बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्सा र बझाङमा तीन कोराना सङ्क्रमितको मृत्यु

बिहीबार, ०९ वैशाख २०७८, १८ : ०६
बिहीबार, ०९ वैशाख २०७८

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ विन्ध्यवासिनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।    

 
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिए ।

उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताए । त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा.दासले जानकारी दिए ।

 यससँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । पछिल्लो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै बझाङमा पनि एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिम खेतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण जोशीले जानकारी दिएका छन् । सङ्क्रमित भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिम खेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप