शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सरकारको ध्यानाकर्षण गरायो !

यस्तो छ एमालेको ११ बुँदे समसामयिक प्रस्ताव
शुक्रबार, १० वैशाख २०७८, २० : ५७
शुक्रबार, १० वैशाख २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले ११ बुँदे सामयिक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न  बैठकले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।

पछिल्लो समयमा सरकार आफैंले स्वास्थ्य मापदण्डहरुको उल्लंघन गरिरहेको छ । यहीबीचमा  ओलीको अध्यक्षतामा सम्पन्न बालुवाटार बैठकले स्वास्थ्यका मापदण्डहरु पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यो बैठक कोरोनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कूटनीतिक पहल गर्न र महामारीबाट अर्थतन्त्र र जनजीविका प्रभावित हुन नदिनका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।’   

सत्तारुढ एमालेको बैठकले देशका विभिन्न भागमा आगलागी र असिनाबाट भएको नोक्सानीबाट पीडित किसानलाई राहत उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ ।

 


 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकबाट पारित प्रस्तावहरूबारे जानकारी दिँदै परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले वक्तव्यमा भनेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा खडेरी र प्रदेश नं १ मा असिनाले कृषि बालीमा पु¥याएको नोक्सानीबाट पीडित किसानहरुलाई उचित राहत दिन सरकारसँग माग गर्दछ ।’

नेकपा (एमाले) दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक शुक्रबार बालुवाटारमा बसेको थियो । शुक्रबारको बैठकले वैशाख ६ गतेको बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिवद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनलाई सदस्यहरुबाट प्राप्त सुझावहरु समेत ग्रहण गर्दै पारित गरेको ज्ञवालीले जनाएका   छन् ।

बैठकले हालका लागि १९ सदस्यीय स्थायी कमिटी गठन गरेको र महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन समेत गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् । स्थायी कमिटीमा माधव नेपाल पक्षका नेताहरुलाई राखिएको छैन ।

त्यसैगरी, बैठकले कर्णाली प्रदेशसभा संसदीय दलको निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर अनुशासनको  गम्भीर उल्लंघन गर्ने कर्णाली प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने, प्रदेशसभा सदस्यबाट हटाउने र सो विषयमा प्रदेश सभालाई सूचित गर्ने निर्णय गरेको ज्ञवालीले बताएका छन् ।

बालुवाटार बैठकले पारित गरेको ११ बुँदे प्रस्ताव जस्ताको त्यस्तै–

१.   २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनस्र्थापित भएसँगै पार्टीलाई नयाँ ढङ्गले एकताबद्ध र सुदृढ गर्ने अवसर प्राप्त भएको छ । तर यसलाई सदुपयोग गर्दै विगतका कमी कमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेताहरु गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवं विभाजनकारी क्रियाकलापमा सङ्लग्न देखिनुभएको छ । यस्ता गतिविधिहरु आम कार्यकर्ताहरुको भावनाका विरुद्ध तथा देश, जनता तथा कम्युनिष्ट आन्दोलनका लागि हानिकारक छन् । यस विषयलाई गम्भीर रुपमा लिँदै बैठक सम्बद्ध कमरेडहरुलाई यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गर्दछ । यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनः सचेत गराउँछ । भूलबस समानान्तर कमिटीमा बस्नुभएका कमरेडहरुलाई त्यसबाट अलग हुन आह्वान गर्दछ । जनप्रतिनिधिहरुलाई आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने मतदाताहरुको भावनाको सम्मान गर्दै अनुशासित ढंगले अगाडि बढ्न आह्वान गर्दछ । विगतको आफ्नो क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्किने कमरेडहरुलाई बिना पूर्वाग्रह पार्टीमा हार्दिक स्वागत, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने विश्वास यो बैठक सम्बद्ध सबैलाई दिलाउन चाहन्छ ।

 २. यस अवधिमा पार्टी एकताको पक्षमा र सही विचार एवं सही नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने देशभरका नेता एवं कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, पार्टी सदस्य एवं शुभचिन्तकहरु एवं न्यायप्रेमी जनसमुदायप्रति यो बैठक हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । आगामी दिनमा पनि यही उत्साहका साथ सुदृढ पार्टी निर्माणका लागि अगाडि बढ्न आह्वान गर्दछ ।

३.   यो बैठक निकट भविष्यमा हुने सबै तहका उपनिर्वाचनहरुको तयारीमा सम्पूर्ण रुपले केन्द्रित हुन सम्बन्धित पार्टी कमिटीहरुलाई निर्देशित गर्दछ । मतदाता नामावली, मतदान केन्द्रलगायत निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा आवश्यक ध्यान दिन आग्रह गर्दछ ।

४.   यो बैठक हालै नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमतिलाई हार्दिक स्वागत गर्दछ । आफ्ना सम्पूर्ण राजनीतिक गतिविधिहरु शान्तिपूर्ण तबरले सञ्चालन गर्ने र सबै समस्याहरूको समाधान वार्ताका माध्यमबाट गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा विप्लव नेतृत्वको नेकपालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यस सहमतिसँगै राजनीतिक समस्याहरुको आधारभूत रुपमा समाधान भई मुलुक हिंसामुक्त भएको सकारात्मक अवस्थामा पुगेको छ । पृथकतावादी गतिविधि सञ्चालन गरिरहेको सिके राउत समूह राष्ट्रिय एकताको मूलप्रवाहमा सम्मिलित हुनु, सशस्त्र गतिविधिमा सङ्लग्न विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण धारमा समाहित हुनु र संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका दलहरु संविधानको मूल प्रवाहमा आउनु राष्ट्रिय एकता, शान्तिपूर्ण राजनीति र लोकतन्त्रका पक्षमा हासिल भएको ऐतिहासिक उपलब्धिका रुपमा रहेका छन् । यस सफलताका लागि बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दछ ।

 


 

५.  विगतमा सरकारले अवलम्बन गरेका विभिन्न प्रभावकारी उपायहरुका कारण नेपालमा कोरोना महामारी तुलनात्मक रुपमा नियन्त्रणमा रह्यो । समयमै खोपको व्यवस्था गरेर अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ज्येष्ठ नागरिकहरुका लागि खोप अभियान पनि सुरु भइसकेको छ । तर कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) को प्रवेशसँगै नेपालमा कोभिड महामारीको नयाँ लहरको जोखिम पैदा भएको छ । केही समययता संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितहरुको मृत्यु पनि बढिरहेको देखिएको छ । यो बैठक कोरोनाबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कुटनीतिक पहल गर्न र महामारीबाट अर्थतन्त्र र जनजीविका प्रभावित हुन नदिनका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गर्दछ । कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालनाका लागि आम जनसमुदायसँग आग्रह गर्दछ ।

६.   यो बैठक प्रदेश तथा स्थानीय पार्टी कमिटी, जनसंगठन, जनप्रतिनिधिहरु तथा सबै पार्टी सदस्यहरुलाई स्वयंसेवी भूमिकाका साथ कोरोना विरुद्धको लडाइँमा सहभागी हुन आह्वान गर्दछ । यसका लागि स्थानीय तहसँग समन्वय गर्दै क्वारेन्टिन निर्माण गर्न, विदेशबाट फर्किएका तथा संक्रमणको आशंका भएका व्यक्तिहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न÷गराउन, यसको अनुगमन गर्न तथा संक्रमितहरुलाई आवश्यक सहयोग पु¥याउन सक्रिय रुपले लाग्न निर्देशित गर्दछ ।

७.  यो बैठक केही समय अगाडि दिवंगत हुनुभएका पार्टी केन्द्रीय सदस्य, संविधानसभा सदस्य, पूर्व राज्यमन्त्री एवं भूमि समस्या समाधान आयोगका सदस्य कमरेड दिनेशचन्द्र यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

८.   यो बैठक गम्भीर रुपमा अस्वस्थ भई उपचार गराइरहनुभएका केन्द्रीय सदस्य कमरेडहरु डम्बरसिंह सम्बाहाम्फे तथा लालबहादुर विश्वकर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

९.   यो बैठक यही वैशाख १ गतेबाट सुरु भएको मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमादानको अवसरमा सबै मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

१०. यो बैठक केही समय अगाडि देशका विभिन्न भू–भागमा भएको आगलागी र डढेलोका कारण जनधनमा पुग्न गएको क्षति र वातावरणमा परेको प्रतिकूल प्रभावका लागि गहिरो चिन्ता व्यक्त गर्दै आगलागीबाट घरबार गुमाएकाहरुको पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।  आगलागी, बाढी–पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिका असर न्यून गर्न थप तयारीका लागि पनि सरकारलाई आग्रह गर्दछ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा खडेरी र प्रदेश नं १ मा असिनाले कृषि बालीमा पु¥याएको नोक्सानीबाट पीडित किसानहरुलाई उचित राहत दिन सरकारसँग माग गर्दछ । सरकारले केही समय अगाडि न्यूनतम र न्यून विद्युत् खपत गर्ने उपभोक्ताहरुलाई विद्युत् महसुलमा दिएको छुट सामुदायिक विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई पनि उपलब्ध गराउन ध्यानाकर्षण गर्दछ ।

११.  यो बैठक गतः फेबु्रअरीमा म्यान्मारमा भएको सैन्य ‘कु’ र आङ सान सुकी लगायत जननिर्वाचित प्रतिनिधिहरुको गिरफ्तारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै लोकतन्त्रको तत्काल बहाली र जनप्रतिनिधि एवं लोकतान्त्रिक नेताहरुको अविलम्ब रिहाइको माग गर्दछ । लोकतन्त्रको पक्षमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमा भइरहेको दमन र निर्दोष नागरिकहरुको हत्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको विरोध गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप