलेशनमा स्थानीय तहहरूसँग समन्वय गरेर राखिन्छ ।’

संक्रमितमा लक्षण देखिए आवश्यकताको आधारमा नाका नजिकैको आइसोलेशनमा १० दिनसम्म राखेको उनले सुनाए । यदि संक्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेमा हेल्थ डेस्कले नाका नजिकैका अस्पतालहरू बिरामीको उपचार गर्ने व्यवस्था मिलाउनेसमेत उनको भनाइ छ । नेपाल भारत सीमा नाकाहरूबाट मानिसको आवत–जावत, पेशा व्यवसाय, श्रम र तीर्थयात्राका लागि धेरै भारतीयहरू नेपाल आउने गर्छन् ।

भारतको गौराफन्टासँग जोडिएको नेपालको धनगढी नगरपालिकाबाट पनि धेरै मानिसहरूको आउजाउ हुने उनले बताए । स्थालमार्गकाबाट प्रवेश गर्नेलाई सरकारले कोभिड—१९ सम्बन्धी निर्देशिका बमोजिम संक्रमितलाई व्यवस्थापन गरिरहेको उनको दाबी छ । हाल रसुवा र  सिन्धुपाल्चोकमा हेल्थ डेक्सबाट भने कोरोना परीक्षण हुँदैन ।

भारतबाट आउनेहरूमा कुन स्वरूपको भाइरस हो भन्नेमा  सरकार बेखर

भारतमा कोरोना पुष्टि हुने संक्रमितमा आयातित यूके, दक्षिण अफ्रिकी र ब्राजिलियन भेरिएन्टका कोरोनाभाइरसहरू देखापरेको छ । भारतमा ९५ प्रतिशत यूके भेरिएन्टको भाइरस देखिएको एक अध्ययनले देखाएको छ । नेपालमा पनि माघ ५ गते यूके भेरिएन्ट ५ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । भारतमा यूके भेरिएन्टका संक्रमितको दर उच्च छ । यद्यपि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने संक्रमितमा कुन खालको कोरोनाभाइरसको भेरिएन्ट हो भनेर पत्ता काम भएको छैन । नेपालमा पनि यूके भेरिएन्टको कोरोनाभाइरस देखा परिसकेकाले आगामी दिनहरूमा अघिल्लो कोरोनाभाइरसलाई प्रतिस्थापन गर्दै दक्षिण अफ्रिकी तथा ब्राजिलियन भेरिएन्टका कोरोना भाइरसहरू देखिन सक्ने तर्फ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सचेत गराए ।

देशभर रहेका ८४ वटा प्रयोगशालाबाट कोरोनाभाइरसका नयाँ भेरिएन्ट छुट्याउन सकिँदैन । भाइरसहरूले रुप परिवर्तन गरिरहने मन्त्रालयका सह—प्रवक्ता डा. अधिकारी बताउँछन् ।   ‘भाइरसको सामान्य परिर्वनतले धेरै फरक पर्दैन,’ उनले भने, ‘भाइरसको स्वरुपमा धेरै परिर्वतन भए संक्रमणको दर, लक्षण, मृत्यु, उपचार खोपलाई प्रभाव पार्न सक्छ ।’

नेपालमा संक्रमणको लक्षण र दर हेर्दा भाइरसमा सामान्य परिर्वतन मात्रै आएको हुन सक्ने उनले बताए । यद्यपि जिन सिक्‍वेन्सिङ नगरी कुन भाइरस भनेर नेपालले प्राविधिक रुपमा अध्ययन गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप