शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–नेपाल वार्ता : होटल मेरियट परिसरमा जे देखियो (तस्बिरहरु)

बुधबार, ०८ वैशाख २०७८, २० : ५१
बुधबार, ०८ वैशाख २०७८

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । 

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिएको छ । 

भेटपछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए । तर कसैले पनि वार्ताबारे प्रतिक्रिया भने दिएनन् । 

गत चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच वार्ता भएको हो ।


कसरी सम्भव भयो वार्ता ?

बुधबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई टेलिफोन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । भट्टराईले आफूलाई प्रधानमन्त्रीले बोलाएको अर्का नेता घनश्याम भुसाललाई जानकारी दिए र उनी बालुवाटार गए ।

बालुवाटारमा करिब डेढ घण्टासम्म प्रधानमन्त्री र नेता भट्टराईबीच कुराकानी भयो । यसक्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट आफूमाथि घेराबन्दी भएको, सरकारलाई सहयोग नगरेको र प्रचण्डसँग मिलेर माधव नेपालले आफूविरुद्ध घेराबन्दी गरेको गुनासो सुनाए । प्रधानमन्त्री ओलीले आफूमाथि कसरी घेराबन्दी भयो भनेर लामो व्याख्या गरेका थिए ।

यसक्रममा प्रधानमन्त्री ओलीले आफू मिलेरै जाने पक्षमा भए पनि अब अलग–अलग पार्टीका रुपमा चुनावमा जानुपर्ने स्थिति आउन लागेको बताएका थिए ।

प्रधानमन्त्रीको गुनासो सुनिसकेपछि नेता भट्टराईले सर्वप्रथम नेकपा एमालेलाई एकतावद्ध बनाउनुपर्ने र यसको पहल अध्यक्षको नाताले प्रधानमन्त्री ओलीले नै लिनुपर्ने बताएका थिए । द्वन्द्व समाधान गर्ने हो भने सम्वाद जरुरी पर्ने भन्दै प्रधानमन्त्रीले माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरूसँग सम्वाद अघि बढाउनुपर्ने भट्टराईले बताएका थिए ।

भट्टराईको सुझाव पछि त्यहीँबाट प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई टेलिफोन गरेको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो ।

‘प्रधानमन्त्रीज्यूले नेता नेपाललाई फोन गरेर छलफल गरौं, बालुवाटार आउनुस् भन्नुभयो, तर नेपालले बालुवाटार आउँदिन भन्नुभयो’ स्रोतले भन्यो, ‘त्यसपछि माधव नेपालले ओलीलाई आफ्नै घरमा आउन आग्रह गर्नुभयो, ओलीले घरमा त आउँदिन भनेपछि साँझ ६ बजे होटल मेरियटमा भेट्ने सहमति भयो ।

होटल मेरियटका दुई नेताबीच एक्लाएक्लै कुराकानी भएकाले के–कस्तो छलफल भयो भन्ने खुलेको छैन । तर, होटलमा भेटिएका ओली निकट नेता मोती दुगडका अनुसार छलफलपछि दुबै नेता प्रफुल्ल देखिएकाले छलफल सकारात्मक भएको पाइएको छ । यद्यपि भेटमा भएको कुराकानी दुबै नेताहरुले गोप्य राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप