शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल कारोबारमा फड्को

एक महिनामा पौने ३७ खर्बको डिजिटल कारोबार, एटीएमबाट मात्र ७० अर्ब झिकियो
सोमबार, ०३ जेठ २०७८, १२ : १५
सोमबार, ०३ जेठ २०७८

कोरोना महामारी फैलिएसँगै नगदरहित कारोबार निकै बढेको छ । पछिल्लो एक महिनामा मात्र ३६ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको डिजिटल कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो आरटीजीएस, बालेट, एटीएम, डेबिट कार्ड, आईपीएस, कनेक्ट आईपीएस, मोबाइल, इन्टरनेट लगायतका डिभाइसबाट भएको कारोबार रकम हो ।

एटीएमबाट मात्रै ७० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । इन्टरनेट बैङ्किङमा झण्डै २ सय ३१ प्रतिशतले बढी कारोबार भएको छ । राष्ट्र बैङ्क आफैले पनि चलाउने आरटीजीएस अर्थात रियल टाइम ग्रस सेटलमेन्टमार्फत २१ खर्ब ७७ अर्ब कारोबार भएको छ । यस्तै चेकबाट ९ खर्ब बढीको कारोबार भएको केन्द्रीय बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले कोरोना महामारीसँगै डिजिटल कारोबार फस्टाएको बताएका छन् । उनले  भने, ‘पैसा छुँदा कोरोना सर्छ भन्ने भएपछि नगद कारोबार डिजिटलतर्फ स्थानान्तरण भएको छ ।’

वालेट अर्थात इसेवा, खल्ती, आईएमई पे लगायतबाट एक महिनामा ११ अर्बको कारोबार भएको छ । गत साउनमा यस्तो कारोबार ७ अर्बको मात्र थियो । मोबाइल बैङ्किङ १ सय ६४ प्रतिशतले बढेको छ । साउनमा १ अर्बको कारोबार भएको मोबाइल बैङ्किङबाट चैतमा मात्र ४८ अर्बको कारोबार भएको छ ।

पछिल्लो समय केन्द्रीय बैङ्क नै प्रवद्र्धनमा जुटेको क्यूआर कोडमा पनि निकै आकर्षण देखिएको छ । क्यूआरकोडमार्फत भुक्तानी ३ सय ६२ प्रतिशतले बढेको छ । एक महिनामा क्यूआर कोडमार्फत झण्डै ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी हुन थालेको छ ।

केही वर्षयता नेपालमा डिजिटल कारोबार बढ्दो क्रममा छ । चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने एक मात्र माध्यम डिजिटल कारोबार भएको ठहर गर्दै ‘डिजिटल नेपाल’ अभियान घोषणा गरेका थिए । सोही आधारमा राष्ट्र बैङ्कले डिजिटल बैङ्किङलाई प्रवद्र्धन गर्दै आएको छ ।

कुन माध्यमबाट कति कारोबार ?

आरटीजीएस गत साउनको तुलनामा १४९ प्रतिशतले बढेको छ । साउनमा ८ खर्ब ७१ ऋर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो भने चैतमा २१ खर्ब ७७ अर्बको कारोबार भएको छ । एटीएमबाट साउनमा ३८ अर्ब नगद झिकिएको थियो भने चैतमा ८३ प्रतिशतले बढेर ७० अर्ब कारोबार भएको छ । चेकबाट साउनमा ६ खर्ब ५७ अर्ब कारोबार भएकोमा चैतमा अहिले ९ खर्ब ३० अर्बको कारोबार भएको छ । यो भनेको ४१ प्रतिशतले बढेको हो ।

आईपीएस (इन्टर बैङ्क पेमेन्ट) को कारोबार पनि ३५ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब ५६ अर्बको कारोबार भएकोमा चैतमा २ खर्ब ११ अर्बको कारोबार भएको छ । कनेक्ट आईपीएसबाट (घरबाटै मोबाइल वा इन्टरनेटबाट पैसा पठाउने) साउनमा ४७ अर्बको कारोबार भएको थियो भने अहिले १ खर्ब ४१ अर्बको कारोबार भएको छ । यो झण्डै २ सय प्रतिशतले वृद्धि छ । डेबिटकार्डबाट साउनमा ४१ अर्बको कारोबार भएको थियो भने चैतमा ७४ अर्बको कारोबार भएको छ । यसको कारोबार ७७ प्रतिशतले वृद्धि भएको देखिन्छ । इन्टरनेट बैङ्किमा झण्डै २३१ प््रतिशतले कारोबार बढेको नेपाल राष्टबैङ्कले जनाएको छ । यसबाट साउनमा ३ अर्बको कारोबार भएको थियो भने अहिले १० अर्बको कारोबार भएको छ । मोबाइलबाट हुने कारोबार पनि १६४ प्रतिशतले बढेको छ । साउनमा १८ अर्बको कारोबार भएकोमा चैतमा ४८ अर्बको कारोबार भएको छ । डिजिटल वालेट– इसेवा, खल्ती, आईएमईपे) साउनमा ७ अर्बको कारोबार भएकोमा चैतमा मात्र ११ अर्बको कारोबार भएको छ ।

क्यूआरकोडको ३६२ प्रतिशतको ग्रोथ छ । साउनमा ५८ करोड क्यूआरकोडमार्फत भुक्तानी भएकोमा चैतमा २ अर्ब ७२ करोडको कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप