शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमतीमा एक भोटको कमाल ! काँग्रेस अभागी, एमाले–माओवादी ‘लक्की’

एक भोटको त्यान्द्रोमा अडियो डोरमणि पौडेलको सरकार
आइतबार, २९ चैत २०७७, २१ : ५६
आइतबार, २९ चैत २०७७

हेटौंडा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै वागमती प्रदेशको सत्ता समीकरणमा रोचक परिदृश्य देखिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादी तीनै दलको भूमिका फगत एक भोटमा अड्किएको छ । बागमती प्रदेश सभामा कुल ११० जना सदस्य छन् । नेकपा एकीकृत हुँदा उसँग ८० जना सांसद थिए । पार्टी विभाजनपछि एमालेसँग सभामुखसहित ५७ सांसद छन् भने माओवादी केन्द्रसँग २३ जना छन् ।

प्रदेश सरकार गठनका लागि ५६ सदस्यको समर्थन चाहिन्छ । सरकार चलाइरहेको एमालेसँग सभामुखबाहेक ५६ सांसद छन् । एकजना प्रदेशसभा सदस्य निर्णायक हुँदा एमालेको सरकार टिकेको छ ।

एक भोटले काँग्रेसको भाग्य खोसियो !

नेकपा विभाजित हुनुपूर्व बागमती प्रदेशमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका खेलिरहेको थियो । नेकपा फुटेपछि एक मत नपुग्दा कांग्रेसको प्रतिपक्षी भूमिका खोसिएको छ ।

प्रदेशसभामा कांग्रेसका २२ सांसद छन् । तर, माओवादी केन्द्रसँग २३ सांसद रहेकाले काँग्रेसको प्रतिपक्षी भूमिका माओवादीको भागमा परेको छ । माओवादीसँग एक मत बढी भएका कारण तीन वर्षसम्म प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेस तेस्रो दलमा खुम्चिएको छ ।

यस प्रदेशका प्रमुख प्रतिपक्षी दलका प्रमुख इन्द्रबहादुर बानियाँ थिए । प्रमुख प्रतिपक्ष दलको भूमिकाबाट हटेसँगै हाल उनको सेवा सुविधा काटिएको छ । एक भोट बढी भएका कारण माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल बनेसँगै प्रमुख प्रतिपक्षी दलको नेता शालिकराम जमरकट्टेलले अब बानियाँले पाउँदै आएको सुविधा उपभोग गर्नेछन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप