बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको चिन्ता : देशको जनसंख्या दशकौँ पछि सुस्त गतिमा वृद्धि

मङ्गलबार, २८ वैशाख २०७८, १२ : १५
मङ्गलबार, २८ वैशाख २०७८

पछिल्लो एक दशकमा चीनको जनसंख्या दशकौँ पछि सुस्त गतिमा वृद्धि भएको मंगलबार सरकारद्वारा जारी तथ्यांकले देखाएको छ । पछिल्लो १० वर्षमा वार्षिक जनसंख्या वृद्धिदरको औसत ०.५३ प्रतिशत रहेको थियो । सन् २००० देखि २०१० मा यो दर ०.५७ प्रतिशत रहेको थियो । योसँगै चीनको कूल जनसंख्या १.४ अर्ब पुगेको छ ।

गत अप्रिलमा नै जारी गरिनुपर्ने तथ्यांक ढिला गरी यो महिना सार्वजनिक भएको हो । यो तथ्यांक सार्वजनिक भएसँगै चीनलाई जनसंख्या घट्न नदिन दम्पतिहरुलाई थप सन्तान उत्पादन गर्न प्रेरित गर्न उपायहरु अपनाउनुपर्ने चुनौति थपिएको बीबीसीले जनाएको छ ।

सन् २०२० को अन्त्यमा गरिएको सर्वेक्षणमा जनगणना गर्ने ७० लाख अधिकारीहरु घर–घर पुगेर तथ्यांक संकलन गरेका थिए । राष्ट्रिय तथ्यांक विभागका प्रमुख निङ जिझेका अनुसार गत वर्ष देशमा करिब १.२ करोड शिशुको जन्म भएको थियो । सन् २०१६ मा यो संख्या १.६ करोड थियो । निङका अनुसार चीनको सामाजिक र आर्थिक विकासका कारण प्रजनन दर कम भएको हो । देशहरु विकसित हुँदै गर्दा शिक्षा र करियरजस्ता कारकहरुले प्रजनन दर घट्ने गर्दछ ।

उदाहरणका लागि छिमेकी जापान र दक्षिण कोरियामा पनि प्रजनन दर घट्दो क्रममा रहेको छ । गत वर्ष दक्षिण कोरियामा इतिहासमा पहिलोपटक जन्मनेभन्दा मृत्यु हुनेको सख्ंया रहेको पाइएको थियो । विश्वकै न्यून प्रजनन दर रहेको दक्षिण कोरियाका लागि यो चिन्ताको विषय बनेको छ । प्रजनन दर कम हुँदा देशमा युवाभन्दा बृद्धहरूको संख्या बढ्ने गर्दछ । जुन कुनै पनि देशका लागि ठूलो समस्या हो ।

यो समस्या समाधान गर्नका लागि चीन सरकारले सन् २०१६ मा नै विवादास्पद एक सन्तान नीतिलाई खारेज गर्दै दम्पतिलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो । यद्यपि, यो निर्णयले लगातार दुई वर्ष प्रजनन दरमा वृद्धि देखिएपनि फेरि त्यसमा कमी देखिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप