शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण, प्रधानमन्त्रीकै तीन वर्षको कमाइ गुपचुप

तीन वर्षमा कति भयो होला प्रधानमन्त्री र मन्त्रीको कमाई ?
बिहीबार, २६ चैत २०७७, ११ : ४०
बिहीबार, २६ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक नियुक्त गरेका मन्त्रीहरुले दुई महिना बितिसक्दा पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सुशासन र पारदर्शिताको नारा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षयता कति सम्पत्ति आर्जन गरे ? कानूनतः अपडेट हुनुपर्ने प्रधानमन्त्रीको तीन वर्षको कमाइसमेत सार्वजनिक भएको छैन ।  

मन्त्री पदमा नियुक्त भएको ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहे पनि पछिल्लोपटक मन्त्रिमण्डलमा पुगेका मन्त्रीहरुले विवरण बुझाएका छैनन् । बुझाएका केही मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएर पनि प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छैन ।

प्रत्येक मन्त्रालयका दैला र भित्ताहरुमा सुशासन, जवाफदेहिता र पारदर्शिताको नारा टाँसिए पनि व्यवहारमा भने यसअघिका सरकारले गर्ने सामान्य प्रचलनलाई पनि ओली सरकारले लत्याएको छ । 

सुशासन र पारदर्शिताको नारा दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । यसअघिका सरकारले प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेता पनि वर्तमान सरकारका केही मन्त्री बाहेक अन्यको विवरण गोप्य राखिएको छ । वेबसाइटमार्फत ५ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि त्यो ३ वर्ष पुरानो हो, जतिबेला उनीहरु भर्खर प्रधानमन्त्री र मन्त्रीमा नियुक्त भएका थिए ।

नयाँ मन्त्रीको सम्पत्ति गुपचुप

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले सामुहिक राजीनामा दिएपछि त्यसको ५ दिनपछि प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीसहित ११ जनालाई मन्त्री बनाए । उनीहरुले मन्त्री पद सम्हालेको ७६ दिन भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

सम्पत्ति विवरण नबुझाउने मन्त्रीहरूमा उर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम मन्त्री गौरीशंकर चौधरी, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वनमन्त्री प्रेमबहादुर आले, महिला मन्त्री जुली कुमारी महतो, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिक छन् ।

विवरण प्राप्त भए पनि सार्वजनिक गरिएन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बहालवाला अन्य ८ मन्त्रीको सम्पत्ति विवरण ‘प्राप्त’ गरे पनि सार्वजनिक नगरी लुकाएर राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको सम्पत्ति विवरण ‘प्राप्त भएको’ भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

त्यसैगरी भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास मन्त्री रामवीर मानन्धरको सम्पत्ति विवरण पनि ‘प्राप्त भएको’ भनिए पनि सार्वजनिक गरिएको छैन । यसअघिका सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्रीको कार्यालयको वेवसाइटमा प्रकाशन गर्ने प्रचलन थियो ।

तीन वर्षअघि सम्पत्ति विवरण सार्वजनिक गरिए पनि प्रत्येक वर्ष अध्यावधिक गर्दै जानुपर्छ । तर, राज्यमन्त्रीसहित २० मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयको वेवसाइटमा देख्न पाइँदैन ।

मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको हो भन्ने प्रश्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव शंकर नेपालले यसबारे मन्त्रीपरिषदको सचिवालयले हेर्ने भएकाले आफूलाई यसबारे जानकारी नभएको बताए ।

यसबारे बुझ्न सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई सम्पर्क गर्दा उनले आफू व्यस्त रहेको र पछि सम्पर्क गर्न भन्दै फोन काटे ।

तीन वर्षमा कति भयो प्रधानमन्त्री र मन्त्रीको कमाई ?

प्रधानमन्त्री कार्यालयको वेवसाइटमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्याल गरी ५ मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक राखिएको छ ।

तर, तीन वर्षअघि प्रधानमन्त्री र यी मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि प्रत्येक वर्ष अध्यावधिक गर्दै जानुपर्नेमा पुरानै विवरण राखिएको छ । तीन वर्षयता प्रधानमन्त्री र मन्त्रीहरुले कति सम्पत्ति आर्जन गरे ? यो सार्वजनिक गरिएको छैन ।

तीन वर्षअघि मन्त्रिपरिषदका ५ सदस्यको सम्पत्ति विवरण यस्तो थियो–

केपी शर्मा ओली, प्रधानमन्त्री : प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंबर २ मा श्रीमती राधिका शाक्यको नाममा डेढ रोपनी जग्गा र ३ तले घर, झापा पृथ्वीनगरमा शाक्यका नाममा १० कट्ठा जग्गा, १८ तोला सुन सम्पत्ति विवरणमा देखाएका थिए । यो सम्पत्तिलाई उनले पत्नी शाक्यको स्वआर्जनका रुपमा उल्लेख गरेका थिए ।

त्यस्तै पत्नी राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैंकमा ६ लाख रुपैयाँ स्वआर्जन र प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकमा ४२ लाख तलब–भत्ता वापतको रकम सम्पत्ति विवरणमा उल्लेख थियो । यस्तै पत्नी शाक्यका नाममा २५ लाख रुपैयाँको शेयर रहेको उल्लेख गरेका थिए । तर, तीन वर्षयता प्रधानमन्त्रीको सम्पत्ति आर्जन कति भयो ? यो विवरण भने अपडेट गरिएको छैन ।

ईश्वर पोखरेल, उपप्रधानमन्त्री : पूर्वरक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले तीन वर्षअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौँको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा जग्गा, ८ तोला सुन, २२ तोला चाँदी, आफ्नो र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात,  विभिन्न बैंक, जलविद्युत आयोजना र कलेजमा १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरण बुझाएका थिए ।

उपप्रधानमन्त्री पोखरेलको तीन वर्षयताको सम्पत्ति विवरण अपडेट गरिएको छैन ।  

रामबहादुर थापा बादल, गृहमन्त्री : गृहमन्त्री रामबहादुर थापाले ३ बर्षअघि बुझाएको सम्पत्ति विवरणमा उनकी श्रीमती नैनकला थापाका नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद सम्पत्ति विवरणमा देखाएका थिए ।

छिमेकीले दिएका दुईवटा कुकुरलाई पनि सम्पत्ति विवरणमा उल्लेख गरेका गृहमन्त्री थापाले स्वकीय सचिव बिरु तामाङका नाममा ३ लाख ६० हजार सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका थिए ।

त्यस्तै अपर तामाकोशी जलविद्युत आयोजनामा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको गृहमन्त्री बादलले जनाएका थिए । तर, तीनवर्ष यताको गृहमन्त्रीको कमाइ कति भयो, जनतासमक्ष विवरण प्रस्तुत गरिएको छैन ।

प्रदीपकुमार ज्ञवाली, परराष्ट्रमन्त्री : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौँमा दुईतले पक्की घर, २ तोला सुन, २ लाख ५७ हजार बैंक मौज्दात र करिब २५ सय पुस्तक आफ्नो सम्पत्ति विवरणमा देखाएका थिए । यस्तै घरको कोठा थप्नका लागि विभिन्न व्यक्तिसँग १४ लाख ८५ हजार रुपैयाँ ऋण लिएको ज्ञवालीले उल्लेख गरेका थिए । तीन वर्षपछि उनको सम्पत्ति बढ्यो कि घट्यो, यसको विवरण अध्यावधिक गरिएको छैन ।

पद्मा अर्याल, कृषि तथा पशुपक्षी मन्त्री : पूर्वभूमि व्यवस्था तथा सहकारी मन्त्री रहेकी पद्मा अर्याल अहिले कृषिमन्त्री छिन् । ३ बर्षअघि उनले विभिन्न वित्तीय संस्थमा शेयर, श्रीमान र आफ्नो नाममा गरेर झन्डै ७० रोपनी जग्गा, १५ तोला सुन, २० तोला चाँदी, विभिन्न बैंकमा ७ लाख ५० हजार मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी थिइन् । तर, ३ बर्षमा दुई मन्त्रालय सम्हालेकी उनको सम्पत्ति बढ्यो वा घट्यो ? अध्यावधिक गरिएको छैन ।

प्रत्येक नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण अध्ययावधि गरी सार्वजनिक गर्नुपर्ने प्रचलन रहे पनि वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण गोप्य राख्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप