शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल सेना परिचालन गरौँ, सीमा नाका बन्द गरौँ : डा. दीक्षित

मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ?
शनिबार, ०४ वैशाख २०७८, १९ : २२
शनिबार, ०४ वैशाख २०७८

नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसीयू बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदैछैन । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ । सीमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । र, सीमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उनले आईसोलेशन र क्वारेन्टिनको व्यवस्था पनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताए । उनले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भने,‘अहिले जात्रा र पर्व मनाउने बेला होइन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उनले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन ।’

उनले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदै पनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाएका छन् । उनले भने,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उनले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाए । उनले भने,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पोखे । उनले भने,‘अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच नै अन्तरविरोध छ, यो बेलामा उनीहरुबीच समन्वयकारी हुनुपर्दथ्यो । यो मिलाउने काम क्याविनेटको हो । यसमा प्रधानमन्त्रीले तत्काल साझा निर्णय गर्न निर्देशन दिनुपर्छ ।’ उनले अब परीक्षणको दायरा बढाउनुपर्ने, भेन्टिलेटर, अक्सिजन, आईसियुको उचित व्यवस्थापन गर्नुपर्ने पनि भनाई राखे ।

डा. दीक्षितले अहिले जुन जुन विद्यालयमा संक्रमणको जोखिम छ, ती विद्यालयहरु तत्काल बन्द गर्नुपर्ने बताए । र, पठनपाठन भने वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्नेमा उनले जोड दिए । उनले विज्ञहरुको सल्लाह र सुझावअनुसार विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णयमा पुग्नुपर्ने बताए । उनले अब कोरोनाको यो दोस्रो लहरलाई कसरी सामना गर्ने भन्नेबारे नेपाल सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गरे । उनले अब जनता सेल्फ लकडाउनमा बस्नुपर्ने र अनुशासित हुनुपर्ने पनि सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप