शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

बिहीबार, ०९ वैशाख २०७८, २० : ००
बिहीबार, ०९ वैशाख २०७८


जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।

जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको वार्ताबारे ब्रिफिङ गरेका थिए ।

बैठकपछि प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँग भएको पछिल्लो छलफलको बारेमा ठाकुरले सांसदहरुलाई ब्रिफिङ गरेको जानकारी दिए ।

मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए ।

ठाकुरले प्रधानमन्त्री ओलीसँग हुँदै आएको  छलफलबारे पार्टीभित्रैबाट भ्रम छर्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । सांसद कर्णले पूर्वराजपाका सांसदहरुको सहभागिता रहेको बैठकमा  ठाकुरले कतिपय विषयमा अस्पष्टता रहेकाले त्यसलाई प्रष्ट पार्न अनौपचारिक छलफल गरिएको प्रतिक्रिया दिए ।

सो क्रममा ठाकुरले आफूहरुले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको र कतिपय प्रक्रियामा रहेको आश्वासन पाएकाले त्यो पूरा भएपछि मात्रै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे टुंगो लगाउने सांसदहरुलाई विश्वास दिलाएका थिए ।

प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको एक नेताले जानकारी दिए ।

यद्यपि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद रहेको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् । यसले गर्दा पार्टीमा विवाद हुँदै आएको छ । यसरी विवाद उत्पन्न भइरहेका बेला जसपामा गुटका बैठकहरु हुँदै आइरहेका छन् ।

 दुई निलम्बितबाहेक ३२ सांसद रहेको जसपामा तत्कालीन राजपाका तर्फबाट १६ सांसद छन् । जसपाका एकजना सांसद रेशम चौधरी जेलमा छन् भने अर्का एकजना हरिनारायण रौनियार निलम्वनमा परेका छन् ।

तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ । त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरुसँग नियमित छलफलहरु गर्दै आएका छन् ।

हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन । संसदीय दल समायोजन नभए पनि जेष्ठताका आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपालको संसदीय दलको संयुक्त बैठक दुई पटक बसिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप