शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि निर्णायक बैठक बस्दै

मङ्गलबार, २८ वैशाख २०७८, १५ : २८
मङ्गलबार, २८ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाभित्रको टकरावका कारण विपक्षी दलहरु अन्योलमा परेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले अविश्वास प्रस्ताव ल्याएपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए ।

तर उनको राजीनामापछि नयाँ सरकार बनाउने बाटो खुलेको विपक्षी गठबन्धनलाई यतिबेला बहुमत जुटाउन निकै सकस परेको छ । जनमोर्चाभित्रको विवादका कारण दलहरु अलमलमा परेका छन् ।

जनमोर्चाको केन्द्रीय नेतृत्वले काँग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मोर्चालाई समर्थन गर्ने निर्णय गरेपछि तीन दलले संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर, केन्द्रको निर्णयलाई लत्याउँदै जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाहीले काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन जनाउन आलटाल गर्दै आएका छन् । परिणामस्वरुप प्रदेश प्रमुखले दलहरुलाई बहुमत सिद्ध गर्न दिएको तीन दिनको समयभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसक्ने सम्भावना बढेर गएको छ ।

पछिल्लो समय मुख्यमन्त्री गुरुङको समर्थनमा जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाही देखिएका छन् भने नयाँ गठबन्धनका पक्षमा सांसद पियारी थापा देखिएकी छन् ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा तीन दिनभित्र बहुमतसहित उपस्थित हुन दलहरुलाई निर्देशन दिएकी थिइन् । तर, जनमोर्चाले अन्तिममा आएर हस्ताक्षर गर्न आनाकानी गरेपछि काँग्रेस नेतृत्वको गठबन्धनमा तनाव बढेको छ ।

प्रदेश प्रमुखले तोकेको समयसीमा सकिन लागेपछि जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टको रोहवरमा अहिले संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलका नेता कृष्ण थापाले आफुलाई नसोधिकन सचेतकले ह्वीप लगाएको भन्दै असन्तुष्टि सार्वजनिक गरेका छन् । संसदीय दलका नेता थापा र शाहीले एमाले कै समर्थनमा आफूहरुले चुनाव जितेको भन्दै काँग्रेसलाई सघाउन कठिन भएको प्रतिक्रिया दिँदै आएका छन् ।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको संसदीय दलको बैठक चलिरहेको जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । उनले सरकारलाई समर्थन गर्ने बारेमा छलफल गर्न बैठक बसिरहेको बताए ।

यसअघि राष्ट्रिय जनमोर्चाले सत्ता समीकरणका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्न ह्वीप नै जारी गरेको छ । सांसद र पार्टीको निर्णयमा बेमेल भएको भन्दै विवाद मिलाउनका लागि विगत केही दिनदेखि राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्ट पोखरामा बस्दै आएका छन् ।

पार्टीले गरेको निर्णय अनुसार मंगलबार बेलुकासम्म आफ्नो पार्टीले हस्ताक्षर गर्ने महासचिव मनोज भट्टको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप