शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकामा हुने

बुधबार, ०८ वैशाख २०७८, १८ : ३७
बुधबार, ०८ वैशाख २०७८

काठमाडौंँ । चर्चित गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख बिहान ६ बजे) पेन्सिलभेनिया राज्यको ह्यारिस बर्ग शहरमा आयोजना हुने कार्यक्रमका लागि लामा अहिले अमेरिका पुगिसकेका छन् ।

कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यम राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङ लगायतले उनका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रम सामाजिक सञ्जालमार्फत लाइभ गरिनेछ ।
यस अगाडि काठमाडौंमा आठ पटक र झापामा एकपटक एकल साँझ आयोजना गरिसकेका लामाको अमेरिकामा एकल साँझ हुन लागेको यो पहिलो हो । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथलाई प्रदान गर्दै आएका लामाले आफ्नी आमा फुलमाया तामाङ जीवित रहँदासम्म उनलाई अतिथि बनाएर एकल साँझ गर्दै आएका थिए ।

लामा पूर्व म्याराथन धावक पनि हुन् । अमेरिकाको एकल साँझबाट उठेको रकमबाट जन्मथलो इलामको बौद्ध धाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने लामाले बताए । करिव ४ दशकदेखि गीत लेखनमा क्रियाशील लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौं गीतहरू लोकप्रिय छन् ।

कार्यक्रमका लागि अर्जुन गुरुङ र रत्न गुरुङको संयोजकत्वमा रन राई, ओपी गुरुङ, टीबी गुरुङ, डिबी गुरुङ, विश्व गुरुङ, भुपाल गुरुङ, पुष्प गुरुङ, दीपा गुरुङ, वीरेन राई, मुक्तिराज गुरुङ र निर्मला सापकोटा गुरुङ सदस्य रहेको आयोजक समिति समेत गठन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप