मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुटकेसमा लासदेखि भागरथीको बलात्कारसम्म

यो वर्ष पनि भेटिएनन् निर्मला पन्तका हत्यारा
मङ्गलबार, ३१ चैत २०७७, १६ : २३
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । २०७७ सालमा कोरोना महामारी सुरु भएको केही महिना अपराधका घटना न्यून बनेका थिए । प्रहरीको तथ्याङ्क अनुसार वर्षको अन्त्यसम्म आइपुग्दा अपराधको ग्राफ बढेको छ ।

२०७७ सालमा अपराधको ग्राफ मात्रै बढेन अपराधको प्रकृति पनि जघन्य किसिमका देखिए । काठमाडौंमै महिलाले परपुरुषलाई हत्या गरेर टाउको र शरीर छुट्याई शवलाई सुडकेसमा हालेर फालेको विभत्स अपराध पनि यसैवर्ष भयो ।

त्यसैगरी सामुहिक हत्याका घटनाहरु पनि यस वर्ष देखा परे । नाता पर्ने नाबालकले आफन्तलाई बलात्कारपछि हत्या गरेको घटना पनि यसवर्ष देखापर्‍यो  । किशोरीहरूमाथि हुने एसिड आक्रमण यसवर्ष पनि रोकिएन ।

समाजमा देखिएका यस्ता जघन्य घटनाले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता बढाएको छ ।     

रातोपाटीमा हामीले यस वर्षका ठूला अपराधका केही घटनालाई समेट्ने प्रयास गरेका छौं ।

हेरौँ वर्ष–०७७ मा भएका ठूला अपराध–

गोंगबुको त्यो विभत्स हत्या

काठमाडौँको गोंगबु अपराध भइरहने ‘हटस्पट’ मध्येमा पर्छ । गत साउन २५ मा दाङका कृष्णबहादुर बोहरालाई त्यहीँ हत्या गरियो । सो हत्यालाई ‘गोंगबु हत्याकाण्ड’को नामले चिनिन्छ ।

प्रहरीले हत्यारा पत्ता लगाउन गरेको अपरेसनको नाम राखेको छ– ‘अपरेसन जोजो ।’ अनुसन्धानमा जोजो नामको कुकुर परिचालन गरिएको हुनाले ‘अपरेसन जोजो’ नामकरण गरिएको बताउँछन् अपराध महाशाखाका तत्कालीन एसएसपी दीपक थापा ।

गोंगबुमा डेरा गरेर बस्ने कल्पना पौडेल मुडभरीले कृष्णबहादुरको हत्या गरेपछि सुटकेसमा प्याक गरेर शव फालेकी थिइन् ।

मृतकको टाउको र शव फरक स्थानमा भेटिएपछि महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले उच्च प्राथमिकताका साथ सो हत्या अनुसन्धान गरेका थिए ।

शव पहिचान गर्न नै हम्मेहम्मे परेको अनुसन्धान अधिकृतहरुले पहिचान भएपछि आरोपीलाई चितवनबाट पक्राउ गरे । तर अनुसन्धान अधिकृतकै अघिबाट एम्बुलेन्समा कल्पना भागेको चाहिँ कसैले थाहा पाएन ।

गोंगबु हत्याकाण्ड फिल्मी शैलीको थियो । आफूले हत्या गरेको शव प्रहरीले उठाएको र जोजो कुकुरले फन्का मारेर अनुसन्धान गरेको दृश्य कल्पनाले घटनास्थलबाटै नियालेकी थिइन । पछि प्रहरीसँग उनले भनिन्–‘कृष्णबहादुरको हत्या गर्दा त डराइनँ तर जोजो कुकुरले फन्का मार्न थालेपछि चाहिँ मलाई डर लाग्यो ।’

जिल्ला अदालत काठमाडौँले उनलाई जन्मकैदको फैसला गरेको छ । अहिले उनी जेलमा छिन् ।

रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

रूपन्देहीको तिलोत्तमा–१० मा एकजनाले ५ जनाको सामूहिक हत्या गरे । सुतिरहेको मौका छोपेर जेठ २६ मा राति झपेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेका हुन् ।

गंगादेवी पशु फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, किशोर करन चौधरी र आशिष चौधरीको हत्या आरोपमा झपेन्द्र पक्राउ परे ।

गङ्गादेवी पशु फर्मका माधव मुसहरुले दुःख दिने गरेको झोकमा हत्या गरेको झपेन्द्रले प्रहरीलाई बताएका छन् ।

प्रवीन हत्या : पहिला ख्याल ख्याल, पछि सकस

मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीन बाँस्तोलाको हत्या प्रकरण प्रहरी र सरकारी वकिलका लागि निकै पेचिलो बन्यो ।

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीन बिहान अचेत अवस्थामा भेटिएका थिए ।  उर्लाबारी–७ का रमेश गिरीको घरमा  साथीको डेरामा अचेत अवस्था भेटिएको भनिएका प्रवीनलाई साथीहरुले नै गोदावरी अस्पालमा लगेका थिए ।

घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्रेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धानमा ढिला मात्रै गरेन सुरुमा हत्या नै नभएको प्रहरी प्रतिवेदन बुझायो । सरकारी वकिल कार्यालयले ‘थप प्रमाण जुटाएर ल्याउनू’ भनेर आरोपीलाई छाड्ने निर्णय गरे । तर आफन्तले आन्दोलन चर्काएपछि प्रहरीलाई सो घटना निकै सकसपूर्ण भयो ।

पछि प्रहरीले बोली फेर्‍यो– ‘हत्या नै भएको रहेछ ।’ अनुसन्धान मिसिलमा पनि मृतकको एउटा फोटो फरक परेको आन्तरिक छानबिनबाट देखिएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेल त्यहाँबाट तानिए ।

अदालतले  रतुवामाई–१० का मेहरमान दर्जी लगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । आरोपी कुमार राई ३ लाख धरौटीमा छुटे । कुमार स्थानीय सौरभी होटल सञ्चालक हुन् । सो होटलमा मदिरा खाएर प्रवीन साथीहरुसँगै रमेश गिरीको घरमा बास बसेका थिए ।

सुडाल हत्याकाण्ड

असोज २१ मा जग्गा खोज्ने निहुँमा भक्तपुरको चाँगुनारायण–८ सुडाल बस्ने चन्द्रबहादुर योञ्जनलाई तीन जना मिलेर हत्या गरे ।

जग्गा खोज्न गएका सिन्धुपाल्चोकका कामी शेर्पा, रमेश तामाङ र प्रेम तामाङले कुटपिट गरेर लुटेपछि योञ्जनलाई छाडेर भागे । अस्पतालमा योञ्जनको मृत्यु भयो । सो घटना पत्ता लगाउन महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृतहरुले कठिन मेहनत गरे ।

रामेछापको सुनापती गाउँपालिका–१ का चन्द्रबहादुरले सुडालमा पनि घर बनाएका थिए । किराना पसल थियो ।

पसलमा बियर खाएर साँझपख उनीहरुले चन्द्रबहादुरलाई जग्गा हेर्ने प्रस्ताव राखेर लुटे । प्रहरीले लुटेराले प्रयोग गरेको हेलमेटमा अङ्कित अङ्ग्रेजी अक्षर ‘आरओएक्स’लाई केन्द्रमा राखेर अनुसन्धान गरेर सो घटना पत्ता लगाए ।

प्राविधिक रूपमा लुटेरा चलाख थिए । चद्रबहादुरको पसलको सीसीटीभी फुटेलमा ‘आरओएक्स’ लेखिएका हेलमेट देखिएपछि सो क्लुलाई विकास गरेर अनुसन्धान पूरा गरिएको महाशाखाका तत्कालीन एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।

अभियुक्तले घटनास्थलमा मोबाइल लगेका थिएनन् । नाम, ठेगाना कसैलाई थाहा थिएन् । तर पनि हत्यामा संलग्न सबैजना पक्राउ परे । महाशाखाले सो अपरेसनको नाम राखेको थियो– ‘अपरेसन रक्स ।’

१५ किलो सुन प्रकरण

०७७ साउनमा काठमाडौँस्थित दरबारमार्ग प्रहरीले गरेको १५ किलो ‘सुन’ अपरेसन विवादमा तानियो । ‘सुन’पछि चाँदीमा लेपन मात्र गरिएको पुष्टि भयो । नेपालको आपराधिक दुनियाँका पुराना खेलाडी बाराका इल्ताफ हुसेन अन्सारी फेरि एक पटक चर्चामा आए ।

भारतीय नागरिक देवान पटेल, विजय पटेल, निलेश सखिया र इल्ताफ हुसेन मिलेर सुन लेपन गरेर १५ किलो चाँदी भारत लाँदै थिए । तर डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले पछ्याएपछि सुन्धारामा सुनको झोला छाडेर उनीहरु भागेका थिए ।

अनुसन्धान गर्दै जाँदा भारतमा ‘सुन’ देखाएर ठग्न उनीहरुले चाँदीमा सुन लेपन गरेको खुल्यो । भारतीय नागरिक निलेशलाई चाँदी बोक्न इल्ताफले बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो मात्रै दिएनन् । उनी आफैँ बाराबाट काठमाडौँ आए ।

पेस्तोल बोकेर आएका इल्ताफसहिको समूहलाई प्रहरीले पक्रियो । इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके थिए ।

‘सुन प्रकरण’ले उनी जाली नोटसँगै नक्कली सुनको कारोबारमा पनि लागेको खुल्यो । अपराध दुनियाँमा रमाइरहने इल्ताफ फेरि चर्चामा आए ।

भागरथीको बलात्कार र हत्या

चिया पसलदेखि भट्टी पसलमा कुरा हुन्थ्यो– ‘दोस्रो निर्मला प्रकरण बन्ने भयो, भागरथी हत्याकाण्ड ।’

माघ २१ मा बुधबार बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको हत्या भयो । तर हत्याको १३ औँ दिनमा सुदूरपश्चिम प्रहरीले अभियुक्त दिनेश भट्टलाई पक्रियो । ‘बलात्कारपछि हत्या’ स्वीकार गरेपछि उनलाई जिल्ला अदालत बैतडीले मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको छ ।

सनातन माध्यमिक विद्यालयमा १२ कक्षामा पढ्ने भागरथीलाई सोही स्कुलमा ११ कक्षामा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेका हुन् । विद्यालयबाट घर फर्कँदै गर्दा उनको हत्या गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले शव भेटिएको दिनदेखि नै अनुसन्धानमा लापरबाही हुन दिएनन् । अनि भागरथी प्रकरण दोस्रो निर्मला प्रकरण हुनबाट पाएन, नियति दोहोरिएन ।

काठमाडौँमा दुई एसिड आक्रमण

०७७ मा काठमाडौँमा दुईवटा एसिड आक्रमणका घटना भए । साँखुमा होली खेल्दा असावधानीपूर्वक एसिड दल्दा एउटी बालिकासहित ३ जना घाइते भए ।

साउन ८ मा  रौतहटको लक्ष्मीपुरका मोहम्मद आलमले योजनाबद्ध ओखलढुङ्गाकी पवित्रालाई एसिड आक्रमण गरेका हुन् ।

४७ वर्षीय आलमले पवित्रालाई मन पराउँथे । आफूलाई ‘बेवास्ता’ गरेको बदला लिन ब्याग कारखानाका कालिगढ फैयाज मोहम्मदलाई प्रयोग गरेर उनले एसिड छ्यापेका हुन् । आलमको ब्याग कारखाना थियो ।

फैयाज मोहम्म उर्फ मुन्ना भारतीय नागरिक हुन् । प्रहरीले दुवैलाई एसिड छ्यापेकै साँझ पक्रियो ।

भौतिक विकासको शिखर चुमेका मुलुकसमेत पूर्णरूपमा अपराध मुक्त छैनन् । त्यस्तोमा हाम्रोजस्तो विकासोन्मुख मुलुकमा छिटफुट अपराध भइरहन्छन् । वर्ष–२०७७ मा माथिका जस्ता केही अपराधका घटना भए जसले समाजलाई बेला–बेला झस्काइरहन्छ ।

भेटिएनन् निर्मला पन्तका हत्यारा

प्रहरीले यो वर्ष ठूला अपराधका घटनामा संलग्नहरुलाई कानुनी दायरमा ल्यायो । तर, यो वर्ष पनि सुल्झन नसकेको अपराध हो – ‘निर्मला हत्याकाण्ड ।’

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्खाटाम घर भएकी निर्मला पन्तको हत्या भएको थियो । कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिकाको हत्या आरोपीलाई प्रहरीले यस वर्ष पनि नखोजेको होइन, । तर, आरोपी पक्राउ परेका छैनन् ।

अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा महेन्द्रनगरमा आन्दोलन भयो, गोली चल्यो । एकजना स्थानीयले ज्यान गुमाए । तर, आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सुदूरपश्चिम प्रहरीले हत्यारा खोजिरहेका छन् । ब्युरोका डीएसपी पञ्चकुमार बाखु आफ्नो टिमसहित कञ्चनपुरमा बसेर घटनाको अनुसन्धान गरिरहेका छन् ।

सीआईबीका अर्का डीएसपी सिद्धराज न्यौपाने पनि अनुसन्धानमा खटिएका छन् । प्रहरीले हत्यारा पहिचान गरेको दाबी गरेको छ ।

अनुसन्धानमा सहभागी एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘हत्याराको निकट पुगेका छौँ ।’

मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टविरुद्ध पुनः मुद्दा अगाडि बढाउने प्रहरीले तयारी गरेको थियो । तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालको अवकाशसँगै सो कदम अघि बढेन ।

‘हामीले हत्यारा पहिचान गरेका छौँ’ केन्द्रीय अनुसन्धान विभागका डीआईजी सहकुल थापा भन्छन्– ‘छिटो अपराधी पक्राउ गर्नेगरी अनुसन्धान केन्द्रित गरेका छौँ ।’

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्युरोको साख निर्मला बलात्कार–हत्या प्रकरणमा खस्किएको छ । २०७७ मा भएका जघन्य प्रकृतिका अन्य ठूला अपराधमा भने प्रहरीले सफल अनुसन्धान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप