शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिमीलाई बुझ्ने भएकी छु आमा !

मङ्गलबार, २८ वैशाख २०७८, ११ : ३९
मङ्गलबार, २८ वैशाख २०७८

फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’

यो भनाइमा असल राष्ट्र हुनका लागि असल आमाको आवश्यकता र भुमिका औंल्याइएको छ । वास्तवमा  आमा एक जननी हुन् । नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने आमा सृष्टिकी संरक्षक हुन् । आमाले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाउँदै आफ्नो सृष्टिलाई समेत बचाएकी हुन्छिन् ।

नारीको मूल मर्म पनि मातृत्वमा अडेको हुन्छ । नवजात शिशुले आमाको प्यारो काखलाई नै पहिलो पाठशाला ठान्छ र आमाले उसलाई उमेर अनुरुप सम्पूर्ण बानी व्यवहार, कर्तव्य, आदर, सत्कार, माया ममता दिएर हुर्काएकी हुन्छिन् । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग परिचित गराउँछिन् ।

आफ्ना सन्तानलाई खुसी दिनका लागि आमाले आफ्नो जीवनमा धेरै कुरा त्यागेकी हुन्छिन् । कहीलेकाँही उनको सहनशीलता प्रकृतिको नियमभन्दा पनि धेरै माथि हुन्छ । आमाको शिक्षाबाट सभ्य समाजको सिर्जना हुन्छ । आमा समाजकी गहना हुन् ।

आमा, आहा कति मिठो लाग्ने शब्द ! कति प्रिय लाग्ने शब्द ! संसारको सबैभन्दा पवित्र नाता आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन आमा, सबैभन्दा पहिले बोल्न सिकेको शव्द आमा, अप्ठेरोमा आफैं बोलिने शब्द आमा । आमा ती साक्षात देवी हुन्, जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ । आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन् । माया र प्रेरणाकी प्रतिमूर्ति हुन् । आमा सन्तानको ढुकढुकी हुन् । आशा र भरोसा हुन् । आमा भनेकी आस्था हुन् । आदर्श हुन् ।

हरेक बर्ष बसन्त ऋतुमा पर्ने वैशाख कृष्णपक्षको औंसीको दिनलाई यीनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातृऔंसी भनिन्छ । यस दिनलाई जन्म दिने आमाप्रति आदर व्यक्त गर्ने पौराणिक कालदेखि मनाइँदै आएको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ ।

शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यस दिन यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरीएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई मातातीर्थ औंसी भन्ने गरिन्छ ।

यसदिन आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने सञ्चारका साधनहरुमार्फत सम्झने गर्दछन् ।

यस दिन आमा नभएकाहरुले पनि आमाको आत्माको मुक्तिका लागि कामना गर्दै श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् । यस दिन काठमाडांैमा रहेको मातातीर्थ कुण्डमा मानिसहरु स्नान गर्न जान्छन् । उक्त कुण्डमा स्नान गरेपछि आफ्नी आमाको आत्माको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् ।

यसै दिन मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरुपको दर्शन पाइन्छ भन्ने जनविश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत आमा प्रशन्न भई दिएको आशिर्वादको प्रभावले छोराछोरीहरु जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास पनि छ ।

वास्तवमा सन्तानप्रति आमाको आत्मीक सम्बन्ध गर्भकालदेखि नै विकास भएको हुन्छ । आमाले आफ्नो सन्तानको सुखमा आफ्नो खुसी देख्छिन । छोराछोरीको रेखदेख र स्याहार सुसारमा बुढ्यौली जीवन कटाउने मीठो सपनामा रहेका आमाहरुले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।

वृद्ध, गलेका र चाउरिएका थकित ती आमाहरुकै लागि भनेर विभिन्न गाउँ सहरमा बृद्धाश्रमको योजना तथा भवन निर्माण हुँदैछन् । बुढेसकालमा सहारा चाहिने बेलामा आमालाई उही एक्लोपनको उपहार दिने संस्कार मौलाउँदै छ । धन सम्पत्तिको बलमा अर्काको भरमा आमाबाबुलाई छोड्दा घडीको समय अनुसार खाना त खुवाउलान्, तर भोकमा खान पाउने छैनन् ।

हरेक सन्तानले आफ्नी आमालाई खुसी बनाउन सक्नुपर्छ । आमाको ओठमा सधैं हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो । आमा सधैं पूजनीय हुन्छिन् । उनलाई एक दिन होइन, हरेक दिन पुज्न सक्नुपर्छ । आमाले गरेको त्याग र ममतालाई स्मरण गर्दै बुढेसकालमा मातृ सेवा गर्न पाउनु सबै सन्तानको अहोभाग्य र कर्तव्य पनि हो । आमाको छायाँ वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो । भनिन्छ, नि– अरुको लाख आमाको काख ।

विडम्बना ! आमा आज तिमी एउटा पिँजडाभित्र कैद गरिएकी मैना झैं भएकी छौ । खुला हावामा सास फेरेकी तिमी आज सुनसान कोठामा एक्लै झाक्राएकी छौ । सन्तानको सहारा खोजेकी छौ । धडकन बढाएकी छौ । हरेक मुश्किलमा मलाई तरीदिने तिमीले आज मबाट त्यही आशा गरेकी छौ । लोलाएकी छौ, टोलाएकी छौ । समयले कस्तो जटिल मोडमा ल्याइदियो मलाई जीवन दिने आमा तिमी बिरामी हुँदा म तिम्रो नजिक आउन सकेकी छैन ।

मलाई औधी मन छ छेउमा बसेर तिम्रो हात सुम्सुम्याउन, कपाल सुम्सुम्यााउन, अप्ठेरो गरी खानेकुरा मुखसम्म पुर्याएकी छौ तिमीले आफ्नै हातले खुवाइदिन मन छ । सायद म नजिक आएर तिमीलाई अँगालोमा बाँध्न पाएमात्र पनि तिमी आधा निको हुन्थ्यौ आमा । मलाई विश्वास छ, तर म त्यो गर्न सकिरहेकी छैन । अहो कति निरीह बनेकी छु म आज । मेरो आँखाले मात्र तिम्रो रुपलाई कल्पना गरिरहेको छ । त्यो ढोका कहिले खुल्ला अनि तिमी आफ्नै गतिमा सुखको सास फेरौली ?

यो आंैसी तिमीसँगै मनाउने मन थियो आमा बाचाहरु फेरि थाती राख्नुपर्यो । मनमा दुःखको सागर उर्लीएकै छ । तर पनि आउन सकिनँ, आमा मलाई माफ गर । सायद समय निर्दयी भएर होला त्यहाँ तिमी बर्बर आँशु झारेर बस्दा पनि आशु पुछ्न फुत्त निस्केर आउन सकेकी छैन म । तिम्रो कथा र व्यथा सुनेर मन अत्तालिएको छ । मन कति भयभित भएको छ, म कसरी वर्णन गरुँ ?

विपतको यो समयलाई ख्याल गरी आफू सुरक्षित हुनु र तिम्रो सुरक्षाको ध्यान दिनु नै तिम्रा लागि अनमोल उपहार हुनेछ यो पालि । तिमी कति निर्दोष छौ आमा ! कति धैर्य भएर विपतमा पनि तिमी मुस्कुराएकी छौ । पीडा लुकाएकी छौ । मैले बुझेकी छु तिम्रो महानता । तिम्रोे लगनशीलता अनि तिमीले उच्चारण गर्न सिकाएका हरेक शब्द–शब्द सम्झेकी छु आज ।

किनकि मैले पनि आमा हुने सौभाग्य प्राप्त गरेकी छु । कोखमा बच्चा चल्मलाउन थालेपछााडिको त्यो गुदगुदी, काउकुती सबैभन्दा प्रीय भएको आभास गरेकी छु । अनि सबैभन्दा दुःखदायी पीडा, प्रसव पीडा पनि अनुभव गरेकी छु । त्यसैले त आमा म तिम्रा हरेक दुःख, सुख र तिम्रा अनुभूति बुझ्ने भएकी छु ।

यो संसार देखाउने, सुख–दुःखका कुरा साट्न सकिने, आफूले नखाएर पनि हामीलाई खुवाउने, जीवनमा संघर्ष गर्न सिकाउने, हरेक गल्तीमा माफी दिने, सधंै अगाडि बढ्न प्रेरणा दिने तिमी हौ आमा ।

आमा, आजको दिनमा मात्रै सम्झने चिज होइनौ तिमी । फेरि तिमी बिर्सिएकी नै कहिले थियौ र । मातातीर्थ औंशीको दिन मात्रै आमा पूज्य होइन आमा समकालीन पुज्य हुन् । आमा रगतको थोपा थोपामा छिन । पल–पलमा छिन् ।

यस्ती महान आमाको मुख हेर्ने दिन आज तिमीसमक्ष आउन नपाए पनि कैयौं बर्ष यो शव्द उच्चारण गर्न पाइरहुँ । तिम्रो साथ र माया यसरी नै पाइरहुँ । आज टाढैबाट आर्शिवाद देउ आमा । जब तिम्रो आशिर्वादले काम गर्छ नि, तब बाटोको तगारोले पनि मलाई सलाम गर्छ । सम्पूर्ण आमाहरुमा नमन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीमा बन
सीमा बन
लेखकबाट थप