बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले उजागर गरेको विश्वव्यापी असमानता

सम्पन्न मुलुकमा संक्रमण दर घट्दा खोप अभाव भएका देशमा व्यापक बढ्दो
मङ्गलबार, २८ वैशाख २०७८, १४ : ५१
मङ्गलबार, २८ वैशाख २०७८

पश्चिमी देशमा पहिलो लहरमा कोरोनाको कहर व्यापक देखिएको थियो तर पछिल्लो समयमा यहाँ संक्रमण दर घट्दो छ । यसलाई मध्यनजर गर्दै विश्व तीब्र गतिमा विभाजनतर्फ अघि बढिरहेको विज्ञले चेतावनी दिएका छन् किनभने कोभिडको खोप पर्याप्त मात्रामा उपलब्ध भएका सम्पन्न मुलुकले क्रमशः भाइरसमाथि नियन्त्रण पाइरहेका छन् भने यता दक्षिण पूर्वी एशियाली देशको स्थिति यसको ठीक विपरित छ ।

हालैको समयमा कोरोनाभाइरसको विश्वव्यापी संक्रमण घट्दो छ । मार्च महिनादेखि अप्रिलको अन्त्यसम्म अत्यधिक संक्रमित देखिएको थियो । तर अन्य देशमा संक्रमण अत्यधिक फैलिरहेका कारण सिङ्गो विश्व खतरामा भएको विश्व स्वास्थ्य संगठनका टेड्रोस एडनहोम गेब्रिएससले सोमबार जानकारी दिए । 

डा. टेड्रोसका अनुसार दक्षिण पूर्व एशियामा संक्रमित र मृतकको संख्या अझै पनि व्यापक रुपमा बढ्दो छ । कम्बोडिया र थाइल्याण्ड सन् २०२० मा कोरोनामाथि नियन्त्रण पाउन सफल भएको थियो तर पछिल्लो समयमा त्यहाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मलेसियाले सोमबारदेखि देशव्यापी लकडाउनको घोषणा गरेको छ । जनवरीपछि दुई दिन लगातार संक्रमितको संख्यामा उच्च वृद्धि भएपछि यस्तो निर्णय गरिएको हो ।

वैज्ञानिकले कोरोनाभाइरसलाई कुनै परीक्षण नै नगरी खोप अभाव भएको देशमा फैलन दिने हो भने थप खतरनाक भेरियन्टको विकास भइरहने चेतावनी दिएका छन् । यसले अन्य देशमा पनि खतरा निम्त्याउने गर्छ ।

‘विश्वव्यापी रुपमा हामी अझै पनि जोखिममा छौं,’ डा. टेड्रोसले भने । विश्वव्यापी रुपमा दैनिक रुपमा ७,८३,००० नयाँ संक्रमित भेटिने गरेका छन् । B.1.617 भेरियन्ट फैलिरहेको भारतमा मात्रै यसको आधा संक्रमित भेटिने गरेको छ ।

सोमबार डब्ल्यूएचओले B.1.617 लाई चिन्ताको भेरियन्ट बताएको छ । अन्य याद राख्नुपर्ने भेरियन्टमा B.1.617​ बेलायती भेरियन्ट र  ब्राजिलमा पहिलो पटक भेटिएको P.1 ​भेरियन्ट हो । बेलायती भेरियन्ट अहिले अमेरिकामा तीब्र रुपमा फैलिरहेको छ ।

अमेरिका र बेलायत, जहाँ व्यापक रुपमा खोप अभियान चलाइँदैछ, त्यहाँ संक्रमण दर घटेको छ । मानिसहरु रेष्टुरेन्ट जान थालेका छन्, मनोरञ्जनात्मक स्थल चहार्न थालेका छन् । खाद्य एवं औषधी प्रशासनले फाइजर– बायोएनटेक खोप १२ देखि १५ वर्षका किशोर किशोरीमा उपलब्ध गराएपछि अमेरिकाको एउटा ठूलो जनसंख्या खोपका कारण सुरक्षित हुन्छ । 

युनिभर्सिटी अफ क्यालिफोर्निया सान डियागोका संक्रामक रोग शाखाका प्रमुख डा. रोबर्ट स्कूलीले विश्वव्यापी संक्रमणको दर हाल अस्थीर रहेको बताएका छन् ।

‘केही समयका लागि हामीले यस्तो स्थिति देख्न सक्छौं जहाँ कोरोना नियन्त्रणमा आएको जस्तो त देखिनेछ जुन वास्तविकता साँचो हुँदैन किनभने स्थानीय र केन्द्रीय स्तरमा कोरोनाको संक्रमण बढ्दो छ ।’ डा. स्कूलीले भने । ‘विश्वका धेरैभन्दा धेरै मानिसहरुमा निकै प्रभावकारी कोरोनाको भ्याक्सिन नलगाएसम्म यो स्थिति निरन्तर दोहोरिनेछ ।’

डा. टेड्रोसका अनुसार भ्याक्सिन लगाएका भाग्यमानीहरुमा कोरोनाको लक्षण साधारण रहने र खोपको राम्रै मात्रा भण्डारण भएका देशमा मृत्युदर पनि कम छ ।

तर कम आय भएका देश, जसले विश्व जनसंख्याको ४७ प्रतिशत प्रतिनिधित्व गर्छ, ले १७ प्रतिशत मात्रै भ्याक्सिन प्राप्त गरेको  उनले बताए ।

अत्यधिक जनसंख्या भएको भारतका १० प्रतिशतभन्दा कमले खोप लगाएका छन् । अफ्रिकामा योभन्दा १ प्रतिशत बढी छ ।

‘यो व्यापक असमानताको झलक हो,’ डा. टेड्रोसले भने । ‘यसले महामारी अन्त्यका लागि निकै ठूलो चुनौती कायम गरिदिएको छ । ’

उनका अनुसार खोपबाहेक अन्य सामाजिक स्वास्थ्य उपकरण पनि छन् जस्तै, मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने, यसले भाइरसको फैलावटमा रोक्नेछ । तर यी कुरा पूर्ण रुपमा पालना नगरिएको उनले जिकिर गरे ।

‘नेताहरुलाई मेरो सन्देश यो छ कि : तपाईंहरुसँग जे जति साधन उपलब्ध छ, त्यो तत्कालका लागि प्रयोगमा ल्याउनुहोस्, ’ उनले भने । भारतमा नरेन्द्र मोदीको व्यापक विरोध भइरहेको छ । उनले हज्जारौं मानिसहरुको संलग्नता रहने कुम्भ मेला आयोजना गर्न अनुमति दिएको भन्दै मानिसहरु विरोधमा उत्रिएका थिए ।

साथै, आफ्ना देशका थुप्रै मानिसहरुलाई खोप लगाइसकेका देशलाई पनि कोरोनामाथि विजय पाइयो भनेर उत्सव मनाउन हतार नगर्न उनले भनेका छन् । ती देशलाई टेड्रोसले हालको खोपलाई निस्तेज गरिदिन सक्ने नयाँ भेरियन्टबारे ख्याल राख्न सुझाव दिएका छन् ।

न्यूयोर्क टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप