शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावकको भरमा शिक्षकको तलब

बिहीबार, २६ असोज २०७४, ११ : १५
बिहीबार, २६ असोज २०७४

पाल्पा -पाल्पाको तानसेन नगरपालिका–७ मदनपोखरास्थित तिन्टीआप आधारभूत विद्यालय सञ्चालनका लागि शिक्षकको तलबका लागि पैसा बुझाउन अभिभावक बाध्य छन् । 

कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा ८४ जना बालबालिकाले पढ्छन् । नर्सरीदेखि कक्षा ५ सम्म अंगे्रजीमाध्यममा पठनपाठन हुँदै आएपनि तीनजनाको दरबन्दी, दुईजना नीजि स्रोत, एकजना बालकक्षा सहयोगी र एकजना विद्यालय सहयोगी रहेको विद्यालयका प्रअ फणिन्द्र ढुंगानाले बताउनुभयो । 

शिक्षकको दरबन्दी काटेपछि निजी शिक्षक राख्नुपर्ने बाध्यताले तलब खुवाउन समस्या बढेपछि विद्यालयको कोष र अभिभावकको सहयोगले विद्यालय अघि बढेको प्रअ ढुंगानाले बताउनुभयो । 

यता, विद्यालयमा नर्सरीमा २०, केजीमा १० जना, कक्षा १ मा १० जना, २ मा आठजना, ३ मा १२ जना, ४ मा १३ जना र ५ मा १२ जना विद्यार्थीका अभिभावकले शिक्षकका लागि वार्षिक विद्यालय सहयोग गर्दै आएका छन् । 

निजी स्रोतबाट पारिश्रमिक लिने जुनु तिवारी र सुनिता पाण्डेयले अरु शिक्षक शिक्षिकासरह नै विद्यालयमा पढाउनुपर्छ, तर उनीहरुको तलब विद्यालयले निर्धारण गरेको रु चारहजार ५०० रहेको छ । शिक्षिका सुनिता पाण्डेयले दुखेसो पोख्नुभयो, “तलब निकै कम भयो ।” 

विद्यालयले कक्षा १ मा पढाउने अभिभावकले रु ८००, कक्षा २ का अभिभावकले रु ९००, कक्षा ३ का अभिभावकले रु एकहजार, कक्षा ४ काले रु एक हजार १०० र पाँचकाले रु एक हजार २०० वार्षिक शिक्षकको तलबका लागि भनेर विद्यालयलाई बुझाउँछन् । कक्षा धेरै, शिक्षक कम भएपछि निजी स्रोतबाट शिक्षक राख्ने चलन सामुदायिक विद्यालयमा अलि बढी भएपनि आम्दानीका स्रोत भने निकै कमजोर रहेकाले शिक्षक उधारोमा पढाउन बाध्य छन् । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले अभिभावकले केही राहत होला भन्ने सोचेपनि विद्यालयमा वार्षिकरुपमा पैसा उठाएर विद्यालय चलाउन समस्या रहेकाले यसको समाधानमा चासो देखाउनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप