शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनालाई जित्नुभयो ? तर ध्यानमा राख्नुहोस् यी कुरा

बुधबार, २९ वैशाख २०७८, १३ : ०४
बुधबार, २९ वैशाख २०७८

‘अब आराम छ कि अझै समस्या छ ? रिपोर्ट नेगेटिभ आयो ?’

तपाईंमध्ये कतिले हिजो वा आजमात्रै यी प्रश्न कसैलाई सोध्नुभएको होला । वा सायद यी प्रश्नको जवाफ दिनुभएको होला ।

आफ्नाको चिन्तामा तपाईंको भावना सायद नै कुनै सरकारी आँकडामा कहिले गन्ती हुन सक्ला ।

तर पनि यदि गन्ती गर्नु नै परे नेपालमा ३ लाख १२ हजार १९ संक्रमित निको भइसकेका छन् ।

यो आँकडामा सायद तपाईंका केही आफन्त पनि पर्लान् । यो जानकारी तपाईंहरुका उनै आफन्तका लागि हो ।

किनभने कोरोना हारेको त छ तर अहिलेसम्म भागेको छैन ।

कोरोनाबाट निको भइसकेका मानिसहरुले अब अन्य समस्याको सामना गरिरहेका छन् । केही मानिसलाई थोरै काम गर्दा पनि थकाई लाग्छ, कतिलाई सास फेर्न समस्या। कतिलाई मुटुको नयाँ रोग लागेको छ तर कतिमा अन्य समस्या देख्न र सुन्न पाइएको छ ।

त्यसै कारण डाक्टरलाई मान्ने हो भने पोस्ट कोभिड केयर पनि त्यति नै आवश्यक छ, जति कोभिड केयरमा चाहिन्छ ।

तपाईंले जति ख्याल कोभिड–१९ हुँदा राख्नुभयो, यसबारे निको भएपछिको केही हप्ता वा महिनासम्म तपाईंले त्यति नै सतर्कताका साथ ख्याल राख्नुपर्छ ।

नभए सानो लापरवाही पनि तपाईंमाथि भारी पर्न सक्छ ।

कोभिड–१९ को शरीरमा असरः

यसका लागि कोभिड–१९ मा शरीरका कुन हिस्सा वा अंग प्रभावित हुन्छन् भनेर थाहा पाउन आवश्यक छ ।

अहिले पनि धेरै मानिसहरु यसलाई रुघा–खोकी लाग्दा आउने ज्वरो जस्तै ठान्छन् । मानिसहरुलाई लाग्छ कि कोभिड–१९ हुँदा फोक्सोमाथि मात्रै असर पर्छ ।

तर यस्तो होइन ।

यो रोग नयाँ भएकोले यसले शरीरका अन्य अंगमा निम्त्याउने असरबारे पनि बिस्तारै थाहा भइरहेको छ ।

कोभिड–१९ का कारण मुटु, दिमाग, मांसपेशी, धमनी र नसा, रगत, आँखाजस्ता शरीरका थुप्रै अंगमा पनि असर पर्ने प्रमाण भेटिइसकिएको छ ।

यसैकारण हृदयघात, डिप्रेशन, थकान, जीउ दुख्ने, रगत जम्ने र ब्ल्याक फंगसजस्ता समस्याको मानिसहरुले सामना गरिरहेका छन् ।

त्यसैले डाक्टरले कोभिड–१९ बाट निको भएपछि पनि शरीरका अन्य अंगमा हुने परिवर्तनलाई हल्का रुपमा नलिन सल्लाह दिएका छन् । धेरै समयसम्म यसमा परिवर्तन आए डाक्टरको सल्लाह लिन सुझाइएको छ ।

हल्का लक्षण भएका कोभिड–१९ का बिरामीले निको भएपछि के गर्ने ?

धेरैजसो कोभिड–१९ का बिरामी घरमै बसेर निको भइरहेका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पताल जान आवश्यक पर्दैन । तर घरमा बसिरहेका बिरामीका लागि पोस्ट कोभिड–१९ केयर आवश्यक हुन्छ ।

यसबारे बिस्तारले भारतको सर गंगाराम अस्पतालमा मेडिसिन विभागका प्रमुख डा. एसपी बायोत्रा भन्छन्, ‘हल्का लक्षण भएका बिरामी पनि पूर्ण रुपमा निको हुन २–८ हप्ताको समय लाग्छ । यो समय हरेक व्यक्तिका लागि भिन्न हुन्छ । ’

‘कमजोरी, एकैपटक धेरै काम गर्दा थकान, भोक नलाग्ने, निद्रा असाध्यै लाग्नु वा फिटिक्कै नलाग्नु, शरीर दुख्नु, शरीर हल्का तातो हुनु, डर – यी केही यस्ता लक्षण हुन् जुन मध्यम बिरामीमा निको भएपछि साधारणतया देख्ने गरिन्छ ।’

यस्तै भारतका एक डाक्टर बायत्रो पनि कोरोना बिरामीको उपचार गरिरहेका छन् । आफ्ना निको भएका हल्का लक्षण भएका बिरामीका लागि उनको सल्लाह छ –

यदि तपाईं आफैं स्वस्थ महसुुस गरिरहनुभएको छ भने नेगेटिभ रिपोर्ट लिइरहनुपर्ने आवश्यकता छैन । त्यसैले पुनः परीक्षण नगराउनुहोस् । १४ दिनपछि आइसोलेशनबाट बाहिर निस्कन सक्नुहुन्छ ।

निको भइरहेको क्रममा खानपिनको विशेष ख्याल राख्नुहोस् । प्रोटिन र हरियो सागसब्जी धेरै मात्रामा खानुहोस् । यस्तो यसकारण किनभने यो रोग लाग्दा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने गर्छ ।

खान मन लाग्दैन भने थोरै थोरै समयको अन्तरालमा खानुहोस् र पानी सही मात्रामा पिउनुहोस् ।

नियमित योग र प्रणायाम गर्नुहोस् । ब्रिदिङ एक्सरसाइज गर्नुहोस् र एकैपटक धेरै काम नगर्नुहोस् ।

निको भएको केही दिनसम्म (१५–३० दिन) अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको लेभलमा ध्यान दिनुहोस् ।

तातो वा मनतातो पानी मात्रै पिउनुहोस् । दिनमा दुई पटक बाफ कुनै पनि हालतमा लिनुहोस् , ८–१० घण्टाको निद्रा पुर्‍याउनुहोस् र आराम गर्नुहोस् ।

७ दिनपछि डाक्टरसँग फलोअप चेकका लागि जानुहोस् ।

डाक्टर बायोत्रालाई विश्वास गर्ने हो भने कोभिड–१९ द्वारा हल्का बिरामी निको भएको १०–१५ दिनभित्र काममा फर्कन सक्छन् । क्रमशः पुरानो दिनचर्यामा फर्किन सकिनेछ । डाक्टरले यदि केही औषधी खाने सल्लाह दिएका छन् भने त्यसै गर्नुहोस् । औषधी रोक्नुअघि डाक्टरसँग पक्कै पनि सल्लाह लिनुहोस् ।

यदि तपाईं कोभिड–१९ का साथै अन्य रोगबाट पनि ग्रसित हुनुहुन्छ भने निको भइसकेपछि पनि जे औषधी बताइएको छ, त्यो खान जारी राख्नुहोस् । यस्तो बिरामीले विशेष सावधानी अपनाउन आवश्यक छ ।

यसका साथै कोभिड–१९ बाट निको भएका बिरामीले धुम्रपान र मद्यपानबाट टाढै बस्नुपर्छ ।

डाक्टर बायोत्रालाई विश्वास गर्ने हो भने घरमा बसेर निको भएका बिरामीले आफ्नो शरीरमा भइरहेको परिवर्तनलाई निकै सुक्ष्म ढङ्गले याद राख्नुपर्छ । कुनै पनि परिस्थितिमा उक्त परिवर्तनको कारण बुझ्नुभएन भने डाक्टरसँग तुरुन्तै सम्पर्क गर्नुहोस् ।

कम गम्भीर र अत्यधिक गम्भीर लक्षण भएका बिरामीले के गर्ने ?

दिल्लीका राम मनोहर लोहिया अस्पतालमा पल्मोनोलोजिस्ट डाक्टर देश दिपक पनि आजकाल कोभिड–१९ बिरामीको उपचारमा लागेका छन् ।

बीबीसीसँगको टेलिफोन संवादमा उनले भने, ‘गम्भीर बिरामी जो कोभिड–१९बाट निको भएर घर फर्किएका छन्, उनीहरु सबैका लागि एउटै गाइडलाइन नहुन सक्छ । यसले बिरामीको प्रतिरक्षा प्रतिक्रिया र केस–टु–केस बेसिसमा नै हेर्नुपर्छ ।’

उनका अनुसार शरीरमा पानीको मात्रा सही राख्नका लागि भरपुर तरल पदार्थको सेवन, पौष्टिक आहार, छिट्टै थकाई लाग्ने भएकोले एकैपटक धेरै काम नगर्नेलगायतका कुरामा गम्भीर कोभिड संक्रमणबाट निको भएका बिरामीले ध्यान दिनुपर्छ ।

आफ्नो अघिल्लो वर्षको अनुभवको आधारमा उनले गम्भीर लक्षण भएका बिरामी पूर्ण रुपमा निको हुन तीन महिनाको समय लाग्न सक्ने बताएका छन् । धेरै दिनसम्म अस्पतालमा बसेर फर्किएकाहरु निको हुन थोरै समय लाग्न सक्छ ।

तर निको हुने क्रममा उनीहरु बेड नै भइरहनुपर्छ भन्ने होइन । यस्तो मानिसहरुले निको भएपछि ब्रिदिङ एक्सरसाइज, प्राणायमबाट दिनको सुरुवात गर्नुपर्छ । यी मानिसहरुले समयसँग आफ्नो दिनचर्यामा नयाँ चिज जोड्न सक्नुहुन्छ ।

डाक्टर देश दिपक भन्छन्, ‘यस्ता बिरामीलाई साइको–सोसल सपोर्ट धेरै चाहिएको हुन्छ । विशेषगरी वृद्ध–वृद्धा र अन्य रोगसँग जधिरहेका मानिसहरुलाई । घरमा आएर अक्सिजन चेक गर्नु वा आफैं अक्सिजन लगाउनु, समयमा सही औषधी खानु – यी स–सानाले कुरा हुन्छन् जसले मानसिक रुपमा उनीहरुलाई निकै तनावमा पार्न सक्छ । यस्तो अवस्थामा परिवार र छर–छिमेको सहयोगले निकै महत्व राख्छ । आवश्यकता पर्दा मानसिक स्वास्थ्यका लागि काउन्सलरको पनि मद्दत लिनुपर्छ । सकारात्मक सोचले असाध्यै महत्व राख्छ ।’

गम्भीर रुपमा थलेका केही बिरामीलाई घरमा केही दिनसम्म अक्सिजन सपोर्टमा रहन डाक्टरले सल्लाह दिएको हुनसक्छ । त्यस्ता बिरामीलाई विशेष ख्याल राख्नुपर्छ । उनीहरुलाई बिस्तारै डाक्टरको सल्लाहमा अक्सिजनमा निर्भरता कम गर्नेतर्फ अघि बढ्नुपर्छ ।

डाक्टर देश दीपकका अनुसार हरेक मध्यम र गम्भीर बिरामीले कोभिड पछि पनि केही समस्याको सामना गर्नुपर्छ भन्ने नै छैन । यस्तो कमै हुन्छ ।

ती समस्याबारे कुरा गर्दै उनी भन्छन्, ‘केही बिरामीलाई पछि गएर फोक्सोसँग जोडिएका केही समस्या देखिन सक्छ – जस्तै फोक्सो संकुचित हुनसक्छ । केही बिरामीमा मुटुसँग सम्बन्धित समस्या देख्न सकिन्छ । यस्तो मामिलामा कुनै एउटा गाइडलाइन दिन सकिँदैन ।’

यस्ता बिरामी आफ्नो डाक्टरको सल्लाहमा नै रिकभरी पिरियडमा हिँड्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनको तर्फबाट पनि यसबारे कुनै विस्तृत जानकारी वा गाइडलाइन जारी गरिएको छैन । तर यसवर्ष जनवरीको महिनामा जारी एक नोटमा अस्पताल गएर फर्किएका कोरोना बिरामीका लागि फलो–अप चेकअप र लो–डोज एन्टिकग्युलेन्ड वा रगत पातलो पार्ने औषधीको प्रयोग गर्न सल्लाह दिइएको थियो ।

डाक्टर देश दीपकका अनुसार केही बिरामीलाई निको भएपछि एन्टीकग्युलेन्ट वा रगत पातलो पर्ने औषधीको आवश्यकता पर्छ पर्र्दैन भन्ने विषयमा डाक्टरको सल्लाह लिनुपर्छ ।

यसबाहेक केही मानिसहरुमा अस्पतालबाट फर्किएपछि मांसपेशीमा कमजोरी पनि हुनसक्छ । यसबाट पार पाउनका लागि प्रचुर मात्रामा प्रोटिन खान सल्लाह दिइन्छ ।

कोभिडबाट निको भएका बिरामीमा औषधीको साइडइफेक्ट केही हप्तापछि देख्न पाइन्छ, केहीमा फंगल इन्फेक्सनको संक्रमण पनि अब देखिन थालेको छ ।

यसका लागि बिरामीले निको भइसकेपछि पनि आफ्नो शरीर र त्यसमा देखिएको परिवर्तनमाथि निकै सुक्ष्म ढङ्गले निगरानी राख्नुपर्छ ।

यस्ता बिरामीले अस्पतालबाट छुट्टी पाएको १५ दिनपछि पुनः डाक्टरलाई फलोअप चेक गराउनुपर्छ । त्यतिबेला यदि कुनै परीक्षण गर्न भनिएको छ भने गराउनुहोला ।

यतिबेला मास्क लगाउने, बारम्बार हात धुने र दुई गजको दुरी ख्याल राख्न पनि त्यत्तिकै महत्वपूर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप