गण्डकी प्रदेश सरकार ढल्दै, आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव आउने
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएको छ । नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो ।
मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएको छ ।
स्रोतका अनुसार जनमोर्चाको सहयोगमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको जरुरी हुन्छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङेको साथ गुरुङलाई रहेको भएपनि उनलाई सरकार जोगाइराख्न ३ सांसदको जरुरत रहेपनि समीकरण बदलिँदा उनको सरकार संकटमा परेको छ ।