शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनील थापालाई मागे जति सिट ! काँग्रेसको शक्ति सन्तुलन खल्बलियो

काँग्रेसमा छिरेका राप्रपा नेता यसरी भए मालामाल
बुधबार, २५ चैत २०७७, ०८ : २५
बुधबार, २५ चैत २०७७


काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभिन्न समयमा नेपाली काँग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुले काँग्रेसभित्र राम्रो स्थान पाएका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको नेतृत्वमा काँग्रेसमा प्रवेश गर्नेहरुले ठूलो सङ्ख्यामा जिम्मेवारी एवं क्रियाशील सदस्यता पाएका छन् ।

काँग्रेसमा सुनीलबहादुर थापाको प्रवेशसँगै शेरबहादुर देउवा पक्ष बलियो भएको चर्चा चलिरहेका बेला थापाले १० हजार बढी क्रियाशील सदस्यताको कोटा पाएका छन् । केन्द्रीय कार्यसमितिमा पनि १० सिट पाएका कारण थापाको गुटले देउवा–पौडेल शक्ति सङ्घर्षमा राम्रै भूमिका खेल्ने देखिएको छ । नवप्रवेशी थापा र उनको समूहले आगामी महाधिवेशनमा देउवा पक्षलाई साथ दिने विश्लेषण गरिँदै आएको छ ।

 


अर्कोतर्फ लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदारको नेतृत्वमा समायोजनमा परेको ठूलो सङ्ख्याले पनि आगामी महाधिवेशनमा सभापति देउवालाई नै साथ दिने विश्लेषण काँग्रेसभित्र हुँदै आएको छ ।   

 


काँग्रेसको केन्द्रीय कार्यसमितिमा १० जना राप्रपा नेताहरुलाई समायोजन गरिएको छ । पूर्वमन्त्री थापाले सहमहामन्त्रीको जिम्मेवारी पाएका छन् भने रामकृष्ण भट्टराई, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, डा. टीएन योगीसहित ६ जनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहले आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

थापाले विभिन्न १६ जिल्लाका ४३ कार्यकर्तालाई महासमिति सदस्यमा समायोजन गरिदिन माग गरेका थिए । विमलेन्द्र निधि नेतृत्वको ‘अन्य राजनीतिक दल समायोजन समिति’को शुक्रबार बसेको बैठकले थापाको माग अनुसार ४३ जनालाई महासमिति सदस्य पदमा समायोजन गर्न सिफारिस गरेको छ । र, यो सिफारिसलाई शुक्रबार राति बसेको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदनसमेत गरेको छ ।

धनकुटाका नेता थापाले काँग्रेसमा प्रवेश गर्ने क्रममा विभिन्न केन्द्रीय विभागमा आफ्ना १३ जना नेता–कार्यकर्तालाई स्थान दिन माग गरेका थिए । थापाको मागअनुसार नै विभिन्न विभागको सदस्यमा राप्रपाका १३ जना सदस्यहरु समायोजन हुने भएका छन् ।

त्यस्तै थापाले काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा समेत एक सिट पाउनुपर्ने माग गरेका थिए । त्यस्तै, नेविसङ्घको केन्द्रीय सदस्यमा ४ जना र तरुण दलको केन्द्रीय सदस्यमा ५ जनाको कोटा थापाले मागेका थिए । शुक्रबारको बैठकबाट नेपाली काँग्रेसले थापाका सबै माग पूरा गरिदिएको छ ।

 


 

१० हजारभन्दा बढीलाई क्रियाशील सदस्यता

काँँग्रेसमा प्रवेश गर्दैगर्दा राप्रपा नेता सुनीलबहादुर थापाले विभिन्न ४८ जिल्लाबाट १० हजार ७३२ जनालाई क्रियाशील सदस्यता प्रदान गरिनुपर्ने माग गरेका थिए । थापाको मागलाई सामान्य संशोधन गर्दै शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका १० हजार ५१८ जनालाई क्रियाशील सदस्यता दिने निर्णय गरेको छ ।

त्यसरी सदस्यता पाउने नवप्रवेशीमध्ये धनकुटाबाट २ हजार १०५ जना छन् । त्यस्तै, कालिकोटबाट ४१९, भोजपुरबाट ३७१, सिन्धुपाल्चोकबाट १ हजार ३६६ र कपिलवस्तुबाट ८०७ जनाले क्रियाशील सदस्यता पाउने भएका छन् ।

सुनील थापाले क्रियाशील सदस्यताका लागि गरेको सङ्ख्या यस्तो छ– काठमाडौँ ६३८, ललितपुर–१०९, भक्तपुर–१९, नुवाकोट १७६, काभ्रे–१०४, मोरङ– ११९९, सुनसरी–७५७, झापा–६१२, बारा–१५४, पर्सा–९९७, सर्लाही–१८४, प्युठान–२००,  बाजुरा–२०१, अर्घाखाँची–१३, सङ्खुवासभा–१०, ताप्लेजुङ–३५, महोत्तरी–४६, रामेछाप– २६ जना ।

विमलेन्द्र निधि नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा धनकुटा, कालिकोट, भोजपुर, सिन्धुपाल्चोक र कपिलवस्तुबाट जिल्ला कार्य समितिमार्फत सिफारिस भई आएकाले तोकिएका सदस्यले क्रियाशील सदस्यता पाउने काँग्रेसले निर्णय गरेको छ । जिल्ला कार्यसमितिबाट सिफारिस भई नआएका हकमा २०७७ पुस १७ को बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुसार क्रियाशील सदस्यता दिइने काँग्रेसको निर्णयमा उल्लेख छ ।

गगन थापा र मिनेन्द्र रिजालले प्रवेश गराएका ८१९ जनालाई सदस्यता

गत साल मङ्सिर १० गते धनकुटाको बेलाहारामा आयोजित आमसभालाई सम्बाेधन गर्न काँग्रेस नेता गगन थापा पुगेका थिए । त्यहाँ विभिन्न पार्टी परित्याग गरेर ६७० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । तीमध्ये ३८० जालाई क्रियाशील सदस्यता प्रदान गर्ने काँग्रेसले निर्णय गरेको छ ।

त्यस्तै गत साल माघ १६ गते धनकुटाकै छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा आयोजित आमसभाका प्रमुख अतिथि डा. मिनेन्द्र रिजालले विभिन्न पार्टीका ६९० जनालाई काँग्रेसमा प्रवेश गराएका थिए । तीमध्ये ४३९ जनाले काँग्रेसको क्रियाशील सदस्यता पाउने भएका छन् । थापा र रिजाल दुवैले प्रवेश गराएका मध्येबाट कुल ८१९ जनालाई नेपाली काँग्रेसको क्रियाशील सदस्यता दिने निर्णय गरेको छ ।

राप्रपाबाट आउनेले जिल्ला कार्यसमितिबाटै जिम्मेवारी पाउने

नेपाली काँग्रेसमा प्रवेश गरेका राप्रपाका कार्यकर्ताले पाउने पदीय जिम्मेवारीबारे जिल्ला कार्यसमितिकै निर्णयअनुसार पदीय जिम्मेवारी दिन सकिने अधिकार केन्द्रले प्रत्यायोजन गरेको छ । पार्टी विधानको धारा ४(१०) ङ अनुसार त्यसरी जिम्मेवारी प्रत्यायोजन गरिएको समायोजन समितिको निर्णयमा उल्लेख छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप