मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो भन्छन्– बूढानीलकण्ठमा सर्वदलीय चुनावी सरकारको चर्चा भयो

‘जसपालाई हतार छैन, केपी ओलीले के गर्छन् हेर्छौं’
शनिबार, २८ चैत २०७७, २० : २४
शनिबार, २८ चैत २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मुलुक सर्वदलीय सरकार बनाएर चुनावतिर डोरिन खोजेको बताएका छन् । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी र जसपाबीचको छलफलबाट मुलुक त्यतातिर डोरिन खोजेको महतोले बताए । तीन दलको बैठक र जसपाको आगामी रणनीतिबारे रातोपाटीसँगको संक्षिप्त कुराकानीमा महतोले भने, ‘चुनावी सरकार बनाउने, सर्वदलीय सरकार बनाउनेतिर मुलुक गइरहेको छ । हिजोको बैठकमा पनि माओवादी र काँग्रेसको विचार पनि यस्तै थियो ।’ प्रस्तुत छ महतोसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी–

तीन दलको बैठकअघि आकस्मिक छलफल गर्नुभएको थियो, जसपाभित्र के समझदारी भएर बैठकमा जानुभएको थियो ?

हामी प्रष्टै थियौं । देउवाजीले बोलाएको बैठक के हो, हामीलाई पहिलादेखि थाहा भएन । हामीलाई सत्ता समीकरणको कुरा आउन सक्छ भन्ने अनुमान मात्र थियो । सत्ता समीकरणको प्रस्ताव आयो भने के भन्ने हो, पार्टीको धारणा के बनाउने हो, त्यस सम्बन्धमा पार्टीभित्र एकमत  हुनुपर्यो नि त । बाहिर जसले जे कुरा बोले पनि लोकतन्त्रमा बोल्न पाइन्छ । आफ्नो विचार राख्न पाइन्छ । तर, बैठकमा कुनै प्रस्ताव आउँदा पार्टीको धारणा एउटै जानुपरेन ? त्यसका लागि हामी छलफलमा बसेका थियौं ।  के धारणा राख्ने भन्ने कुरा थियो । अनि, सत्ता समीकरणको कुरा आयो भने हाम्रो पार्टीभित्र त्यस सम्बन्धमा केही छलफल भएको छैन, सरकार र सत्ता समीकरणबारे  केही कुरा भएको छैन । पार्टीभित्र छलफल गरेर निर्णय लिउँला, त्यसपछि बताउँला । त्यही कुरा हामीले भन्यौं । हाम्रो माग, मुद्दाका सन्दर्भमा वर्तमान सरकारसँग कारवाही अगाडि बढेको छ, त्यो पनि जानकारी दियौँ । त्यो विषयमा हामीबीच सहमति भएको थियो ।

हिजोको बैठकमा जसपाका सबै नेताहरुले एउटै धारणा राख्नुभएको हो ?

अँ । सबैको एउटै धारणा आयो । पार्टीमा सहमति भएको कुरा मात्र भनेका हौं ।

अब पार्टीको बैठक बसेर जसपाले काँग्रेस–माओवादीलाई निर्णय कहिले दिन्छ ?

त्यो कुरामा हामीलाई हतार छैन । हाम्रो माग, मुद्दाबारे कुरा अगाडि बढेको छ । अहिले अर्को कुरा गर्न लाग्यो भने त्यो तुरुन्तै रोकिहाल्छ नि त । काम भइरहेको छ । त्यो पनि हेरौं न त । कति काम गर्छ, गर्दैन । के हुन्छ, त्यो पनि हेराैँ न । केपी ओलीले के गर्छन्, गफ दिएको मात्र हो कि काम पनि गर्छन् ।

 


आफ्ना मागहरु किनारा नलागी जसपाले सत्ता समीकरणबारे कुनै निर्णय लिँदैन र बैठक पनि बस्दैन भनेर बुझ्दा हुन्छ ?

त्यसरी पनि नबुझौँ । पार्टीको बैठक जहिले पनि हुन सक्छ । छलफल हुन सक्छ । निर्णय हुन सक्छ । सत्ता समीकरणका बारेमा हाम्रो पार्टीभित्र केही छलफल भएको छैन । हाम्रो ध्यान मुद्दा केन्द्रित छ । त्यो प्रक्रिया अगाडि बढेको छ । सहमतिअनुसार बैठक बस्छ, बैठक बस्दै बस्दैन भन्ने पनि भएन नि ।

बैठक त बस्ला, निर्णय पनि हुन्छ कि ?

औपचारिक निर्णय त्यस्तो पनि त छैन नि । त्यस्तो भन्नुहुँदैन नि । मुद्दालाई केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । केन्द्रित पनि छ । मुद्दा किनारा लाग्नुपर्छ भन्ने सबैको मनमा छ ।

काँग्रेस–माओवादीसँग तत्काल सत्ता समीकरण गर्नुहुँदैन भन्ने पार्टीभित्र सबैको मनमा छ र ?

पार्टीका केही नेताहरुमा कसैको अनुहार नै मन नपर्ने मानसिकता छ । अनुहार मन नपरेको मान्छे हटे राम्रो हुन्थ्यो । यो सरकार हटे राम्रो हुन्थ्यो भन्ने हुन्छ नि । त्यो पूर्वाग्रह छ, त्यो भन्नुपर्छ र ? उनीहरुलाई हतार होला नि चाँडै सत्ता समीकरणको निर्णय गरिदिनुपर्छ, राम्रो हुन्छ भन्ने व्यक्तिगत मत हुन सक्छ ।

पार्टीभित्र कसैको आग्रह–पूर्वाग्रहको केही महत्व छैन । हाम्रो माग र मुद्दालाई नै प्राथमिकता दिने हो । सत्ता समीकरणबारे पार्टीबाट जे निर्णय हुन्छ, त्यही नै हुने हो ।

पार्टीभित्र सत्ता समीकरणमा वर्तमान सरकार जोगाउने वा नयाँ सरकार बनाउने विषयमध्ये कुन विषयको पल्ला भारी छ ?

वर्तमान सरकारसँग पार्टीको मुद्दाका विषयमा अगाडि बढेका हौं । पूरा गरिदियो भने हामी धन्यवाद पनि दिन्छौं ।

धन्यवाद मात्र दिनुहुन्छ कि ओलीसँग सहकार्य नै गर्नुहुन्छ ? प्रष्ट पारिदिनुस् न ...

त्यो अहिले भन्न मिल्दैन । म कसरी भन्छु ? मैले भन्न मिल्दैन । उपेन्द्रजीजस्तो यसलाई फाल्ने, उसलाई राख्ने त्यो व्यक्तिगत धारणा राखेर हुन्छ ? पार्टीको निर्णय अनुसार न हुने हो । पार्टीले जे निर्णय गर्छ, त्यही हुन्छ । म त पार्टीको सिपाही हो । पार्टीको निर्णय मान्ने हो ।

सरकारलाई धन्यवाद दिने कुरा त उपेन्द्र यादवले पनि भन्नुभएको हो नि ? के धन्यवाद मात्र दिने हो त ?

अहिलेलाई त्यति मात्रै राखौं । अरु कुरा पार्टीले निर्णय गरेपछि मात्र भन्न पाइन्छ । ओलीसँग होस्, देउवासँग होस्, प्रचण्डसँग होस्, जोसँग पनि सत्ता समीकरणको कुरा पार्टी निर्णयपछि मात्रै हुने हो । कसैले त्योभन्दा अगाडि केही बोलेको केही अर्थ छैन । लोकतन्त्रमा व्यक्तिगत धारणा राख्न पाइन्छ । लोकतन्त्र हो, त्यो ठीक छ । तर, सत्ता समीकरणको कुरा पार्टी निर्णयपछि मात्र तय हुन्छ । पार्टीको फाइदा हेरेर निर्णय हुन्छ ।

केपी ओली सरकारले गर्छु भनेको छ, गरेन भने यसलाई पूजा गर्ने कुरा भएन । यसअघि त केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको सरकारले नगरेकै हो । विगतमा उहाँहरुको सरकार हेरेकै हो नि । तर, पनि गर्ने सरकारले नै हो । अहिले ओली सरकारलाई पनि जरुरी भएकाले हाम्रो काम पनि गर्दिन्छ कि भनेर अनुमान लगाउने कुरा हो ।

अनुमान मात्र हो कि आशा पनि छ ?

अहिले त तीनवटैले गर्छु भनेका छन् नि । हिजो काँग्रेस र माओवादी पनि गरिदिन्छु भन्दै थिए । अहिले सबैले गर्छु भनिरहेका छन् । सुरु भएको छ, उसले गर्छ कि ? हेरौँ, के भयो र ।

सत्ता समीकरणको तीव्र चेलखेलबाट मुलुक कतातिर जाँदैछ जस्तो लाग्छ ?

चुनावी सरकार बनाउने, सर्वदलीय सरकार बनाउनेतिर मुलुक गइरहेको छ । हिजोको बैठकमा पनि माओवादी र काँग्रेसको विचार पनि यस्तै थियो । उनीहरुले यस्तै कुरा गर्दै थिए । मुलुक सर्वदलीय सरकार बनाएर चुनावतिर डोरिन खोजेजस्तो छ ।

माओवादी केन्द्र पनि चुनावमा जान तयार भयो ?

केपी ओली बाहेकको सरकार बनाएर चुनावमा जाँदा राम्रो भन्ने उहाँहरु (माओवादी नेताहरु) को मनमा छ ।

जसपाको मनमा चाहिँ के छ ?

चुनावबाट जसपा भाग्दैन । चुनावबाट भाग्ने कुरा आउँदैन नि । चुनावका लागि कसको सरकार बनाउने भन्ने एजेण्डा आएपछि जसपाले आफ्नो धारणा बनाउँछ ।

जसपाले आफ्नो नेतृत्वमा सरकार बनाउने गरी प्रस्ताव अगाडि बढाउँछ भन्ने पनि चर्चा छ, खास कुरा के हो ?

छैन, छैन । अहिले सत्ताको एजेण्डा नै छैन । बैठक बसेर कुरा गरौंला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप