व्यवसायीको गोदाम र खरिद बिलमा प्रशासनको आँखा नै पर्दैन
मकवानपुर । अनुमति विपरित व्यवसाय सञ्चालन गर्ने दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिल गरेको छ । प्रशासनले एक साता यता अनुमति विपरीत सञ्चालन भएको एउटा औषधि पसल र खाद्यान्न पसललाई सिल गरेको हो । सोही अवधिमा मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने तीनवटा पसललाई जरिवाना समेत गरिएको छ ।
४२ वटा पसलको अनुगमन गर्दा मापदण्ड पूरा नगरेका, महामारीको समयमा पनि मूल्यवृद्धि गर्नेलगायतका त्रुटि गरेको भन्दै ३ वटा पसललाई कूल ७० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
अनुगमन टोलीले ती पसलबाट म्याद गुज्रिएका चिल्ली पाउडर, बिस्कुट, कुकिज, चटपटे मसला, भटमासजस्ता खाद्यवस्तु तथा ९० बोतल पेय पदार्थ जफत गरी नष्ट गरिएको उनले बताए । अनुगमनका क्रममा पसलहरूमा मुल्य सूची नराख्ने, खरिद तथा बिक्री बिलको कारोबार नगर्ने, जटिल परिस्थितिमा तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना नगर्ने १० वटा पसलका सञ्चालकलाई चेतावनी दिएर सुधार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै निषेधाज्ञा उल्लंघन गरी व्यवसाय सञ्चालन गर्ने ८ जना व्यवसायीलाई नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गराइएको र चेतावनी दिएर छाडिएको जनाइएको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको र संक्रमणकालीन अवस्थामा नागरिकको सहायताका लागि प्रशासन कार्यालयको नेतृत्वमा नियमित बजार अनुगमन भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
दैनिक उपभोग्य सामग्री लगायत अन्य कुनै पनि वस्तु बढी मूल्यमा विक्री वितरण गर्ने व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याइने स्थानीय प्रशासनको चेतावनी छ ।
खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि, प्रशासन मौन
मकवानपुरमा दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाएलगत्तै चामल, दाल, तेल जस्ता खाद्यान्नको मूल्य दैनिक रुपमा बढिरहेको उपभोक्ताहरुको गुनासो छ ।
निषेधाज्ञाको अवधिमा मात्र खाद्यान्न सामग्रीमा २० देखि ४० प्रतिशतसम्म वृद्धि भएको छ । हेटौंडामा यस अघि १ हजार ८ सय रुपैयाँमा विक्री हुँदै आएको खाने तेलको मुल्यमा ३३.३३ प्रतिशतसम्म वृद्धि भई २ हजार ४ सय रुपैयाँमा विक्री भइरहेको छ भने चामलमा प्रतिबोरा २ सय रुपैयाँसम्म वृद्धि भएको छ ।
करिब तीन महिनाको लागि पुग्ने गरी खाद्यान्न सामग्री मौज्दात राखेर व्यवसायीहरुले अस्वाभाविक रुपमा मूल्यवृद्धि गर्दासमेत प्रशासनको नजर त्यता पर्न सकेको छैन । अन्य जिल्लाबाट आयात हुने खाद्यान्न सामग्री ढुवानीमा कुनै अवरोध नभएको प्रशासन आफै स्वीकार गर्छ । तर, खाद्यान्न सामग्रीको मूल्यवृद्धिबारे प्रशासन बेखबरजस्तै देखिन्छ ।
प्रशासनको आँखा पुग्दैन गोदाममा
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा मकवानपुरमा बजार अनुगमन समिति बनाइएको छ । सो समितिले दैनिक रुपमा बजार अनुगमन गर्दै आएको छ । अनुगमन टोलीले बजारका थोक तथा खुद्रा विक्रेताको पसल–पसलमा पुगेर अनुगमन गर्ने गरे पनि व्यवसायीको गोदामसम्म उनीहरुको आँखा पुग्ने गरेको देखिँदैन । अनुगमन टोलीलाई व्यवसायीले आफ्ना स–साना पसल देखाएर टार्ने गरेका छन्, तर ती व्यवसायीहरुको गोदामको विषयमा अनुगमन समितिलाई सूचनासमेत हुँदैन ।
अनुगमन समितिले खरिद तथा विक्री बिलसमेत नहेरी अनुगमन गरेको उपभोक्तावादीहरु बताउँछन् । व्यवसायीको खरिद बिल नहेरी अनुगमन गर्दा बजारमा खाद्यान्नको मुल्य स्थिर हुन नसकेको उनीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु