बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको स्वास्थ्य प्रणाली नै 'कोल्याप्स' भइसक्यो : डा.चन्द्रमणि अधिकारी (भिडियो सहित)

मङ्गलबार, २८ वैशाख २०७८, १८ : ४९
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डा.अधिकारीले “हेल्थ सिस्टम नै कोल्याप्स” भएको दाबी गरेका हुन् । सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेवार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका हुन् ।

उनले भने– “हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरि देउ र मुटुका बिरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेऊ । म अहिले पनि लिनसक्छ । तर अर्को हस्पिटलले कोभिड मात्रै भएका बिरामीलाई जिम्मा लिइ दिओस् ? तर कसैले पनि जिम्मा लिन सक्तैन अहिले । किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ । हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौ ।  स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पुर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्यो । बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन । म दुःखका साथ भन्छु । वीर अस्पतालको ५ सय शैयाको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाज मर्नुको अवस्था हो । हामी के हेरेर बसिरहेका छौ ? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन् । ५ सय शैयाको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने । यसको जिम्मा कसले लिने ? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नुपथ्र्यो ।”

उनले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० वर्षभन्दा माथिकालाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए । उनले वीर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न गरे । उनले भने, “५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौ ? कसैले एन्सर गर्न सक्छ यो ? खै प्लानिङ ?”

सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) विरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने, “हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो । अहिले थप गरेर २१ वटा आइसियु बनाएका छौ । अब हाम्रोमा कुनै पनि आइसियु छैन । इमर्जेन्सीलाई पनि फुल कोभिड बनाएका छौ । हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमर्जेन्सी बनाउनुपरेको छ । अहिले मलाई एउटा फोन आइरहेको थियो, एकजना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइ दिनुहोस् । हामीले लिन सक्ने अवस्थामा छैनौ । ९० वटा सिलिन्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १ सय ८५ सिलिन्डर प्रतिदिन प्रयोग गरिरहेका छौ ।” 

उनले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भएपनि महानगरले पहल गरेकोमा धन्यवाद दिए ।
वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन् । उनले ५ सय सैयाको अस्पताल भवन हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन् । भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था नरहेपनि आफुहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उनले बताइन् ।

उनले भने, “भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था होइन । तर हामीले ३ सय बेडको व्यवस्था गरिसकेका छौ । अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिन्डर उत्पादन हुन्छ । दुईवटा भवनमा गरेर ३ सय सिलिन्डर प्रतिदिन खपत भइरहेको तर सप्लायर्सले १ सय २३ सिलिन्डरभन्दा बढी दिँदैन अनि मैले कसरी गर्नसक्छु ?” 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई बिरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने– ‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन् । तिनको बजारमा उपलब्धता कस्तो छ ? यसै भन्न सकिने अवस्था छैन । तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन । उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ । हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो । यसका लागि तपाईहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ ।’

उनले चर्चा कमाउन नभई अस्पतालमा परेको बिरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताए । अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरूको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ थियो ।  
छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरू डा.विधाननिधि पौडेल र डा.विमलकुमार थापासहितका चिकित्सक सहभागी रहेका थिए  ।

सहभागीहरुले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाई, जनशक्तिलाई प्रोत्साहन र , व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धताको साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिद सम्बन्धि प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए ।

उनीहरुले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको भएपनि अहिले ती सबै बिरामीले भरिएको भन्दै बेडको संख्या वृद्धिसँगै जनशक्तिको भार पनि थपिने भएको आर्थिक  व्यवस्थापन गर्न सके महामारी विरुद्ध काम गर्न सहज हुने बताए । उनीहरु कोभिड विरामीको उपचारका लागि थप गरिने कार्यका लागि महानगरले निःशर्त वा ससर्त अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।  
छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोभिड अस्पताल व्यवस्थापन सिफारिस समिति’ का संयोजक दिपक केसीसहित महानगरका अधिकारीहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप