शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सक्रिय संक्रमितको संख्या ११ दिनमै ३० गुणा बढ्यो, कोरोनाको हब बन्दै विराटनगर

शुक्रबार, १० वैशाख २०७८, १८ : ०१
शुक्रबार, १० वैशाख २०७८

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ११ दिन अर्थात्, बिहीबारसम्म आइपुग्दा यो संख्या ३० गुणाले बढेर ६३५ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा ११ दिनको अवधिमा ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश १ मा कुल संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । कोरोनाको दोश्रो लहर सुरु भएसँगै विराटनगरमा बिहीबारसम्म संक्रमित हुनेको संख्या ४२० पुगेको छ । गत चैत २८ मा विराटनगरमा ६ जना संक्रमित देखिएका थिए । ११ दिनमा यहाँ ४१४ जना संक्रमित थपिएका हुन् ।

संक्रमण बढेसँगै सक्रिय संक्रमित बिरामीले प्रदेश १ का अस्पताल भरीभराउ हुन थालेका छन् । सरकारबाट सञ्चालित कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । यस्ता अस्पतालमा गत चैतको तेस्रो सातासम्म संक्रमितको संख्या शून्यमा झरेको थियो ।

कोरोना संक्रमण बढ्न थालेपछि विराटनगरको कोभिड उपचार केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल र झापाको मेची अस्पतालमा रहेको कोभिड अस्पतालले पुनः सञ्चालनमा ल्याइएको छ । तीनवटै अस्पतालमा सक्रिय संक्रमितलाई भर्ना लिएर उपचार गर्न थालिएको छ ।

चैत २४ गते यता ३८ जना संक्रमितको विभिन्न कोभिड अस्पतालमा उपचार भईरहेको छ । कोशी कोभिड अस्पतामा २२, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना र मेची अस्पतालको कोभिड अस्पतालमा तीन जना संक्रमित उपचाररत छन् ।

कोशी कोभिड उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतले चैत २४ मा एकजना संक्रमित भर्ना भएकोमा अहिले यो संख्या २२ जना पुगेको बताए । उनका अनुसार एकसय बेडको अस्पतालमा संक्रमित बिरामीहरु भर्ना हुने क्रम निरन्तर बढेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता पशुपति चौधरीले पछिल्लो दिन अस्पतालमा संक्रमित भर्ना हुने क्रम बढेको बताए । वैशाख ६ गतेदेखि अस्पतालमा कोरोना संक्रमित भर्नाको क्रम सुरु भएको जानकारी दिँदै उनले १३ जना उपचाररत रहेको बताए ।

विराटनगरमा खतरा बढ्यो

करिव दुई सातायता विराटनगरमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । संक्रमण तीव्र रुपमा फैलिनुमा चिकित्सकहरुले दुईवटा कारणलाई मुख्य मानेका छन् । भारतीय भूमिसम्म हुने अनधिकृत आवातजावत र केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलमा भेला भएको भिडका कारण संक्रमण बढेको उनीहरुको भनाइ छ ।

कोशी कोभिड अस्पतालमा संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले संक्रमणमा परेकामध्ये धेरैको ‘ट्राभल हिस्ट्री’ भारतसँग जोडिएको छ । संक्रमित हुने दोस्रो ठुलो संख्या भने विराट गोल्डकपको भिड सामेल भएकाहरु हुन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले भने, ‘अस्पतालको सम्पर्कमा आएका अधिकांश संक्रमित कि भारतसँग, या त कुनै न कुनै रुपमा विराट गोल्डकपको भिडमा भेला भएकाहरु पाइएको छ ।’

‘चिकित्सकहरुले यी दुई कुरा नियन्त्रण गरौंभन्दा कसैले सुनेन’ मेसु दासले भने, ‘गोल्डकपमा मुख्यमन्त्री, मन्त्रीहरु सधैं आफै गएर रमाए ।’ अहिले त्यसको परिणाम देखा पर्न थालेको उनको भनाइ छ । स्वाब परीक्षणस्थलमा लागेको भिडमा पनि अधिकांशले आफू फुटबल हेर्नबाहेक अन्यत्र कतै नगएको बताउने गरेको दासले जानकारी दिए ।

चैत २६ देखि वैशाख ४ सम्म विराटनगरको शहीद रंगशालमा विराट गोल्ड कप सञ्चालन भएको थियो । खेल हेर्न दैनिक ५ हजार हाराहारीमा सहिद मैदानमा दर्शक सहभागी हुने गरेका थिए । सो समयमा गोल्ड कप रोक्न दबाब परे पनि प्रदेश सरकारको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकसमेत बस्न सकेको थिएन । गोल्डकप सकिएको भोलिपल्ट वैशाख ५ गते प्रदेश सरकारको कोभिड १९ संकट व्यवस्थापन समिति बैठक बसी विभिन्न निर्णय गरेको थियो ।

फुटबल हेर्नका लागि प्रदेश प्रमुखदेखि मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, महानगरका मेयरसहितका जनप्रतिनिधि खेलमैदानमा पुगेका थिए । ठुलो संख्यामा भारतीय दर्शक पनि खेल हेर्न आएका थिए ।

उक्त समयमा सीमा नाकामा पनि चरम लापरवाही देखिन्थ्यो । मुख्य नाकाबाट १० जना प्रवेश गरेको तथ्याङ्क राखेर बस्ने सरकारी निकायले नजिकैका चोरबाटोबाट दैनिक हजारौं मानिस नेपाल भित्रिएको वास्तै गरेनन् । अन्ततः त्यही बेवास्ता अहिले भारी बन्दै गएको छ ।

निजीस्तरमा कोराना अस्पताल पुनः सञ्चालनको तयारी

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी अस्पतालमा पुनः कोरोना संक्रमितको उपचार सुरु हुने भएको छ । कोरोना संक्रमण नियन्त्रणमा आएपछि गत पुस अन्तिम साताबाट निजी अस्पतालले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्र बन्द भएको थियो । संक्रमण बढेपछि निजी अस्पतालमा पुनः कोरोना वार्ड सञ्चालन गर्ने तयारी भएको प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।

‘कोरोना संक्रमण अस्वाभाविक रुपमा बढेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा निजी अस्पताललाई कोभिड उपचार केन्द्र सञ्चालनका लागि तयारी अवस्थामा रहन भनेका छौं ।’ यसबारे केही दिनमै अस्पताल सञ्चालकहरुसँग छलफल गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

विराटनगरमा एक सय ८० बेडको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालनमा छ । विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्यूरो अस्पतालले सञ्चालन गरेको छुट्टै कोरोना अस्पताल हाल बन्द अवस्थामा छन् ।

संक्रमितको संख्यासँगै अस्पताल बस्नुपर्ने प्रकृतिका बिरामी बढ्दै गएपछि कोराना अस्पताल सञ्चालनको तयारी गरिएको हो । स्वास्थ्य विभागबाट निजी अस्पतालसँग समन्वय गर्न भनेर पत्र आएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप