शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

बिहीबार, ०२ वैशाख २०७८, १२ : ०७
बिहीबार, ०२ वैशाख २०७८

जनकपुर । नयाँ वर्षको आगमनसँगै मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइदै छ । वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलामा एकअर्कालाई हिलो पानी लगाउने चलन रहँदै आएको छ । परिवारका ठूलाबडाबाट बिहान हुने वित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ ।

 जुडशीतल पर्वमा पुरानो वर्षको वासी खाना खाने परम्परा समेत रहेको छ । विभिन्न परिकारका बासी खानाबाट घरदेखि चुल्होसम्म पुजा गरेर चढाउने गरिन्छ भने पुरानो वर्षमा बनाइएको अन्तिम खाना नया वर्षमा खाने गरिन्छ ।  

पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँबासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने परम्परा समेत छ । तर समाजमा आधुनिकता छोएसंगै यो परम्परा सिमित हुदै गएपछि अहिले लोप हुँदै गइरहेको संस्कृतिविदहरुको भनाई छ ।

जनकपुरधामस्थित गंगा सागर पोखरीको डिलमा समेत केही व्यक्तिहरुले एक अर्कालाई हिलो पानी लगाएर जुडशीतल पर्व  मनाएका छन् । गृष्म ऋतुको सुरुवातसँगै शितलताको प्रतिकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रामअशिष यादवले बताए ।

जुडशीतल पर्वमा एकाबिहानै बोट बिरुवामा पानी हाल्ने परम्परा समेत छ । यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिन्छ । 

जुडशीतलमा हिलो र पानी शरीरमा हाल्नाले स्वास्थ्य लाभ हुने विश्वास गरिन्छ । यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिनाभरी शीतलता प्रदान हुने जनविश्वास छ ।

गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोद कुमार झाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप