बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ वर्षको अटो क्रेज : डिमान्ड छ तर सप्लाई छैन

कोभिड–१९ को प्रभाव, गाडी कम उत्पादन हुँदा माग पूरा गर्न समस्या
शुक्रबार, ०३ वैशाख २०७८, ११ : ४०
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौँ । भर्खरै मात्र नयाँ वर्षको सुरुवात भएको छ । नयाँ वर्षको सुरुवातसँगै उपभोग्य बजार तात्ने गर्छ । चाहे त्यो अङ्ग्रेजी नयाँ वर्षमा होस् या नेपाली । विशेष गरेर यो समयमा अटोमोबाइलको बजार निकै बढ्ने गर्छ । अर्थात् दसैँतिहारपछि अधिकांश अटोमोबाइल प्रयोगकर्ताहरूले नयाँ वर्षमा नै सवारी खरिद गर्ने छन् । यस्तो समयमा अटोमोबाइल व्यवसायीहरूको व्यापार राम्रो गरी बढ्दैछ ।

तर यस पटकको नयाँ वर्ष सुरु नहुँदै कोभिड–१९ को दोस्रो लहरले मुलुक पुनः लकडाउनमा जान सक्ने हल्ला चलेको छ । यो हल्लासँगै अटोमोबाइल व्यवसायीहरू पुनः सशङ्कित हुनुपुगेका छन् । कोभिड–१९ को प्रभावले झण्डै एक वर्ष व्यापार व्यवसाय गुमाएका व्यवसायीले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै पुनः बजारमा लकडाउनको हल्लाले निकै त्रसित हुनुपरेको छ । यसले नयाँ वर्षको व्यापारसमेत चौपट हुने हो कि भन्ने चिन्तामा व्यवसायी छन् । तथापि नयाँ वर्ष लागेसँगै अटो बजारमा ग्राहकको चहलपहल भने देखिन थालेको छ ।

त्यसो त दसैँपछि पहिलो पटक अटोबजारमा ग्राहकको फ्लो देखिन थालेको सुजुकी मोटर्सका बजार प्रबन्धक करुण शाक्य बताउँछन् ।

‘बजारकै कुरा गर्ने हो भने त अहिले पनि सन्तुष्ट हुने अवस्था छैन । अहिले पनि अटो बजार पहिलेकै अवस्थामा फर्किसकेको अवस्था होइन । तथापि कोभिडपछि नयाँ वर्ष लागेसँगै बजार केही सुधारोन्मुख सङ्केत भने देखिन थालेको छ,’ शाक्यले रातोपाटीसँग भने, ‘अहिले कम्पनीलाई ग्राहको मागअनुसार आपूर्ति गर्नै मुस्किल परिरहेको छ ।’ शाक्यका अनुसार अहिले बजार मागअनुसार आपूर्ति हुन नसक्दा यस्तो समस्या आएको हो ।

कोभिड–१९ को प्रभावले उत्पादनमा कमी हुँदा मागअनुसारको उत्पादनमा समस्या

शाक्यका अनुसार पछिल्लो समय कोभिड–१९ को प्रभाव भारतीय बजार लगायत विश्व बजारमै गाडीको कम उत्पादन भएको छ । यसो हुँदा गाडीको आपूर्ति व्यवस्थामा समस्या आइरहेको छ । बजार मागअनुसार कम्पनीले वितरण गर्न सकिरहेको छैन । जसले गर्दा अहिले बजारमा समस्या आइरहेको छ । शाक्यका अनुसार विशेष गरी अहिले भारतीय बजारमा उत्पादनमा हुने गाडीको सप्लाई कम भइरहेको छ ।

यसको प्रभाव पछिल्लो समय बजारमा गाडी किन्ने ग्राहकहरूको राम्रै फ्लो भए पनि सप्लाई नहुँदा समस्या आएको उनी बताउँछन् । ‘अहिले गाडी किन्छु भन्नेलाई पनि केही समय कुराउनुपर्ने अवस्था आएको छ । डिमान्डअनुसार सहज रूपमा गाडी उपलब्ध गराउन सकिराखेका छैनौँ । तथापि कम्पनीले थोरै थोरै सङ्ख्यामा भने पनि गाडीहरू आयात गरेर ग्राहकको माग पूरा गरिरहेको छ । यस्तो समस्या अहिले सुजुकीमा मात्र नभएर अन्य ब्रान्डहरूमा समेत रहेको छ,’ शाक्यले भने ।

यद्यपि यस्तो समस्या हुन्डाईमा भने नभएको हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

सोबारे रातोपाटीसँग कुरा गर्दै कम्पनीका मालिक अञ्जनकुमार श्रेष्ठले बजारमा गाडी सप्लाईको समस्या भएको सुनिए पनि हुन्डाईले प्रयाप्त मात्रामा गाडी पाइरहेको र बजारमा बिक्री गरिरहेको बताए ।

‘बजारमा हुन्डाई गाडीको अभाव छैन । जति पनि गाडी आयात भइरहेका छन् । बरु समस्या बजारको हो । बल्लबल्ल माथि उठ्न लागेको बजार कोभिड–१९ को हल्लाले फेरि खस्किन्छ कि भन्ने चिन्ता हो । बरु यसले हामी सशङ्कित छौँ’ श्रेष्ठले भने ।

तथापि हुन्डाईको बजार निकै राम्रो रहेको उनले बताए । दसैँतिहारपछि अटो बाजर सुधारोन्मुख भएको र यसले पुनः व्यवसायीहरूमा आशा जगाएको उनले बताए ।

६०० गाडीको डिमान्ड पेन्डिङमा

विश्वकै टप टेन ब्रान्डमध्ये प्रसिद्ध अटोमोबाइल कम्पनी निसानले हाल नेपाली बजारमा आफ्नो गाडीको उच्च माग रहेको दाबी गरेको छ । कोभिड–१९ कै बीच पनि निसान गाडीको बजारमा उच्च माग रहेको बताउँदै कम्पनीले हाल बजारमा आफ्नो ६०० गाडीको डिमान्ड पेन्डिङमा रहेको बताएको छ ।

सो कुराको दाबी गर्दै निसान र ड्याट्सनबाट नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटर्स् कर्पका प्रबन्ध निर्देशक ज्ञानेन्द्रबहादुर चन्दले भने, ‘हामीसँग अहिले ग्राहकको ६०० वटा गाडीको माग पेन्डिङमा छ । डिमान्डअनुसार सप्लाई नहुँदा उपलब्धतामा समस्या आएको हो । यद्यपि कम्पनीले अहिले ग्राहको मागअनुसार क्रमशः उपलब्ध गराइरहेको छ,’ चन्दले रातोपाटीसँग भने ।

पछिल्लो समय निसानले बजारमा ल्याएको कम्ब्याक एयूभी कार ‘म्यागनाइट’ उपभोक्ताहरूले निकै रुचाएछन् । यसैले ग्राहकको माग बढ्न गएको चन्दको भनाइ छ । उनका अनुसार अहिलेको डिमान्ड सोही गाडीको हो ।

५ वटा मोडलले धमाका मच्चाउँदै टाटा

भारतीय उत्पादनको निकै प्रसिद्ध अटोमोबाइल कम्पनी टाटाले नयाँ वर्ष विशेष प्यासेन्जर सेग्मेन्टका ५ वटा मोडलका गाडीले बजारमा धमाका मच्चाइरहेको बताएको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भर्खरै मात्र बजारमा एकैपटक सार्वजनिक गरेका ५ वटा नयाँ मोडल टाटा नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच ५ नै अहिले बजारका उत्कृष्ट कार रहेको बताएको छ । यी गाडीहरू नै अहिले बजारमा उच्च डिमान्डका साथ बिक्रीवितरण भइरहको टाटाका प्यासेन्जर सेग्मेन्टका लागि बजार प्रबन्धक प्रसन्न पन्तले बताए । यद्यपि अबको केही दिनभित्रै कम्पनीले दुईवटा नयाँ गाडीसमेत ल्याउने तयारी गरेको बताए । जुन अप्रिल अन्त्यसम्म बजारमा आइसक्ने उनले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप