शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खनाल–नेपाल समूहसँग मेरो 'लभ' अझै छः प्रचण्ड

शनिबार, २८ चैत २०७७, २१ : १५
शनिबार, २८ चैत २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको झलनाथ खनाल– माधव कुमार नेपाल समूहसँग आफ्नो 'लभ' अझै कायम रहेको बताएका छन् । पार्टीभित्रै अल्पमतमा परिसकेका ओलीले विजयी भएजस्तो नाटक देखाउँदा आफूलाई आश्चर्य लाग्ने गरेको समेत उनले टिप्पणी गरे ।  शनिबार कर्णाली जनसम्पर्क समितिले आयोजना गरेको भेला तथा प्रशिक्षणमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । 

‘संसद् विघटन गर्ने ओलीको निर्णय अदालतबाट बदर भएपछि ओलीविरुद्ध हामीले संसदीय दलमा बहुमतले अविश्वासको प्रस्ताव दर्ता ग¥यौं । भित्र अविश्वास प्रस्ताव दर्ता गरेर आइयो, बाहिर आउँदा पार्टी नै दुई टुक्रा भइसकेको रहेछ । झलनाथ– माधव पक्षसँग हाम्रो पुरानो लभ छ छँदैछ । लभ परेकाहरुलाई अदालतले छुट्याइदिन कसरी मिल्छ ? मलाई अचम्म लाग्छ । यसमा असहमति जनाउन पाइए पनि मान्दिँन भन्न नपाइने रहेछ,’ प्रचण्डले भने,‘ ओलीले आफैं यस्तो जालझेल गरेका हुन् भनेर भ्रममा नपर्नुहोला । उनले दक्षिणपन्थी र प्रतिक्रान्तिकारीहरुको सहारा लिएर यस्तो सेटिङ गरेका हुन् ।’ 
उनले उत्साहका साथ पार्टी निर्माणमा लाग्न पनि कार्यकर्ताहरुलाई आग्रह पनि गरे । 

‘आफ्नो निर्णय अदालतबाट बदर भएपछि पनि ओली विजयी भएजसरी हिँडेका छन् । यति ठूलो परिवर्तनका लागि लड्नु भएका तपाईंहरुको अनुहार भने अँध्यारो देख्छु । अब उत्साहित भएर पार्टीलाई नम्बर एक बनाउनेगरी अघि बढ्नुस्,’ उनले भने । 

उनले ओली आफू सत्तामा जानका लागि मात्रै संविधान जारी गर्न राजी भएको पनि आरोप लगाए ।   ‘अहिले सरकारमा रहेका केही लोभी र स्वार्थी मान्छेहरु देख्नुभएको छ । संविधान बनाउनका लागि उनीहरुलाई पनि केही लोभ देखाउनुपर्छ भन्ने थियो, प्रधानमन्त्री बनाउछु भनेर संविधान जारी गर्न सहमत गराएँ,’ प्रचण्डले भने । प्रचण्डकै प्रस्तावमा २०७२ सालमा संविधान जारी भएपछि ओली प्रधानमन्त्री बनेका थिए । 

ओली संघीयता विरोधी रहेको आरोप पनि प्रचण्डले लगाए ।  ‘हिजो संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता माओवादीको मागमात्रै थियो । यो माग सबैले स्वीकारेपछि मात्रै हामीले सम्झौता गरेका हौं,’ प्रचण्डले भने,‘तपाईंहरुलाई थाहा छ हिजो बयलगाडाका सिद्धान्तहरु पनि आएका थिए । यो हाम्रो माग होइन, आन्दोलनको आँधीहुरी आएपछि मान्न बाध्य भयौं भन्ने उनीहरु नै हुन् ।’ 

देशलाई समाजवादतर्फ अघि बढाउनका लागि आफ्नो प्रस्तावमा बाम गठबन्धन बनेपनि ओलीले जालझेल गरेकाले अहिलेको अवस्था आएको उनको आरोप छ । ‘माओवादीले अब खायो भन्ने भएपछि ओलीले जालझेल गर्न थाले । नत्र, नेकपाका बहुमत सदस्य त हाम्रै पक्षमा थिए,’ प्रचण्डले भने,‘ ओलीविरुद्धको त्यो १९ पृष्ठ लामो प्रतिवेदन मैले मात्रै लेखेको हो त ? त्यसमा धेरै एमालेहरू सहमत छन् नि । त्यसपछि, पार्टी कमाण्ड प्रचण्डको हातमा गयो भनेर ओलीले त्यसपछि आत्तिएर संसद् नै विघटन गरिदिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप