शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीतर्फ आउँदैछ विशाल छुद्रग्रह

शुक्रबार, २७ चैत २०७७, १६ : ५२
शुक्रबार, २७ चैत २०७७

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल छुद्रग्रह  पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस छुद्रग्रहमाथि  नासाका  वैज्ञानिकले निगरानी राखिरहेका छन् ।

विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो छुद्रग्रहको खतरा टरिसके पनि अब अर्को एउटा विशाल छुद्रग्रह पृथ्वीतर्फ लम्किरहेको छ । फुटबलको मैदान जत्रो विशाल आकारको यो  छुद्रग्रह 2021 AF8 (Asteroid 2021 AF8) माथि वैज्ञानिकहरुले निगरानी राखिरहेका छन् । वैज्ञानिकका अनुसार यो छुद्रग्रह  मे ४ मा पृथ्वीको नजिक हुँदै  गुज्रनेछ ।

नासाका वैज्ञानिकका अनुसार यो छुद्रग्रह  २६० देखि ५८० मिटरको आकारको रहेको छ  । सबैभन्दा पहिले मार्च महिनामा यो छुद्रग्रहको बारेमा वैज्ञानिकले जानकारी पाएका थिए ।

नासाका वैज्ञानिकका अनुसार पृथ्वी भएर जाने यस छुद्रग्रह  2021 AF8  यसअघि पृथ्वीको नजिक भएर गएका अन्य ठूला छुद्रग्रहको तुलनामा भने  सानो हो । तरपनि यसलाई खतराको हिसाबले कम आँक्न मिल्दैन । नासाका अनुसार यो 2021 AF8  एस्टोराइड ९ किमि प्रतिसेकेण्डको वेगले पृथ्वीको नजिक आउँदैछ ।

वैज्ञानिकका अनुसार पृथ्वीबाट करिब ३४ लाख किलोमिटर दूरीबाट यो  2021 AF8   छुद्रग्रह  गुज्रिने  छ ।   अपोलो श्रेणीको यस छुद्रग्रहलाई वैज्ञानिकले निगरानी गरिरहने छन् । नासाले यसलाई सम्भावित खतराको सूचीमा राखेको छ ।

नासाको sentry  सिस्टमले पहिले देखि नै यस्ता खतरातर्फ निगरानी गरिराखेको छ  । नासाका अनुसार आगामी एकसय वर्षमा  आउने २२ वटा यस्ता खतरनाक छुद्रग्रह छन् जुन  पृथ्वीसँग ठोक्किने सम्भावना रहेको छ  ।

यो श्रेणीमा सबैभन्दा अघि र सबैभन्दा ठूलो २९०७५ (1950DA)  छुद्रग्रह रहेका छन् । यो  सन् २८८० सम्म पृथ्वीतर्फ आउँदैन  । यसको आकार अमेरिकाको एम्पाएर स्टेट बिल्डङभन्दा तीन गुणा ठूलो छ ।  

सूर्यको परिक्रमा गर्ने तर ग्रहभन्दा सानो आकारका चट्टानलाई छुद्रग्रह भनिन्छ । यस्ता छुद्रग्रहहरु मंगल तथा बृहस्पति ग्रहको बीच छुद्रग्रह बेल्टमा अत्यधिक संख्यामा  रहेका छन्  ।

करिब ४.५ अरब वर्ष पहिले जब हाम्रो सौर्यमण्डल प्रणाली निर्माण भएको थियो, त्यसबेला ग्यास तथा धुलोका बादल जसले ग्रहको आकार लिन सकेनन्, ती  छुद्रग्रहका रुपमा रहे । यस कारण यिनको आकार ग्रह जस्तो गोलो हुँदैन भने कुनै दुई छुद्रग्रहको आकार एक जस्तो पनि हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप