शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पताल आफैं बिरामी ! बिग्रिएका मेसिनको ‘उपचार’ भएन

अस्पताल प्रशासनको लापरवाहीले बिरामीहरु मर्कामा
बिहीबार, २६ चैत २०७७, १३ : ४१
बिहीबार, २६ चैत २०७७

काठमाडौं । वीर अस्पतालको टिकट काउन्टरमा ‘टोकन नम्बर लिई टिकटका लागि लाइनमा बसी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ लेखिएको ब्यानर झुण्डिएको छ । तर, ब्यानरमा भनेअनुसार टोकन नम्बर लिने डिस्प्ले मेसिनले काम गर्न छाडेको महिनौं बितिसकेको छ ।

सरकारले कोरोना संक्रमणको दर बढिरहेको भन्दै भिडभाड नगर्न  र सुरक्षाको सावधानी अपनाउन भनिरहँदा वीर अस्पतालमा भने उपचारका लागि पुग्नेहरूले सावधानी अपनाएको पाइएन । अस्पताल प्रशासनले पनि कुनै सजगता अपनाएको देखिएन ।

टोकन सिस्टमले काम नगरेपछि अस्पतालमा सेवाग्राहीको भिड लाग्ने गरेका कारण कोरोना संक्रमणको जोखिम बढेको सेवाग्राहीको गुनासो छ । देशभरबाट उपचारका लागि सर्वसाधारण नागरिक आउने अस्पतालमध्ये वीर अस्पताल एक हो । 

छिटो पालो पाउनका लागि धकेला–धकेल भइरहेको सेवाग्राहीहरुको  भिडमा थिए मैतीदेवी बस्दै आएका विष्णु शर्मा । गुल्मीबाट उपचारका लागि काठमाडौं आएकी आमाका लागि टिकट लिन शर्मा लाइनमा उभिएका शर्माले गुनासो पोखे, ‘अस्पतालको भद्रगोल भिडले अहिलेसम्म नसरेको कोरोना यहीँबाट सर्लाजस्तो भयो ।’

अस्पताल प्रशासनले कोरोना महामारीका बेला सामाजिक दूरी कायम नगरिकन उभिँदासमेत खासै चासो नदेखाएको एक स्वास्थ्यकर्मीले स्वीकारे ।

वीर अस्पतालमा उपचार गराउन आउने बिरामी प्रायः उपत्यका बाहिरका हुन्छन् । टिकट काउन्टर खुलोस् वा नखुलोस्, टिकट काउन्टरमा प्रायः भिड लाग्छ । एक त नेपालीहरु हत्तपत्त लाइनमा बस्न मान्दैनन् । सबैलाई सधंै ढिला नै हुन्छ ।

अस्पतालमा बिरामी र आपतकालीनरुपमा एम्बुलेन्सले सिधै पार्क गर्न पाउने अवस्थासमेत छैन । बिरामी ओहोर–दोहोर गर्ने र एम्बुलेन्स पार्क गर्ने ग्राउण्डमा स्वास्थ्यकर्मी र कर्मचारीका सवारी साधनले भरिएको छ ।

एक चिकित्सक भन्छन्, ‘अस्पतालको पार्किङ छैन, अन्तै महिनावारी पैसा तिरेर पार्किङ गर्नुपर्छ । स्वास्थ्यकर्मी र कर्मचारीको सवारी पार्किङ र अस्पतालको अव्यवस्थित भिडले संक्रमणको जोखिम बढाएको छ ।’

पीएफटी ल्याब महिनौँदेखि सुनसान

पीएफटी ल्याबमा फोक्सोसम्बन्धी समस्या भए÷नभएको पत्ता लगाइन्छ । तर, वीर अस्पतालमा रहेको पीएफटी ल्याबका दुईवटा पल्मोनरी फन्सन्टेड र पीएफटी डीएलसीओ मेसिन महिनौँदेखि थन्किएका छन् । फोक्सोसम्बन्धी समस्याका  बारेमा पत्ता लगाउने पीएफटी डीएलसीओ मेसिन नेपालमा जम्माजम्मी ४ वटा अस्पतालमा मात्रै छन् ।

पल्मोनरी फन्सन्टेड मेसिनबाट बिरामीको स्वास्थ्य अवस्था थाहा पाउन सासले फुक्नुपर्ने भएकाले विगतमा कोरोना महामारीमा यो सञ्चालनमा थिएन ।

पीएफटी ल्याबका मेसिनहरु बिग्रिएको सम्बन्धित निकायलाई पटक–पटक जानकारी दिदाँ पनि बेवास्ता गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘फोक्सोलाई सुक्ष्मरुपमा हेरेर रोग पत्ता लगाउने डीएलसीओ मेसिनसमेत महिनौंदेखि थन्किँदा बिरामी मारमा परेका छन् । यसअघि वीर अस्पतालमा तीन हजार रुपैयाँमा फोक्सोको अवस्था जाँच हुन्थ्यो । स्वास्थ्यकर्मीहरुका अनुसार निजी अस्पतालमा यो सेवा लिएवापत साढे ८ हजार रुपैयाँसम्म तिर्नु्पर्छ ।

डीएलसीओ मेसिन ठीक भए पनि मेसिन सञ्चालनका लागि चाँहिने डीएच कामोर्नोअक्डाइड ग्यास अभावमा महिनौंदेखि थन्किँदा फोक्सोका बिरामी निजीमा अस्पतालमा जान बाध्य भएको एक चिकित्सकले सुनाए ।

पल्मोनरी फन्सन्टेड मेसिनबाट फोक्सोसम्बन्धी रोग पत्ता लगाउँदा  वीर अस्पतालमा प्रतिव्यक्ति ६ सय रुपैयाँ पर्छ । तर, निजी अस्पतालमा १४ सयदखि २४ सय शुल्क तिर्नुपर्छ   ।

यसअघि पल्मोनरी फन्सन्टेड मेसिनबाट फोक्सोसम्बन्धी रोग पहिचान गर्न दैनिक १२ देखि १५ जना बिरामी आउने गरेका थिए । त्यस्तै पीएफटी डीएलसीओ मेसिनबाट दैनिक तीन÷चारजनाले सेवा लिदैँ आएका थिए ।

उता इण्डोस्कोपी गर्ने ठाउँमा ‘इण्डोस्कोपी मेसिन बिग्रिएको हुँदा क्षमाप्रार्थी छौं, सेवा सञ्चालन भएपछि जानकारी दिनेछौं’ भन्ने सूचना ढोकामा टाँसिएको महिनौँ बितिसकेको छ ।

वीरमा ग्यास्ट्रो इण्डोस्कोपी गर्दा १२ सय रुपैयाँ पर्छ भने बाहिर निजी अस्पतालमा ३ हजारसम्म बिरामीले तिर्ने गरेको एक स्वास्थ्यकर्मीले बताए । विगतमा वीरमा इण्डोस्कोपी गर्न दैनिक २० देखि २५ जना आउने गरेका थिए ।

वीर अस्पतालमा इण्डोस्कोपी र पीएफटी ल्याबमा रहेका मेसिनमात्रै होइन । लिभर ओपीडी युनिटमा रहेको इण्डोस्कोपी मेसिन पनि बिग्रिएको भन्दै सूचना टाँसिएको छ ।

अस्पतालमा रहेको सिटीस्क्यान मेसिन पनि बिग्रिएको छ । यो मेसिन हप्तौँपछि बिहीबार साँझबाट सञ्चालन हुने सिटीस्क्यान मेसिन बनाउँदै गरेका प्राविधिकले बताए । लामो समयदेखि मेसिन बिग्रिएको भनेर अस्पताल प्रशासनलाई पटक–पटक जानकारी दिँदासमेत बेवास्ता गरेको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

वीर अस्पतालका निमित्त निर्देशक शान्ता सापकोटाले भने बिग्रिएका सबै मेसिनहरु बनिसकेको दाबी गरिन् । तर, सिटिस्क्यान मेसिनबाहेक अन्य बिग्रिएका मेसिनहरुको मर्मतसम्भार अहिलेसम्म  नभएको अस्पतालका कर्मचारी बताउँछन् ।

अस्पतालका खरिद शाखाका एक कर्मचारीका अनुसार विगतमा कोभिडसँग जुधिरहँदा बिग्रिएका मेसिन मर्मतसम्भार गर्न ढिलाइ भएको हो । उनी भने ती मेसिनहरु बन्ने प्रक्रिया रहेको बताउँछन् ।

फाइवर स्क्यान मेसिन बिग्रिएझैँ अन्य मेसिनहरु पनि पूर्णरुपमा बिग्रिएको नभएर प्राविधि समस्या मात्रै आएको अर्का एक स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालको फाइवर स्क्यान मेसिनलाई सेवा अवधिभर सर्भिसिङ गर्न नसक्दा बिग्रिएको ती स्वास्थ्यकर्मीले  रातोपाटीलाई बताए ।

उनले व्यंग्य गर्दै भने, ‘सामान्य मर्मतसम्भार गर्नुपर्ने मेसिनबाट कमिसन खान कम पाइन्छ होला । बिग्रिएका मेसिनलाई झन बिग्रन दिने र नयाँ मेसिन खरिद प्रक्रियालाई अगाडि बढाउने वीर अस्पताल प्रशासनको नियमै बन्लाजस्तो भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप