शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशलाई खेलकुदको अग्रणी प्रदेश बनाउनु पर्छ : मन्त्री पुन

बिहीबार, ०९ वैशाख २०७८, २० : २२
बिहीबार, ०९ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेशलाई खेलकुदको अग्रणी प्रदेशको रुपमा स्थापित गराउने बताएकी छन् । उनले नवगठित प्रदेश खेलकूद परिषद र जिल्ला खेलकुदको नेतृत्व आगामी दिनमा प्रदेशको खेलकुदको ​बृहत्तर विकासका लागि सफल हुने विश्वास व्यक्त गरेकी हुन् ।

मन्त्रालयमा बिहिबार आयोजित गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यहरु र जिल्ला खेलकूद विकास समितिका पदाधिकारीलाई मनोनयन पत्र वितरण समारोहमा बोल्दै मन्त्री पुनले प्रदेशको समग्र खेलकुदको विकास तीव्ररूपमा अगाडी बढ्ने बताएकी हुन् ।

‘जुन जिम्मेवारीका लागि हामी नियुक्त भएका छौं, त्यसको जिम्मेवारीको वोध गर्दै अघि बढ्न सकेको अवस्थामा हामी सफल हुने छौं,’ उनले भनिन्, ‘बृहत्तर खेलकुदको विकास गर्दै धेरै भन्दा धेरै नागरिकलाई खेलकुदमा आवद्ध गराउन सके मात्रै सफलता हासिल हुनेछ।’ 

प्रदेश खेलकुदको अध्यक्ष समेत रहेकी मन्त्री पुनले प्रदेश सरकारले अगाडी सारेका दुई महत्वपूर्ण परियोजना मध्ये हाई अल्टिच्युट रंगशालाको निर्माण र गल्फ कोर्सका लागि खेलकूद परिषदले पूर्णता दिनेमा आफू विश्वस्त रहेको बताइन् ।

उनले नैतिक चरित्र र आर्थिक पारदर्शिताबाट मात्र समाजले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताइन् । उनले विद्यालयका शिक्षक तथा जनप्रतिनिधिलाई खेलकुदप्रति अभिप्रेरित गराउँदै अगाडी बढ्न आवस्यक रहेको बताउदै प्रदेशका ५६ वटा पालिकामा ‘एक गाउँ एक खेल मैदान’ अभियान अन्तरगतको निर्माण कार्य शुरु भइसकेको बताइन् । 

सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले प्रदेशलाई समृद्ध बनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेलकुदको निकासका लागि नवगठित खेलकूद परिषदले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेश खेल क्षेत्रकै अग्रणी प्रदेश भएको बताउदै सवैलाई समेटेर खेलकुद विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद र जिल्ला खेलकुदलाई पूर्णता दिए सँगै अव प्रदेश खेलकूद चलायमान हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप