शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वंशावलीको खोजी

आइतबार, २२ चैत २०७७, १२ : २२
आइतबार, २२ चैत २०७७

केही मानिस खोजी केवल विज्ञानका विद्यार्थीको चासोको विषय मान्ने गर्छन् । साँचो त यही हो कि संसारको प्रत्येक तर्कशील मस्तिष्क रोज कुनै न कुनै विषयको खोजी गरिरहेको हुन्छ ।

ढुङ्गासँग प्रश्न हुँदैन । प्रश्न चेतनशील मस्तिष्कको उपज हो । प्रश्न गर्नेले नै उत्तर भेट्टायो । यस जगतमा मानव मात्र त्यस्तो प्राणी हो जो प्रश्न गर्ने र त्यसलाई तार्किक निष्कर्षमा पु¥याउने ल्याकत राख्छ । उसले खोजी नगरेको भए चन्द्रमा आज पनि पृथ्वीको उपग्रह नभई रहस्यमय देवताको कोटीमा कायमै रहन्थ्यो ।

सिद्धार्थ गौतमले पच्चीस सय वर्षअघि ज्ञान र शान्तिको खोजी गर्दै बुद्धत्व प्राप्त गरे । सर आइज्याक न्युटनले स्याउको रुखमुनिबाट ‘ल अफ ग्राभिटेसन’को खोजी अघि बढाए । निकोलस कोपर्निकसले आकाशीय पिण्डहरुको रहस्य खोल्दै ब्रह्माण्डको केन्द्र पृथ्वी नभई सूर्य भएको र पृथ्वी आफ्नो कक्षमा परिक्रमा गर्ने क्रममा दिनरात हुने लगायत सबै खगोलीय पिण्डहरुले सूर्यलाई परिक्रमा गर्दछन् भन्ने तथ्य पत्तालगाए । दार्शनिक कार्ल माक्र्स पुँजीपति वर्गले मजदुरमाथि गर्ने शोषणको बारेमा घोत्लिँदै ‘थ्यौरी अफ सरप्लस भ्यालु’ जनसमक्ष ल्याए ।

मनुष्य अनुसन्धानप्रेमी जीव हो । अनुसन्धान सत्य–तथ्यमा आधारित हुन्छ । अथवा यसो भनौँ, हरेक अनुसन्धान सैद्धान्तिक, दार्शनिक तथा वैज्ञानिक तथ्यमा आधारित रही गर्ने गरिन्छ । यो कसरी भयो ? हिजो कुन स्थितिमा थियो ? त्यसको उद्भव हुनुपछाडिको कारण के थियो ? आदि सैद्धान्तिक अवधारणामा आधारित भई गरिने खोजीले नै विषयलाई तार्किक निष्कर्षमा पु¥याउन मद्दत गर्छ । त्यसविपरीत अवस्तुवादी वा अमूक पक्षको स्वार्थपूर्तिलाई मध्यनजर गरी गरिने खोजी कार्यले समाजलाई दिग्भ्रमित बनाउँछ ।

वंशावलीको खोजी आज धेरै मानिसहरुको रुचिकर विषय बनेको देखिन्छ । आफूलाई शक्तिशाली कुल–वंशको दावा गर्नेहरुमा त यो झनै घनिभूतरूपमा फैलिँदै गएको पनि छ । इतिहास लेखनले गति लिइनसकेको प्राचीनकालमा वंशावलीलाई तत्कालीन समय बुझ्ने मोटो आधार मान्ने गरिएको पनि छ । तिनताका दरबारिया चाकरिबाज कविहरु राजामहाराजाका वंशावली लेख्न तँछाडमछाड गर्थे । यथार्थमा स्वैर कल्पनाको जलप मिसाउँदै प्रभु महिमाको स्याल हुइयाँ लाउँथे । तर तिनलाई दरबारबाहिरका निरिह प्रजाका बारेमा सोच्ने फुर्सदसम्म हुँदैनथ्यो । ती निरिह प्रजा जसका बाबु, बराजु, जिजुबराजु बेनाम जन्मन्थे, बेनाम अवस्थामै मर्थे । बलेको आगो ताप्ने समाजमा धुवाँ भरिएको अँगेनो ओरपर पुगिदिने नै को ?

विश्व मानचित्रमा लाखौँ जन त्यस्ता पनि छन् जो मानिसका रूपमा जन्म लिएर पनि कुल, थर, वंश थाहा नपाई मरे । जन्मपश्चात बेवारिसे अवस्थामा फेलापरेको ‘टुहुरो’ मनुष्यले आफ्नो कुल–वंश थाहा पाओस् पनि कसरी ! त्यो युगमा बाबुआमाको टुङ्गो नभएको भनिदिँदा भोलेबाबा शङ्कर ब्रह्माको जगल्टा लुछ्न तम्सेका थिए रे ।

हामीलाई अरूभन्दा विशिष्ठ कहलाउनुमा गर्वनुभूति हुने गर्छ । जन्म एक काकताली हो । मानिसको जन्म निश्चित कुल–वंशमा हुनु व्यक्तिगत छनोटको विषय पटक्कै होइन ।

आम हिन्दूहरु आफूलाई कुनै खास ऋषि–महर्षिका वंशज मान्ने गर्छन् । हामी आफूलाई देवर्षिका सन्तान भएको दावा गर्न पाउँदा नाक फुलाउँछौँ । लेखक तिवारीले पनि आफ्नो कौशिक गोत्रको कुल पुर्खा ऋषि विश्वामित्र थिए भन्ने पढ्न पाउँदा गर्वानुभूति गरेको थियो । हामीलाई मनुष्य जाति एकै पुर्खाको सन्तान हुन् भनी दिनेभन्दा समाज चार वर्ण, छत्तीस जातमा विभक्त छ भन्नेहरु जीव वैज्ञानिक चाल्र्स डार्विनभन्दा महान लाग्छ ।

यिनै कथनको सेरोफेरोमा म साहित्यकार बालकृष्ण समका केही भनाइ उद्धृत गर्ने अनुमति चाहन्छु । समले ‘नियमित आकस्मिकता’मा लेखेका छन्– मानव जाति बाँदरबाट चढ्दै गएको होइन, देवताबाट ओर्लंदै आएको भनेर हामी वृथा अभिमान गर्दछौँ । हामीले मानिस र गोरिल्लाका कङ्कालको तुलनात्मक अध्ययन गर्नु जरुरी छ । बाँदरले कपाल कन्याएको हेर्नु आवश्यक छ । हामी बिगब्याङबाट ग्रहहरूको उत्पत्ति भएको वा घस्रेर हिँड्ने जीव डाइनासोरबाट एप, वानर प्रजाति हुँदै मानव वंशावलीको विकास भएको भनी घमण्ड गर्छौं ।’

हुन पनि मानव सृष्टि सम्बन्धमा धर्मपिच्छेका मतहरु भेटिन्छन् । इसाईहरू भन्छन्,  ‘ईश्वरले जमिनबाट अलिकति हिलो माटो उठाए र मानिसको आकृति बनाए । त्यस आकृतिको नाकबाट प्राणवायु फुकिदिएपछि एउटा सजीव प्राणी तयार भयो । ईश्वरले उसको नामकरण ‘आदम’ भनी गरे । त्यसपछि ईश्वरले इभ नामकी आदमकी जीवन सङ्गिनी तयार गरे ।’

कुरान भन्छ, ‘जगत्का सृष्टिकर्ता अल्लाह हुन् । अल्लाहको आसन पानीमा थियो । उनले छ दिन लगाएर आकाश र धर्तीको सृष्टि गरे । अल्लाहले कुहिएर सुकेकोे डल्लो माटोबाट मानिसको सृष्टि गरे । ग्रीसेली मिथकअनुसार सम्पूर्ण सृष्टिका कारक सूर्य देवता ‘एटोम’ हुन् ।

हिन्दू धर्मग्रन्थअनुसार ईश्वरले पहिला नार नामको जल उत्पन्न गरे । अनि त्यसमा नारायण नामको बीज छोडे । त्यो बीज बढेर हिरण्यगर्भ नाम गरेको सुनको अण्डा बन्यो । त्यसै अण्डाबाट स्वेच्छाले ब्रह्मा उत्पन्न भए । ब्रह्मा अर्थात् प्रजापति सुरुमा स्त्री वा पुरुष कुनै लिङ्गका थिएनन् । ब्रह्माले आफ्नै शरीरलाई आधा आधा गरी चिरेर दुई भाग बनाए । विभाजित भागमध्ये बायाँ भाग स्त्री र दायाँ भाग पुरुष भयो । त्यसपछि उनले आफ्नै स्त्री शरीरसँग सहवास गरे । सहवासबाट मनु र सतरूपा नामका दाजु बहिनीको जन्म भयो । मनु र सतरूपाबाट जन्मेका सन्तान नै कालान्तरमा ‘मानव’ कहलाए ।’

तर ऋग्वेद दशौँ मण्डल १२९औँ सूक्तमा ऋषि प्रजापति परमेष्ठी भन्छन्– सृष्टि कसरी भयो त्यो कसैलाई थाहा छैन ।’

उसो भए सृष्टि कसरी भयो होला त ? मानव जातिको कुलपुर्खा को थियो होला ? युरोप–अमेरिकामा बसोवास गर्ने गोरा समुदाय या अफ्रिकी महादेशका काला–हब्सीहरु कुन गोत्रीय ऋषिमुनिका वंशज होलान् ? सृष्टिकालमा हिन्दू, इस्लाम, इसाइ, यहूदी उत्पादन गर्ने कारखाना छुट्टाछुट्टै थियो कि ? सबै धर्महरुले सृष्टि सम्बन्धमा आआफ्नो दलील पेस गरेपछि द्विविधा हुने नै भयो ।

विज्ञान भन्छ– ‘आजभन्दा तीन अरब असी करोड वर्ष पहिले जीवनको पहिलो अस्तित्व देखापर्‍यो । सबैभन्दा पहिले पानीभित्र एक कोषीय जीव देखा पर्‍यो  र क्रमशः बहुकोषीय, अरिडधारी, रिडधारी, उभयचर, स्थलचर, अण्डज, स्तनधारी आदि हुँदै मानवको अविर्भाव भयो ।

स्तनधारी प्राइमेटहरूमध्येबाट ठाडो तर कुप्रो भएर दुई खुट्टाले हिँड्न सक्ने तथा टेक्ने कामबाट मुक्त हात र अन्य प्राणीको भन्दा विकसित मस्तिष्क भएको एक प्राणी अस्तित्वमा आयो । त्यही प्राणी नै आदिम मानव थियो । बीसदेखि चालीस हजार वर्ष पहिले अफ्रिका तथा पूर्वी एसियाको विभिन्न भागमा विचरण गर्ने त्यस आदि मानवलाई विद्वान्हरूले ‘अस्ट्रेलोपिथेकस’ नाम दिए । दुई लाखदेखि चालीस हजार वर्षपूर्वको ‘नियण्डरथल मानव’को अवधिमा बोली तथा भाषाको माध्यमबाट विचारको आदनप्रदान गर्ने प्रक्रिया सुरु भयो । चालीस हजारदेखि बीस हजार वर्ष पहिले मात्र आधुनिक ‘प्राग मानव’को विकास भयो ।’

उपरोक्त सङ्कथनको जगमा उभिएर हेर्दा मानवजातिको कुलपुर्खा एउटै थियो । फरक यत्ति हो आदिम फिरन्ते जीवनमा कसैको घरजम सिन्धुघाँटीमा भयो त कसैको घरजम हिमालमाथि रह्यो । अनि आफूलाई ‘ज्ञान, बुद्धि, रूप–रङले भरिपूर्ण’ मान्ने अर्को मानव प्रजाति युरोप–इरानको पठारमा विचरण गर्दै रह्यो ।

पुर्खा एक, सन्तती अनेक ! तर पनि हामीमा विशिष्ठ हुनुको झुटो अभिमान छ । परिणामतः वैदिककालदेखि आजसम्म तथाकथित देववंशी र म्लेच्छवंशीबीच काटाकाट र मारामार कायम छ । आज पनि ‘देववंशीहरु’को सुदर्शनचक्र र शब्दभेदी बाणको निसानामा लाखौँ– करोडौँ ‘दानववंशीहरु’को कत्लेआम भएकै छ । ‘अति सर्वत्र वर्जयत् !’ आउनुहोस् मानव द्वैषी सिउँडीबारमाथि बम ब्लास्ट गर्दै मनुष्य जातिका अद्वैत पुर्खाको जयगान गाऔँ । यो नै मानवता र विश्व भातृत्वलाई जोड्ने सेतु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश तिवारी
प्रकाश तिवारी
लेखकबाट थप