शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदहरुले पाए कोभिसिल्ड खोपको दाेस्राे डोज, १५ लाख जनताले कहिले पाउने टुंगाे छैन

शुक्रबार, ३१ वैशाख २०७८, १२ : १३
शुक्रबार, ३१ वैशाख २०७८

सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड​ खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको ल्होत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको छ । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

ल्होत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने छ ।

दाेस्राे प्राथमिकतामा परेका सर्वसाधारणहरूले भने कहिले दाेस्राे डाेज लगाउन पाउने भन्नेमा अन्योल रहेको छ । गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो । 

​यसअघि भारतबाट १० लाख डोज अनुदान,१० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २३ लाख ४८ हजार डोज खोप नेपाल आएको थियो । 

जसमध्ये पहिलो प्राथमिकतामा परेका करिब ४ लाखले दोस्रो डोज खोपसमेत लगाइसकेका छन् । बाँकी पहिलो चरणको दोस्रो प्राथमिकताका परेका करिब १५ लाख जनसङ्ख्यालाई वैशाख २३ गतेदेखि जेठ २३ गतेभित्रै दोस्रो डोज खोप दिनुपर्ने हुन्छ । कतिपयले चैतको ३ गतेसम्म पनि खोप लगाएको हुनाले ढिलामा पनि असारको ३ गतेभित्रै १५ लाख जनसङ्ख्याले दोस्रो डोज खोप लगाइ सक्नुपर्नेछ । 

यी सबै खोप भारतमा उत्पादित कोभिशिल्ड खोप भएको कारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका करिब १५ लाख नागरिकले दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने हुन्छ । तर सरकारसँग न दोस्रो डोजका लागि खोपको मौज्दात छ,न त दोस्रो डोजका लागि समयमै दिने प्रतिवद्धता उत्पादक देश र कम्पनीले गरेको छ । जसका कारण पहिलो चरणको खोप अभियानको दोस्रो प्राथिमकतामा परेका करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजका लागि अन्योल बढेको छ ।

कोरोनाविरुद्धको खोप पहिलोपटक लगाएको ८ देखि १२ साताभित्र अर्को खोप लगाउनुपर्ने हुन्छ । सो समयावधिमा लगाएको खोपको प्रभावकारिता बढी हुने अनुसन्धानले देखाएको छ । त्यसकारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेर खोप लगाएकाहरुले वैशाखमा २३ गतेदेखि ढिलोमा असारको ३ गतेभित्रै खोपको दोस्रो डोज लगाइसक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप