शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजी बजारका सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन ढुंगानाको आग्रह

बुधबार, २५ चैत २०७७, १९ : ०६
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सत्य एवं तथ्यपरक सूचना प्रवाहले समग्र पत्रकारिताको प्रभावकारिता र विश्वसनीयता अभिवृद्धि हुने बताएका छन् । 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा पत्रकारको क्षमता अभिवृद्धिका लागि आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष ढुंगानाले पुँजी बजारमा लगानीकर्ताको लागि सूचना नै सम्पत्तिको रुप रहने र लगानीको प्रमुख आधार भएकाले आर्थिक पत्रकारहरुले कसैप्रति पूर्वाग्रह राख्न नहुने बताए ।

आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुले क्षमता अभिवृद्धि गर्दै बजारमा विषयवस्तुको स्पष्ट एवं गहिरो ज्ञान वृद्धिका लागि यस्ता कार्यक्रमले विशेष महत्व राख्ने बताए । उनले पुँजी बजार प्राविधिक एवं संवेदनशिल बजार हुने भएकाले सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष ढुंगानाले बोर्डको पछिल्लो प्रयासका कारण प्राथमिक बजारको स्वरुप र मर्चेन्ट बैंकरको भूमिका विस्तार हुँदै गएको र प्रतिस्पर्धा समेत उच्च भएको पृष्ठभूमिमा व्यावसायिकता अभिवृद्धिमार्फत उच्च कार्यकुशलता प्रदर्शन गर्न सबै मर्चेन्ट बैंकहरुलाई निर्देशन दिए । साथै उनले मर्चेन्ट  बैंकरको समस्या समाधान गर्दै यस क्षेत्रको विकास र विस्तारका लागि बोर्ड तयार रहेको समेत बताए ।

नेपाल मर्चेन्ट बैंकर्स संघले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप