बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार व्यवसायी मैत्री भएन : शेर्पा

आइतबार, २९ चैत २०७७, २० : ०२
आइतबार, २९ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जिप छिरिङ लामा शेर्पाले सरकार व्यवसायी मैत्री नभएको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारणसभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताएका हुन् । अहिलेको नियमावली तथा खरिद ऐनले सरकारले राखेको समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उनको भनाई छ ।

नेपालको विकास निर्माणको काममा लागेका विदेशी कम्पनीहरुले ढिलो कार्यसम्पादन गर्दा पनि कारबाही नहुने गरेको तर नेपाली निर्माण व्यवसायीलाई भने कारबाही गरिने गरेको भन्दै उनले निर्माण व्यवसायीहरु माथि विभेद भएको बताए । उनले व्यवसायीमैत्री नीति बनाउनको लागि आगामी निर्वाचनमा चुनाव लड्न पनि सबै व्यवसायीहरुलाई आव्हान गरे ।

पूर्व भौतिक मन्त्री वीरबहादुर बलायरले निर्माण व्यवसायी र राज्यको बीचमा सुमधुर सम्बन्ध नभएमा पूर्वाधारहरुको निर्माण हुन नसक्ने बताए । पूर्वाधारको निर्माण गर्दा सर्वप्रथम राज्यले देशको आवश्यकतालाई पहिचान गर्नुपर्ने उनको भनाई छ । राज्य संरक्षक र निर्माण व्यवसायीले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा उनको जोड छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउन पछि निर्माण व्यवसायी थला परेकाले निर्माण व्यवसायलाई सुचारु गराउनको निम्ति राज्यले उचित किसिमको वातावरण बनाउनुपर्ने बताए ।

उनले निर्माण व्यवसायसँग सम्बन्धित नीति, नियम र नियमावलीहरु व्यवसायीमैत्री बनाएर संशोधन गर्नुपर्ने पनि बताए । सार्वजनिक खरिद नियमावली अनुरुपको बैंक क्रेडिट लाइनको व्यवस्थालाई खारेज गरिनुपर्ने उनको भनाई छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप