शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले भनेन अर्बपति र ‘भीआईपी’

ज्ञानेन्द्र शाहदेखि विनोद चौधरीसम्म बने कोराना पीडित
सोमबार, २० वैशाख २०७८, १२ : १८
सोमबार, २० वैशाख २०७८

भनिन्छ, महामारीले धनी–गरीब भन्दैन । ‘भीआइपी’ र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि पूर्वराजासम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा ‘पब्लिक फिगर’ बढी आक्रान्त देखिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर आएपछि पूर्वराजपरिवार आक्रान्त बनेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको ग्राफ दिन–प्रतिदिन उकालोलाग्दो छ । पहिलो लहरको कोरोनाको तुलनामा अहिलेको दोस्रो लहर अझ जोखिमपूर्ण मानिन्छ । तीव्र गतिमा फैलिने कोभिड–१९ को नयाँ भेरियन्टको अहिलेसम्म धेरैै व्यक्तिहरु भइसकेका छन्, अझै सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सङ्क्रमितको उपचारका लागि अस्पतालमा बेड नभएर हाहाकार मच्चिएको छ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको नजरले ‘डेञ्जर जोन’ बनेको छ । सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन त गरेको छ । तर, सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन ।

हुन त कयौं सर्वसाधारणको दिनहुँ मृत्यु भइरहेको छ । बिरामीले उपचारका लागि बेड पाएका छैनन् । यस्तो अवस्थामा के भीआइपी, के आम नागरिक सबैको व्यथा एउटै हो । तथापि सार्वजनिकरुपमा चिनिएका केही संक्रमितको यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । भीआइपीलाई समेत नछाड्ने कोरोनाभाइरससँग नडराइकन यसको र सामना गर्न सकिन्छ भन्नका लागि यो चर्चा गरिएको हो ।  

दोस्रो लहरमा सङ्क्रमित

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीमा वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सुरुमा निर्मल निवासस्थित आइसोलेसनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनीहरू उपचारत छन् । भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर फर्किएपछि उनीहरूमा कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । शाहलाई पनि नर्भिक अस्पतामा भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण भएसँगै उनी मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका थिए, अहिले नर्भिक अस्पतालमा राखिएको छ ।

मोदनाथ प्रश्रित : नेकपा एमाले पूर्वनेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना सङ्क्रमण भएको छ । उनको अहिले मनमोहन मेरोरियल अस्पतालमा उपचार भइरहेको छ ।

रुकमाङ्गद कटुवाल : पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि केही दिनअगाडि छाउनीस्थित सैनिक अस्पताल पुर्याइएका कटुवालको अहिले पनि त्यहीँ उपचार भइरहेको छ ।

खानेपानी मन्त्री मणि थापा : खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना सङ्क्रमण भएको छ । शुक्रबार उनको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना सङ्क्रमण भएपछि थापा निवासमै आइसोलेसनमा बसेका छन् ।

उर्जामन्त्री टोपबहादुर रायमाझी : वर्तमान सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि दोस्रो चरणको कोरोना संक्रमण भएको छ ।

चिनकाजी श्रेष्ठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई गत १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो आफूमा कुनै पनि लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण पुष्टि भएको उनले सार्वजनिक गरेका थिए ।

शङ्कर भण्डारी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । तीन दिनदेखि अस्वस्थ रहनुभएका नेता भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो । तरूण विभागमा समेत रहनुभएका नेता भण्डारीलाई सामान्य लक्षण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा छन् ।

मदनकृष्ण श्रेष्ठ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको सपरिवारलाई गत वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसको जानकारी उनले फेसबुकमार्फत दिएका थिए । उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

भानुभक्त ढकाल :

पर्यटनमन्त्री भानुभक्त ढकाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । ढकालले आफूमा कोरोना संक्रमण देखिएको र पत्नी समेत संक्रमित भएको जानकारी दिएका छन् । ढकाल दम्पती अहिले आइसोलेसोनमा रहेका छन् ।

विश्वप्रकाश शर्मा :

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी उनले स्वाव परीक्षणका लागि दिएका थिए । जसको रिपोर्ट सोमबार पोजेटिभ आएको उनले बताएका छन् । उनी अहिले डेरामै आइसोलेसनमा बसेका छन्  ।

पहिलो लहरमा सङ्क्रमित

हरिवंश आचार्य : वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य दम्पतीलाई पनि गतवर्षको असोजमा कोरोना पोजेटिभ देखिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले आफूहरूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका थिए ।

विजय लामा : क्याप्टेन तथा कलाकार विजय लामालाई गतवर्षको भदौ २९ मा कोरोना पोजेटिभ पुष्टि भएको थियो । कोरोना कारण काठमाडौँको स्टार अस्पतालमा उपचार गराएका उनले १७औँ दिनमा कोरोना जितेका थिए ।

मनोज गजुरेल : हाँस्यकलाकार मनोज गजुरेल पनि गत वर्षको कात्तिकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भएका थिए । सामान्य लक्षणका आधारमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । केही दिन सेल्फ आइसोलेसनमा बसेका गजुरेलको सशस्त्र प्रहरी अस्पतालमा उपचार भएको थियो ।

नवीनकुमार घिमिरे : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई गत साउनमा कोरोना सङ्क्रमण भएको थियो ।

विनोद चौधरी : अर्बपति व्यवसायी विनोद चौधरीलाई गत वर्षको भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चौधरीले नर्भिक अस्पतालमा उपचार गराएका थिए ।

डा. शशांक कोइराला : नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई गतवर्षको भदौ २३ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणका कारण अस्पतालसमेत भर्ना भएका कोइराला १६ दिनपछि कोरोना मुक्त भएका थिए ।

मीन विश्वकर्मा : पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेस नेता मीन विश्वकर्मालाई पनि गत वर्षको कात्तिक १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समय स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पतालसमेत गरिएको थियो ।

बाबुराम भट्टराई दम्पती : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई पनि कोरोना सङ्क्रमण भएको थियो । भट्टराई दम्पतीलाई गतवर्षको कात्तिक ७ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

कृष्णप्रसाद सिटौला : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई गतवर्षको मङ्सिरमा कोरोना भाइरस सङ्क्रमण भएको थियो । सामान्य रुघाखोकी लागेपछि स्वाब परीक्षण गराएका सिटौलामा कोरोना देखिएको थियो ।

कमल थापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई पनि गत वर्षको असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

जनार्दन शर्मा : पूर्वमन्त्री जनार्दन शर्मालाई गतवर्षको कात्तिकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

योगेश भट्टराई : पूर्वमन्त्री तथा नेकपा एमालेको नेता योगेश भट्टराईलाई पनि गतवर्षको असोजमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका थिए ।

अर्जुननरसिंह केसी : काँग्रेस नेता अर्जुननरसिंह केसीलाई पनि कोरोना सङ्क्रमण भएको थियो । उनलाई पनि गतवर्षको असोज १५ गते काँग्रेस कार्यालयमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । केसी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

गगन थापा : काँग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई गत वर्षको असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी घरमै आइसोलेसनमा बसेका थिए ।

विष्णु रिमाल : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण भएको छ । रिमालले गतवर्षको असोजमा ट्वीटमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक गरेका थिए ।

विद्यासुन्दर शाक्य : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा समेत गत भदौमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनी होटल सोल्टीको होम आइसोलेसनमा बसेका थिए ।

गोविन्दराज जोशी : पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री गोविन्दराज जोशी गतवर्षको पुसमा कोरोना सङ्क्रमित भएका थिए । उनको काठमाडौँको ह्याम्स हस्पिटलमा उपचार भएको थियो ।

जीवनबहादुर शाही : कर्णाली प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पनि गतवर्ष कोरोना सङ्क्रमण देखिएको थियो ।

यज्ञबहादुर बोगटी : सङ्घीय सांसद यज्ञबहादुर बोगटी पनि गत भदौमा कोरोना सङ्क्रमित भएका थिए । उनले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा उपचार गराएका थिए ।

प्रदीप यादव : प्रतिनिधि सभामा पर्साबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप यादवलाई पनि गतवर्ष कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए ।

ज्ञानेन्द्रकुमार यादव : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पनि साउनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका थिए ।

लालकिशोर साह : जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि गतवर्ष कोरोना सङ्क्रमित भएका थिए ।

महालक्ष्मी उपाध्याय ‘डिना’ : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’लाई गत भदौमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

धनराज गुरुङ :  काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङमा पनि गतवर्ष नै कोरोना सङ्क्रमण देखिएको थियो ।

जीवन घिमिरे : प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई पनि गतवर्ष नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । मन्त्री घिमिरेले आफूलाई सङ्क्रमण पुष्टि भएको आफैले सार्वजनिक थिए ।

ज्ञानेन्द्र यादव : प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई गतवर्ष कोरोना सङ्क्रमण भएको थियो ।

विजय सरावगी : वीरगञ्जका मेयर विजय सरावगीलाई गतवर्षको साउनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएको उनले सार्वजनिक गरेका थिए ।

माथिका केही उदाहरण मात्र हुन् । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, डा. चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी, अभिनेत्री ऋचा शर्मा, निर्माता निर्देशक अशोक शर्मा, रोज राणालगायत अन्य थुप्रै मानिसहरु छन्, जो कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमित भएका छन् । र, धेरैले कोरोनालाई जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप