बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले माग्यो मुख्यमन्त्री शाहीको राजीनामा, तीन मन्त्रीले तत्कालै पद छाड्ने

आइतबार, २२ चैत २०७७, १६ : ०९
आइतबार, २२ चैत २०७७

सुर्खेत । कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् ।

एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।

एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ ।

बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ ।

बैठकले पार्टीभित्र देखिएको असमान्जस्यतालाई अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप