शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पका ६ वर्ष : पर्वतमा ठडिए पैँतीस सय घर

मङ्गलबार, १४ वैशाख २०७८, १४ : ३२
मङ्गलबार, १४ वैशाख २०७८

पर्वत । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको सङ्ख्या भने पाँच हजार ८७६ रहेको छ । यीमध्ये केही प्रवलीकरणतर्फका लाभग्राही रहेको कार्यालयले जनाएको छ । पुनःनिर्माणको लागि कार्यालयले अहिलेसम्म रु एक अर्ब ३३ करोड २० लाख वितरण भएको जनाएको छ । पूर्ण क्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कूल रु तीन लाख र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ ।

जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्म जिल्लामा पुनःनिर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताए । प्रवलीकरणतर्फ कसैले पनि काम नगरेको हुनाले भौतिक प्रगति बढ्न नसकेको उनले बताए । कार्यालयबाट ३४८ जनाले प्रवलीकरणबाट पुनःनिर्माणमा र १३० जनाले प्रवलीकरणबाट मर्मतमा परिवर्तन गरेको जनाएको छ । सडक पुनःनिर्माणको सूचीमा रहेको पातीचौर, मैदान लप्सीबोट सडक तीन किलोमिटर ७०० मिटर कालोपत्रे गर्ने काम अगाडि बढ्न सकेको छैन ।

यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने कामबाहेक अरु काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्याङ्कन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका एक हजार ५९० जनाले प्राधिकरणका विरुद्धमा मुद्दा दर्ता गरेका छन् । ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले जनाएको छ ।

लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताए । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्याङ्कनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणको अवधि सकिन लागेकाले पछिल्लो समय अझै बढी लाभग्राहीलाई घर निर्माण सम्पन्न गराउन ताकेता गरिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप