शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाकामा लापरवाही, भित्रिदै कोरोना

भारतबाट आएकामध्ये एक चौथाइको मात्र परीक्षण
सोमबार, ३० चैत २०७७, १५ : ५२
सोमबार, ३० चैत २०७७

कैलाली । नेपाल–भारत सीमा नाकामा कोरोना संक्रमण परीक्षण एवं पहिचानमा लापरवाही भइरहेका कारण नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । सीमा नाका हुँदै नेपाल भित्रिएकामध्ये सरदर एक चौथाइको मात्र एन्टिजेन परीक्षण हुने गरेको छ ।

यसरी न्यून परीक्षण गर्दासमेत एकैदिन १३ जना संक्रमित पाइएका छन् । त्रिनगरस्थित हेल्प डेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीका अनुसार सोमबार बिहानमात्र यो नाकाबाट भित्रिएका १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जनशक्ति तथा स्रोत–साधनको अभावमा अधिकांशको परीक्षण नै गर्न नसकिएका कारण भारतबाट आएकाहरुसँगै कोरोना संक्रमण पनि निर्वाध भित्रिरहेको हुनसक्ने जानकारहरु बताउँछन् ।

रोजगारीका लागि भारत गएका नेपालीहरु पछिल्लो समय भारतमा कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेपछि धमाधम घर फर्किन थालेका छन् । दैनिक हजारौंको संख्यामा नेपाली नागरिकहरु भारतबाट स्वदेश फर्किने गरेका छन् । तर सीमा नाकामा उनीहरुको स्वास्थ्य परीक्षण, संक्रमितको पहिचान र व्यवस्थापनमा लापरवाही भइरहेका कारण पनि संक्रमण भित्रिनसक्ने खतरा बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट चैत ३ गते यता ३० हजारभन्दा बढी नेपाली स्वदेश भित्रिएका छन् । उनीहरुमध्ये ७ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकामध्ये धेरैजसो कैलालीका छन् ।

पर्याप्त किट र जनशक्तिको अभावका कारण भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गर्न नसकिएको त्रिनगर नाकाका हेल्प डेस्क ईन्चार्ज दिनेश ठकुल्लाले रातोपाटीलाई जानकारी दिए ।

पछिल्लो हप्ता यो नाका हुँदै भारतबाट ६ हजार २६५ जना नेपाली आएका छन् । चैत २४ गते एक हजार ११३ जना, २५ गते एक हजार १५० जना, २६ गते ७०३ जना, २७ गते ६४६ जना, २८ गते एक हजार ११६ जना, २९ गते एक हजार १०७ र ३० गते बिहान सम्ममा ४३० नेपाली आएको प्रहरी हवल्दार प्रेमराज जोशीले बताए ।

नाकाबाट हुलका हुल मानिस एकसाथ आउने भएकाले कतिपयको त इन्ट्री नै गर्न नसकिने अर्का प्रहरी जवान वीरेन्द्र ठगुन्नाले बताए ।

 


 

भारतको दिल्ली, गुजरात र इलाहाबादबाट नेपालीहरु त्रिनगर भन्सार नाका हुँदै नेपाल आउने गरेको हेल्प डेस्क इन्चार्ज ठकुल्लाको भनाइ छ ।

जनशक्ति र किटको अवस्था हेरेर दैनिक ५०० जनाको एन्टिजेन परीक्षण गर्ने गरेको हेल्प डेस्कका अर्का ईन्चार्ज गणेश साउदले बताए । नेगेटिभ आएकालाई घर पठाउने गरेको र पोजेटिभ देखिएकालाई एम्बुलेन्सबाट कैलालीको धनगढी उपमहानगरपालिका– १५, उर्मामा निर्माणाधीन आईसोलेसनमा लैजाने गरेको उनले बताए ।

उनका अनुसार नाकामा जनशक्ति तथा साधन स्रोतको अभाव, व्यवस्थापन पक्ष एकदमै कमजोर रहेकाले यो क्षेत्र कोरोनाको उच्च जोखिममा छ ।

उनी पनि नाकाबाट आउने धेरैजसोको चेकजाँच नै नहुने स्वीकार गर्छन् । ‘भारतबाट दैनिक हजारभन्दा बढी मानिस यो नाका हुँदै नेपाल आउने गरेका छन्,’ उनले भने, ‘यसरी आएकामध्ये आधाभन्दा बढीलाई जनशक्ति र स्रोत तथा साधनको अभावमा चेकजाँच नै नगरी घर पठाउनुपर्ने बाध्यता छ ।’

जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले उपलब्ध स्रोत साधनको आधारमा स्वास्थ्य चेकजाँच गरी प्रदेश सरकारले धनगढी उपमहानगरपालिका– १५, उर्मामा रहेको आईसोलेसनमा राख्ने गरिएको बताए ।

भारतबाट आउने व्यक्तिमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्युनीकरण गर्न धनगढी रंगशालालाई क्वारिन्टिनका रुपमा उपयोग गर्ने हो कि भन्नेबारे धनगढी उपमहानगरपालिकासँग सल्लाह भइरहेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले सीमा नाकामा पोजेटिभ देखिएका व्यक्ति होम आईसोलेसनमा बस्न चाहेमा सार्वजनिक यातायातमा नभई निजी सवारी साधनमा जान सक्नेगरी व्यवस्था गरिएको बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयले सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई आईसोलेसन निर्माण गरी पोजेटिभ देखिएका बिरामीको ब्यवस्थापन गर्न पत्रमार्फत नै निर्देशन दिइसकेको छ ।

सोही अनुरुप कैलाली र कञ्चनपुरमा आईसोलेसन निर्माण भइसकेको उनले बताए ।

अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना संक्रमित रहेको र पुरानो कोभिडको अस्पताल नजिक थप ५० बेडको कोरोना अस्पताल निर्माण कार्य भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप