बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

सोमबार, ३० चैत २०७७, १० : २२
सोमबार, ३० चैत २०७७


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुन: समय थप्न लागेको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । सात जिल्लाको सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।

पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस्यता इन्ट्रीको काम ९० प्रतिशत सकेका जिल्लाको संख्या ३७ मात्रै सकेको बुझिएको छ ।

आजको बैठकले सदस्यता टुंग्याउन अब अलि कडाई गर्ने र अब पनि नटुंगिए विकल्पमा जाने रणनीति बनाउने छ ।

सदस्यताको टुंगो लगाइसकेपछि आगामी ५ असारबाट गाउँ नगरका वडाको अधिवेशन सुरु हुनुपर्नेछ । तर, सदस्यता जिल्लाले टुङ्ग्याएर पठाएपछि छानबिन समितिले हेर्ने, रुजु गर्ने र अन्तिम नामावली प्रकाशित गर्नका लागि सकस पर्ने देखिन्छ ।

यसले गर्दा असारको पहिलो हप्ताबाट अधिवेशन सुरु गर्नै समस्या देखिन्छ । यसलाई मध्येनजर गरी निर्णय लिने महामन्त्री खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप