शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा घटेको अपराधको ग्राफ फेरि बढ्न थाल्यो

दैनिक ७ जना बलात्कृत, आत्महत्याको दर दैनिक १७
शुक्रबार, १० वैशाख २०७८, १० : १४
शुक्रबार, १० वैशाख २०७८

कोरोना महामारी शुरु भएसँगै गत वर्ष लकडाउनको अवधिमा समाजमा हुने जघन्य प्रकृतिका अपराधमा कमी आएको थियो । लकडाउन खुकुलो हुँदै जाँदा अपराधका घटनाहरु फेरि बढ्न थालेका छन् ।

गत वर्ष लकडाउनका समयमा भएका अपराधका घटना र लकडाउन खुलेपछिका घटनाको तुलनात्मक अध्ययन गर्दा बलात्कार, हत्या र आत्महत्याका घटनामा बढोत्तरी भएको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष कर्तब्य ज्यान, बलात्कार र बलात्कार उद्योग जस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ को तुलनामा चालू आर्थिक वर्षमा कर्तब्य ज्यान, बलात्कार, बलात्कार उद्योग, ज्यान मार्ने उद्योग र आत्महत्या लगायत गम्भीर अपराध बढेका छन् ।

समग्रमा दर्ता भएका घटनाहरूको तुलना गर्दा गत आर्थिक वर्ष भन्दा १६.१६ प्रतिशतले कम भएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

‘सामाजिक र जघन्य प्रकृतिको अपराध बढेको छ’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीसँग भने, ‘समग्रमा दर्ता भएका अपराध संख्या चाहिँ घटेको छ तर, गम्भीर अपराध बढेको देखिन्छ ।’

०७७ साउनयता चोरी, बैंकिङ कसुर र ठगीका घटना भने कम भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लकडाउनको सयममा घरभित्र हुने हिंसा र बलात्कारका घटनामा धेरै अन्तर नआएको बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी ।

लकडाउनपछि अपराध बढ्नुको कारणबारे मल्ल भन्छन्, ‘बाँच्नका लागि मान्छेले संघर्ष गर्नुपर्ने अवस्था छ, मान्छे पहिले बाँच्नका लागि प्रयास गर्छ, अनि नसकेपछि अपराध वा आत्महत्या गर्छ ।’

लकडाउनपछि बढ्यो हत्या

लकडाउन अवधिमा हत्या लगभग शून्य भएको थियो । तर, गत साउनपछि कर्तब्य ज्यानका घटना अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । ०७७ साउनदेखि फागुनसम्म मुलुकभर ४४७ जनाको हत्या भयो । ०७६ साउनदेखि ०७७ साउनसम्म ३६९ वटा हत्याका घटना देशभरका प्रहरी युनिटमा दर्ता भएको थियो 

लकडाउनपछि हत्याका घटना बढ्नुको कारण बताउँदै पूर्वडीआईजी मल्ल भन्छन्, ‘हिजो १० वर्षको युद्धले मान्छे जागरुक त बनायो तर, त्यसले छाडेको नकारात्मकताको असर समाजमा यथावत छ । समाज हिंसात्मक भएको छ र सहनशीलता हराएको छ । त्यसैले हत्या, हिंसा बढिरहेका छन् ।’

दैनिक ७ जना बलात्कृत

चालु आर्थिक वर्षमा १ हजार ६५३ बलात्कारका घटना दर्ता भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा १ हजार ४२९ बलात्कारका घटना भएका थिए ।

पुससम्म घट्दो क्रममा रहेको बलात्कार माघदेखि बढेको छ । हरेक दिन ७ वटा बलात्कारका घटना प्रहरी युनिटमा दर्ता हुने गरेको एसएसपी कुँवर बताउँछन् ।

बलात्कारका घटना धेरैजसो नजिककै चिनजानका व्यक्तिहरुबाट भएको देखिन्छ ।  चालु आर्थिक वर्षका १ हजार ६५३ बलात्कार मुद्दाका प्रतिवादीमध्ये २०८ जना हाडनाता सम्बन्धका रहेका छन् । बाँकी नजिक, चिनजान सम्बन्ध भएकाहरुले नै बलात्कार गर्ने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ को फागुनसम्म बलात्कार उद्योगका ४६८ वटा घटना दर्ता भएका थिए । चालु आर्थिक वर्षको सोही अवधि सम्म ५०९ वटा बलात्कार उद्योगका घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षमा बलात्कार उद्योग ८.७६ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘लकडाउनका बेला परिवारभित्रबाट बलात्कार हुन्थ्यो’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘मान्छे घरबाहिर निस्केपछि अन्य मानिसहरुबाट बलात्कृत हुन थालेका छन् ।’

दैनिक १७ आत्महत्या

चालु आर्थिक वर्षको फागुन महिनासम्म ४ हजार ४८३ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/७७ मा सो अवधिमा ३ हजार ५३४ जनाले आत्महत्या गरेका थिए । लकडाउनपछि आत्महत्याको ग्राफ बढेको छ ।

विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा आत्महत्याको घटना २६.८५ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दैनिक औसत १७ जनाले आत्महत्या गर्ने गरेको प्रहरी प्रवक्ता कुँवर बताउँछन् । आत्महत्यामा संलग्नमध्ये अधिकांश कमजोर आर्थिक अवस्थाका मानिसहरु छन् ।

गम्भीर प्रकृतिका मुद्दाको पछिल्लो ३ आर्थिक वर्षको तथ्यांक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप