ad
केन्द्रीय संस्करण
समाचार टिप्पणी

प्रचण्डको गल्ती : जाँतोलाई भन्दा हातोलाई खसखस !

person explore access_timeचैत २६, २०७७ chat_bubble_outline0


महात्मा गान्धीले भनेका छन्– आफैंले बाहेक मान्छेलाई कसैले हराउन सक्दैन । कार्ल मार्क्सले भनेका छन्– परिवर्तनको मुख्य कारण आन्तरिक हो, बाहिरी कारण सहायक मात्र हो ।

चैत २४ गते रुकुम पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफ्ना केही ‘गल्ती’हरु सुनाए । अब ती गल्ती सच्याउने भन्दै उनले रुकुमेली जनतासमक्ष आत्मालोचना गरे । माफी मागे ।

आखिर प्रचण्डको गल्ती के हो ? जबसम्म मानिसले आफ्नो ठोस गल्ती खुट्याउन सक्दैन, तबसम्म उसले आफूलाई सच्याउन सक्दैन ।  

 


 

प्रचण्डका गल्ती खोतल्नुपूर्व रुकुमको आमसभामा उनले के भनेका थिए, एकपटक ‘रिभ्यु’ गरौं –

काठमाडौंमा बसेर लडेको लडाइँले हामीलाई प्रतिफल धेरै दिएको छैन । जतिबेला हामी जनतामा गएका छौं, हामी विजयी भएका छौं । जतिखेर हामी सिंहदरबारभित्रै चलखेल गर्ने, कहिले योसँग, कहिले त्योसँग, विभिन्न शक्तिसँग सहकार्य गर्ने, खेल खेल्ने भएको छ, हामी हारेका छौं ।

अहिले के भन्न खोजिएको छ भने प्रचण्ड अब कमजोर भइसक्यो । अब प्रचण्डलाई जनताको साथ छैन । अब प्रचण्डले केही गर्न सक्दैन ।......अब प्रचण्डको त्यति तागत छैन भन्ने ठानेका छन् केही मान्छेहरुले ।

ती मान्छेहरूलाई भन्नका लागि मेरो पार्टी छ । मेरा नेता, कार्यकर्ता साथीहरु छन् । मसँग क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने उर्जा, शक्ति छ र जनताको साथ छ भन्नका लागि चैत्र २४ गते रुकुममा जनआन्दोलन दिवस मनाउन आएको हुँ ।.... म यहाँबाट सरकारलाई, सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहनेलाई रुकुमेली जनताको वीचबाट खबरदारी गर्न आएको हुँ । म खबरदार भन्न चाहन्छु प्रतिक्रान्तिकारीहरुलाई ।

मैले प्रधानमन्त्री (ओली) लाई भनेको छु, बाजी त तिमीले हारिसकेका छौ । तिमी हारिसक्यौ । म फेरि जनताको काखमा, सडकमा आइपुगेको छु । मैले जितेँ, भन्याछु मैले । जो जनतासँग हुन्छ, त्यसले जित्छ । जसले जनतालाई छोड्छ, त्यसले हार्छ ।

अब मैले थोरै समय काठमाडौं, धेरै समय जिल्लामा दिन चाहेको छु । मैले बाँकी अवधि जनताको काखमा फेरि एकचोटि गएर प्रतिक्रान्तिकारीहरुलाई चुनौती दिने आँट मसँग छ । आज तपाईहरुले दिएको उर्जाले त मलाई झन् ठूलो शक्ति प्रदान भएको छ । म कुनै हालतमा झुक्ने छैन । जनतासँग गरिएका बाचा, कबुल र प्रतिवद्धताहरु बिर्सने छैन ।

माओवादी अध्यक्ष प्रचण्डले रुकुमेली जनतासमक्ष आत्मालोचना गर्ने क्रममा महसुस गरेका यी गल्तीहरु एक हदसम्म सही नै देखिन्छन् । तर, यो आत्मसातीकरणको व्यवहारिक कार्यान्वयन अपरिहार्य छ ।

म वास्तवमा थोरै तपाईहरुसँग आत्मालोचना गर्न पनि आएको हुँ । मैले काठमाडौंका अरु पार्टीका नेताहरु देशी–विदेशी थुप्रै–थुप्रै मान्छेहरुसँग यसो गरे होला कि, त्यसो गरे होला कि..... मैले राष्ट्र र जनताको हितप्रति दायाँ–वायाँ त गरिनँ । गर्ने पनि छैन । ममाथि हजारौं, शहीद बेपत्ता, घाइते योद्धाहरुको बोझ मेरो टाउकोमा छ । म दायाँ–वायाँ सोच्नै सक्दिनँ ।

तर, यसवीचमा मलाई दुःखमा बचाउने, मलाई सहयोग गर्ने, जस्तोसुकै अप्ठ्यारो पर्दा पनि प्रचण्ड भनेर हिँड्ने नेता–कार्यकर्ता अलि ओझेलमा जस्तो, जाली फटाहाजस्ताले भाऊ पाएजस्तो चैं भयो ।

तपाईहरुले देख्नुभयो, पार्टी विभाजन गरेर गए पनि पछि आएर गल्ती भयो कमरेड भन्नेलाई मैले बडो उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ । मलाई गद्दार भन्नेहरु मात्रै होइन, २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । शायद मैले गल्ती गरें । संगठन, जनतामा प्रभाव केही पनि नभएको मान्छेलाई लगेर स्थायी समितिमा राखिदिएँ । ती बिकाऊ माल सावित भए । शायद मैले गल्ती गरें ।


मैले तपाईहरुलाई नै अगाडि बढाइराख्नुपथ्र्यो । पार्टी, लाइन र लिडरशिपप्रति इमान्दार, दुःख गरेका कार्यकर्ताहरुलाई नै मैले प्रत्येक नियुक्तिमा या पार्टीमा पदोन्नति गर्दा वा मन्त्री बनाउँदा बढी प्राथमिकता दिनुपर्नेमा मैले अलिकति गल्ती त गरें ।

सोझासीधा सहीद परिवारहरु अलिअति ओझेलमा परेको जस्तो । हिजो जनयुद्धमा त्यत्रो त्याग गर्नेहरु कता–कता पार्टीको नजरबाट अलि छुटेको जस्तो । फटाहा–फटाहा टाइपका मान्छेहरु चाहिँ हेडक्वार्टरलाई  घेराऊ गरे भन्याजस्तो देखियो । म आत्मालोचना तपाईहरुसँग गर्न आएको हो । अब म त्यस्तो गर्दिनँ । हिजो आन्दोलनमा इमान्दारीताका साथ लागेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।

सबै मिलेर अपदस्थ गर्ने बन्यो भने पनि हामी अपदस्त हुँदैनौं । हामी प्रमुख प्रतिपक्षका रुपमा जनताको साथमा बसेर फेरि केही समयभित्रै सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौँ ।

                                                                                                         OOO

माओवादी अध्यक्ष प्रचण्डले रुकुमेली जनतासमक्ष आत्मालोचना गर्ने क्रममा महसुस गरेका यी गल्तीहरु एक हदसम्म सही नै देखिन्छन् । तर, यो आत्मसातीकरणको व्यवहारिक कार्यान्वयन अपरिहार्य छ ।

यसबीचमा प्रचण्डले केही राजनीतिक गल्तीहरु पनि गरेका छन् । ती गल्ती नसुधारेसम्म अन्य भावनात्मक कुरा मात्र गरेर माओवादीको गुमेको साख फर्कन सक्दैन ।

खासगरी, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता प्रचण्डले गरेका राजनीतिक गल्ती यस्ता छन् :

ओली सरकारलाई अझै समर्थन किन ?

केपी शर्मा ओलीबाट हदैसम्मको अपमान र धोका पाएर पनि प्रचण्डले अहिलेसम्म उनै ओली नेतृत्वको सरकारलाई समर्थन जनाइरहेका छन् । यो समर्थनले प्रचण्डमाथि यक्ष प्रश्न उब्जाएको छ– यो समर्थन प्रचण्डको बुद्धिमानी हो कि मूर्खता ? कुन विश्लेषणका आधारमा प्रचण्डले अहिलेसम्म ओलीलाई नै समर्थन जनाइरहेका होलान् ? जगत आश्चर्यचकित छ ।

सँगै बस्न नसक्ने भइसकेपछि श्रीमान–श्रीमतीले सम्बन्ध विच्छेद गर्छन् । सम्बन्ध विच्छेदपछि कसले, कोसँग पुनर्विवाह गर्ला भन्ने विश्लेषण गरिँदैन । सँगै बस्न सकिँदैन भने श्रीमान–श्रीमती छुटिन्छन् ।

राजनीतिक आधारमै विश्लेषण नै गर्ने हो भने पनि माओवादीले ओली सरकारलाई समर्थन जनाइराख्दा माओवादीलाई होइन, ओलीलाई नै फाइदा छ ।

 


 

फागुन २३ लगत्तै माओवादीले समर्थन फिर्ता लिएको भए अहिलेसम्म ओलीले विश्वासको मत लिइसक्नुपर्ने थियो । ओलीले जसपालाई फुटाएर बहुमत हासिल गरेको अवस्थामा पनि जसपा फुटेर माओवादीलाई घाटा हुँदैनथ्यो । जसपा नफुटी ओली सरकारलाई समर्थन गरेको भए पनि एउटै ‘कन्सिचुएन्सी’ भएको माओवादीलाई यसबाट लाभ नै हुने थियो । जसपा ओली सरकारमा सहभागी हुँदा बदनाम हुन गई मधेसको जनमत सो पार्टीले ‘लुज’ गर्ने निश्चित देखिन्छ ।

जसपाको साथ लिएर ओली सरकार थप दुई वर्ष टिक्न सक्ने विश्लेषणका आधारमा माओवादीले समर्थन फिर्ता नलिएको सो पार्टीका केही नेताले बताउने गरेका छन् । तर, ओली सरकार जतिसुकै वर्ष टिकोस्, प्रचण्डले रुकुममा भनेजस्तै ‘प्रतिपक्षमा बसेर जनतामा जाने’ आँट नगर्दासम्म माओवादीको भविश्य छैन ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ ओलीले फेरि संसद विघटन गर्छन् र देशलाई चुनावमा धकेल्छन् भन्ने डर प्रचण्डलाई छ भने त्यो पनि वस्तुसम्मत विश्लेषण होइन । किनभने, अहिलेको अवस्थामा देश चुनावमा गयो भने केपी ओलीको जीत हुँदैन, हार हुनेवाला छ ।

प्रतिपक्षमा बस्दैमा राजनीति कमजोर हुने भए गएको तीन वर्षयता नेपाली काँग्रेस कमजोर बन्नुपर्ने हो, अहिले झन् बलियो बनेको छ । बरु सत्तामा बसेको एमाले कमजोर बनेको छ ।

आखिर के विश्लेषणका आधारमा माओवादीले ओली सरकारलाई समर्थन जनाइरहेको होला ? कसको बुद्धिले प्रचण्डले यसो गरिरहेका होलान् ? इमान र मूल्यको राजनीतिक गर्ने हो भने ओलीलाई समर्थन जनाइराख्नुपर्ने किन ? यो मूर्धन्य प्रश्न प्रचण्डसामु तेर्सिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ ओलीले फेरि संसद विघटन गर्छन् र देशलाई चुनावमा धकेल्छन् भन्ने डर प्रचण्डलाई छ भने त्यो पनि वस्तुसम्मत विश्लेषण होइन । किनभने, अहिलेको अवस्थामा देश चुनावमा गयो भने केपी ओलीको जीत हुँदैन, हार हुनेवाला छ । पत्रकार महासंघको चुनावी रुझानले पनि ओलीको भविश्य संकेत गरिसकेको छ । बरु माओवादीले समर्थन फिर्ता नलिएका कारण ओलीलाई आफ्नो शक्ति सञ्चय गर्न त्राण मिलिरहेको छ ।

प्रश्न केपी ओलीले के गर्लान् भन्ने होइन, यदि निष्ठाको राजनीति गर्ने हो भने प्रचण्डले यो प्रश्नको जवाफ दिनैपर्छ– आफैंले प्रतिगामी करार गरेको ओली सरकारलाई समर्थन किन ?

सर्वोच्चमा निवेदन हाल्न किन गएको ?

गतसाता प्रचण्डले नेकपाको मुद्दा उल्ट्याइदिन माग गर्दै सर्वोच्च अदालतमा पुगेर पुनरावलोकनका लागि निवेदन दर्ता गरे । लगत्तै अदालतले प्रचण्डलाई पंगु बनाइदियो ।

सर्वोच्च अदालतले नेकपाको एकता उल्ट्याइदेला भन्ने प्रचण्डको विश्लेषण नै कच्चा थियो । राजनीति गर्ने नेताले यसरी निवेदन बोकेर हिँड्नु नै गल्ती हो । एक त अदालतले मुद्दा उल्ट्याउँछ भन्ने विश्लेषण नै गलत थियो, अर्को नेकपाको निर्णय उल्टिए पनि माओवादीलाई फाइदा केही हुनेवाला थिएन । किनभने, केपी ओलीसँग अझै मिलेर जान सकिन्छ भन्ने ठान्नु नै मूर्खता हो । फागुन २३ को फैसला नआउँदै नेकपा फुटिसकेको थियो ।

बरु, प्रचण्डले एमालेमा लगेर फसाएको माओवादी पार्टीलाई  सकुशल ब्युँताइदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिएको भए हुन्थ्यो । आफ्ना पार्टीका कार्यकर्तालाई विश्वास गर्नुको साटो केही वकिलहरुका पछाडि लागेर अदालत धाउँदा प्रचण्डलाई फाइदाको साटो नोक्सान भयो ।

बेलैमा निर्वाचन आयोगमा दाबी किन नगरेको ?

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव समूह र ओली समूहबीचको लडाइँ निर्वाचन आयोगमा चलेको थियो । पार्टीको वैधानिकता कसले पाउने भन्ने सो विवादमा ३० दिन कटेपछि मात्रै प्रचण्ड–माधव समूहले दाबी पेश ग¥यो । त्यसअघिसम्म ‘हामीसँग दुई तिहाई बहुमत छ, दाबी गरिँदैन’ भन्दै घमण्ड प्रकट गर्ने काम प्रचण्ड–माधव समूहले ग¥यो ।

तर, निर्वाचन आयोगमा बेलैमा दाबी प्रस्तुत गरेको भए सम्भवतः अहिले प्रचण्ड र माधव नेपाल समूह एकै ठाउँमा हुने थिए । सकभर उनीहरुको पार्टी संसदको सबैभन्दा ठूलो दल हुने थियो । अहिलेजस्तो खुम्चिएर बस्नुपर्ने थिएन । तर, त्यसबेला समयमै, सही स्टेप चाल्न प्रचण्डले भूल गरे ।

अरुको पुच्छर समाउने कि आफ्नै खुट्टामा उभिने ?

तीन वर्ष पहिले एमालेसँग एकता गरेदेखि नै प्रचण्ड आफ्नो स्वतन्त्र पहलकदमीमा कमजोर देखिन थालेका हुन् । अहिलेसम्म उनी आफ्नै जगमा बनेको पार्टीको पुनर्निर्माणमा भन्दा बढी एमालेमा माधव नेपालीहरुसँगको गोप्य बैठकमा अल्मलिँदै आए । आफ्नै बलबुँतामा माओवादी पार्टीलाई पुनर्जाग्रित गर्न सक्छु भन्ने विश्वास नभएकैले उनले अरु दलको पुच्छर समाउन खोजेको देखिन्छ ।

गतसाता नेपाली कांग्रेसले ओलीको राजीनामा माग्ने र सरकारको नेतृत्व आफूले लिने निर्णय गर्नासाथ कपिलवस्तुबाट प्रचण्डले खुशी व्यक्त गर्दै अब चाँडै नयाँ सरकार बन्ने उद्घोष गरे । साथै, आफूले काठमाडौं फर्केर कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्ने बताए । प्रचण्डको यो खुशी पनि बेकारकै हो । माओवादी पार्टी प्रमुख प्रतिपक्षी दल होइन  ।

नेकपासँग एकता हुनुपूर्व स्थानीय चुनावमा कांग्रेससँग गरिएका तालमेल हुन् या त्यसपछि एमालेसँग मिलेर चुनाव लडेका घटनाहरु हुन, यसले माओवादीलाई स्वतन्त्र भूमिकामा भन्दा परनिर्भर बनाउँदै लग्यो । त्यसको नतिजास्वरुप अहिलेसम्म प्रचण्ड अरुको पुच्छर समाउनेतिर बढी केन्द्रित भएको देखिन्छ ।

एमाले विभाजित बनेको अवस्थामा नेपाली कांग्रेसको विकल्प बन्ने गरी चुनावी मैदानमा जाने र त्यसको पूर्वतयारी गर्ने आँट अहिलेसम्म प्रचण्डमा देखिँदैन । एउटा चुनाव हारिएला, तर विचारलाई बचाइराख्ने हो भने १० वर्षपछिको चुनाव जितिन्छ भन्ने धैर्यता र विश्वास पनि प्रचण्डमा गुमेको देखिन्छ ।

भारतको बीजेपी १० वर्ष प्रतिपक्षमा बसेर शक्तिमा फर्किएको हो । अमेरिकाका पार्टीहरूमा पनि यस्तै हुने गर्छ । तर, प्रचण्डमा चाहिँ टाकटुक मिलाएर अहिल्यै सरकारमा गइहाल्ने सत्तावादी चिन्तन हावी भयो । सत्तामा नभएसम्म राजनीति अघि बढ्दैन भन्ने गलत चिन्तन देखियो ।

जाँतोलाई भन्दा हातोलाई खसखस !

गतसाता नेपाली कांग्रेसले ओलीको राजीनामा माग्ने र सरकारको नेतृत्व आफूले लिने निर्णय गर्नासाथ कपिलवस्तुबाट प्रचण्डले खुशी व्यक्त गर्दै अब चाँडै नयाँ सरकार बन्ने उद्घोष गरे । साथै, आफूले काठमाडौं फर्केर कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्ने बताए ।

प्रचण्डको यो खुशी पनि बेकारकै हो । माओवादी पार्टी प्रमुख प्रतिपक्षी दल होइन  । सरकारको विकल्प दिने भनेको प्रमुख प्रतिपक्षी दलले हो । ‘वेटिङ प्राइमिनिस्टर’ ले हो । माओवादी त संसदको तेस्रो दल हो ।

ओली सरकारको विकल्प खोज्दै मरिहत्ते गरेर हिँड्नुभन्दा आफ्नो पार्टी संगठनको विस्तारमा लाग्नु माओवादीका लागि अहिलेको आवश्यकता हो । यत्ति हो, प्रमुख प्रतिपक्षले सहयोग मागेको खण्डमा माओवादीले सहयोगी भूमिका खेल्न सक्छ ।

‘जाँतोलाई भन्दा हातोलाई खसखस’ भनेजस्तो दौडधूप गरेर नयाँ सरकारको पहल गरेर माओवादीलाई फाइदा हुने देखिँदैन । प्रचण्डले आफ्नो दलबाट प्रधानमन्त्रीको दाबी नरहेको बताइसकेकै छन् ।

अन्त्यमा, फेरि एकपटक प्रचण्डले रुकुममा भनेको सम्झौं– ‘.... अहिले के भन्न खोजिएको छ भने प्रचण्ड अब कमजोर भइसक्यो, अब प्रचण्डलाई जनताको साथ छैन । अब प्रचण्डले केही गर्न सक्दैन.....।’

गान्धीले शायद ठीकै भनेका हुन्– आफैंले बाहेक मान्छेलाई कसैले हराउन सक्दैन....।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.