मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

सोमबार, २७ वैशाख २०७८, २० : १३
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ठ कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले उक्त सहयोग रकम हस्तान्तरण गरेको गोल्छा ग्रुपले बताएको छ । 

गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरूद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ । 

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको बताए । उनले यस महामारीको घडीमा पाटन अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेको र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने बताए । 

यसैगरी,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा ग्रुपले यो विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको बताए । उनले यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप