शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढ्यो

बिहीबार, ०९ वैशाख २०७८, १९ : ०७
बिहीबार, ०९ वैशाख २०७८

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो ११ दिनको अवधिमा संक्रमित हुनेको संख्या ३० गुणले बृद्धि भएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाअनुसार गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको १० दिनपछि  बिहीबारसम्म आइपुग्दा सो दर ३० गुणाले बढेर  ६ सय ३५  पुगेको छ । मन्त्रालयका अनुसार ११ दिनको  ६ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । 

विराटनगरमा आधा भन्दा बढी संक्रमित

प्रदेश १ मा देखिएका कुल संक्रमितहरुमध्ये आधाभन्दा बढी विराटनगरमा देखिएका छन् । ११ दिनयता विराटनगरमा कोरोना संक्रमणको दर ह्वात्तै  बढेको छ । कोरोनाको दोश्रो कहर शुरु भएसँगै विराटनगरमा बिहीबारसम्म ४ सय २० जना संक्रमित भएका छन् । गत चैत २८ मा विराटनगरमा ६ जना संक्रमित देखिएका थिए । ११ दिनपछि ४ सय १४ जना संक्रमित थपिएका छन् । यो क्रममा दैनिक बढोत्तरी भइरहेको विराटनगर महानगरपालिका कार्यालयले जनाएको छ ।
चार जनाको मृत्यु

कोरोना भाइरसको दोस्रो लहरपछि प्रदेश १ मा चार जनाको मृत्यु भएको छ। जसमा विराटनगर, इटहरी, दमक र उदयपुरका एक÷एक जना रहेका छन् । कोरोना महामारीको दोस्रो लहर सुरू भएयता प्रदेश १ मा पहिलो पटक झापाको दमक नगरपालिका–९ का ९२ वर्षीय बृद्धको मृत्यू भएको थियो । 

त्यसपछि बैशाख २ गते विराटनगर महानगरपालिका–४ की ४६ वर्षीया महिलाको  मृत्यु भयो । त्यस्तै उदयपुरको गाईघाटकी ३५ वर्षीया महिलाको उपचार नपाएरै मृत्यु भइसकेको छ । बुधबार इटहरीकी एक महिलाको मृत्यु भएको थियो ।
अहिलेसम्मकै नयाँ रेकर्ड कायम

प्रदेश १ मा बिहीबार एकैपटक अहिलेसम्मकै बढी  १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्र ९७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४६ महिला र ५१ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगा, उर्लाबारी र कटहरीमा २–२ जना, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ जना र स्थानीय तह नखुलेका २ जनामा भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै सुनसरीको धरानमा १६, इटहरीमा ७, वराहक्षेत्र, दुहबी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र बिर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप