शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

सोमबार, ३० चैत २०७७, २० : ०९
सोमबार, ३० चैत २०७७

सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । 
त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए ।

उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्रवक्ता भट्टराईले बताए । अहिले मन्त्रालयले आवश्यक सबै कागजात तयार गरेर संस्थालाई उपलब्ध गराएको छ ।  

सरकारले बस खरिद पुनः अघि बढाउन भनेसँगै संस्थाले पनि खरिद प्रक्रिया अघि बढाइएको छ । संस्थाले ४० बस खरिदका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक यातायातमा सरकारको प्रत्यक्ष लगानी नभए पनि सबैभन्दा बढी सरकारको सेयर रहेको संस्थाका रुपमा रहेको छ ।

सङ्घीय सरकार मात्रै होइन काठमाडौँ उपत्यकाका पालिकाले पनि संस्थाका सेयर खरिद गरेका छन् । संस्थाले ती पालिकासँगको सहकार्यमा सवारीसाधन सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप