शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको जोखिम बढेपछि चनाखो भयो प्रशासन

मङ्गलबार, ०७ वैशाख २०७८, २१ : ३४
मङ्गलबार, ०७ वैशाख २०७८

मकवानपुर । कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन केन्द्र मकवानपुरले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढेपछि जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकहरुलाई आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आज बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकलाई निर्देशन जारी गरेको हो ।

नेपाल सरकारको सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त निर्देशन अनुसार मकवानपुरमा मंगलबारबाट लागू हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गराइने भएको हो । 

प्रशासनले हेटौँडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) मा बैशाख मसान्तसम्ममा भौतिक रुपमा उपस्थिति नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । 
यसबाहेक अन्य स्थानीय तहहरूमा भने जोखिमको आँकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठनपाठन गराउन भनेको छ । 

यसैगरी, मकवानपुरमा रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, रूपा, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम पनि बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

त्यस्तै विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी हुन नहुने र जन स्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्न आग्रह गरको हो । 

जिल्लाको उपमहानगरपालिकामा ५०० भन्दा बढी, नगरपालिका वा गाउँपालिकामा २०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा त्यस्तो क्षेत्रलाई उच्च जोखिम भएको क्षेत्र मानिने र सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरले निगरानी राख्ने व्यवस्था गरिएको जनाइएको छ ।

उद्योग वाणिज्य ​संघको निर्वाचन पनि प्रभावित हुने 

कोरोनाको कारण बैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन पनि प्रभावित हुने भएको छ । आज मकवानपुरका पत्रकारहरुसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघ पनि कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सदस्य संस्था भएको र सदस्य संस्थाबाटै प्रशासनको निर्देशन उल्लंघन नहुने उनले बताए । 

‘कुनै पनि संघ संस्थाको निर्वाचन लगायतका कार्यक्रम गर वा नगर भन्ने अधिकारी जिल्ला प्रशासनलाई छैन । मैले रोक्ने वा संचालन गर्ने भन्ने हुँदैन । तर प्रशासनको निर्देशन सबैले समान रुपमा पालना गर्नुपर्छ । सभा, सम्मेलन, गोष्टि तथा निर्वाचनजस्ता भीडभाड हुने कार्यक्रम संचालनमा तत्कालका लागि रोक लगाएका छौँ ,’ प्रजिअ पाण्डेले भने ।

‘हरेक संस्थाहरु आफ्नै विधि र विधान अनुसार संचालन भएका हुन्छन्, आफ्ना गतिविधि सोही अनुसार गर्ने हो निर्वाचन कहिले गर्ने, कसरी गर्ने र प्रशासनलाई कसरी सहयोग गर्ने भन्ने कुरा पनि उहाँहरुले बुझ्नुभएकै होला । अब निर्देशनविपरीत निर्वाचन कार्यक्रम गर्ने÷ नगर्ने वा कसरी गर्ने भन्ने उहाँहरुको कुरा हो । तर प्रशासनको निर्णय सबैलाई समान रुपमा लागू हुनुपर्छ र हुन्छ,’ उनले भने ।

प्रशासनको निर्देशन पालना नगरी त्यस्ता कार्यक्रम आयोजना गरे वा गराइएमा संक्रमण रोग ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रजिअ पाण्डेको भनाई छ । मउवा संघको निर्वाचन यसअघि चैत २३ गतेका लागि तय भएको थियो । तर, संस्थापन पक्षले निर्वाचनको कार्यक्रम स्थगित गरेको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप