शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! घरमा आफूखुसी अक्सिजन प्रयोग गर्नु घातक हुन सक्छ

सोमबार, ०३ जेठ २०७८, १३ : १७
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । के तपाईले बजारमा अक्सिजन अभावको हल्ला चलेपछि घरमै अक्सिजन सिलिन्डर राख्नुभएको छ ? श्वासप्रश्वासमा समस्या हुँदा चिकित्सकको सल्लाह विना अक्सिजनको प्रयोग गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईले ठुलो खतरा मोल्दै हुनुहुन्छ ।

होमआइसोलेसनमा बसेका कतिपय संक्रमितले श्वासप्रश्वासमा समस्या आएपछि आफै अक्सिजन प्रयोग गर्ने गरेको पाइन्छ । यसरी आफूखुसी अक्सिजन प्रयोग गर्नु खतरनाक हुने र यही कारण कतिपय संक्रमितको ज्यान जान थालेको चिकित्सकहरु बताउँछन् ।

अस्पतालमा अक्सिजन र बेडको अभाव भन्ने समाचार प्रत्येक दिन सार्वजनिक हुन थालेपछि संक्रमितहरुले पाएसम्म घरमै अक्सिजन सिलिन्डर राख्ने गरेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् ।

होमआइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका कोरोना संक्रमित बिरामीलाई जुनसुकै बेला अक्सिजन चाहिन सक्ने भन्दै केही बिरामीका आफन्तले अनावश्यक रुपमा अक्सिजन सिलिन्डर राख्नु र प्रयोग गर्नु खतरनाक हुन सक्ने उनको भनाइ छ ।

‘संक्रमितले श्वासप्रश्वासमा समस्या भएपछि घरमै आफै अक्सिजनको प्रयोग गर्दा उल्टै झन् समस्या बढेर इमर्जेन्सीमा आएका उदाहरण पनि छन्,’ उनी भन्छन्, ‘आफै अक्सिजनको गलत प्रयोग गरेर इमर्जेन्सीमा ल्याउँदा ल्याउँदै केही बाटैमै बित्छन्, केही अस्पताल आएको २÷३ घण्टामा बित्छन् ।’ कोभिडका बिरामीलाई श्वासप्रश्वासमा समस्या हुनुमा धेरै कारण हुन सक्ने र तीमध्ये निमोनिया पनि एउटा कारण हुन सक्ने डा. दासको भनाइ छ । कोभिड निमोनिया हुँदा संक्रमितलाई अक्सिजनले मात्रै निको पार्न नसक्ने उनले बताए । त्यसैले घरमै राखेर अक्सिजन दिएको भरमा बिरामी निको हुन्छ भन्ने भ्रममा नपर्न उनले सर्वसाधारणलाई अपिल गरेका छन् ।

अर्कोतिर सामान्य अवस्थाका बिरामीले अक्सिजन सिलिन्डर घरमै स्टक राख्दा अस्पतालमा अक्सिजन अभाव भइ बिरामीको ज्यान जाने खतरा बढेको सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

चिकित्सकको सल्लाहबिना अक्सिजन गलत तरिकाबाट प्रयोग गर्दा फोक्सो नै ड्यामेज हुन सक्ने उनले बताए । ‘कुन मात्रामा अक्सिजन प्रयोग गर्ने भन्ने थाहा पाउनुपर्छ,’ उनले भने, ‘कुन अवस्थामा अक्सिजन आवश्यक पर्छ भन्ने बारेमा जानकारी लिएरमात्रै प्रयोग गरे फाइदा हुन्छ नत्र ज्यान जान पनि सक्छ ।’

कोभिड बिरामीलाई अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएमा विशेषज्ञको सल्लाहबिना कुनै पनि हालतमा प्रयोग गर्न नहुने डा. अधिकारीको भनाइ छ ।

संक्रमितलाई श्वासप्रश्वासमा समस्या हुँदा कोभिड निमोनिया हुने सम्भावना भएकाले अक्सिजनले मात्रै निको नभएर अन्य औषधि प्रयोग गर्नुपर्ने हुन सक्ने उनले बताए । त्यसैले त्यस्तो अवस्थामा बिरामीलाई अस्पतालमा लैजान उनी सुझाव दिन्छन् ।

अक्सिजनको लेवल घटेपछि वा श्वासप्रश्वासमा समस्या आएका व्यक्तिहरु घरमै अक्सिजन लिएर बस्ने गरेको डा. अधिकारी सुनाउँछन् । ‘गाह्रो भएपछि अस्पताल आउँछन्,’ उनी भन्छन्, ‘अनि उनीहरुलाई बचाउन सक्ने सम्भावना ज्यादै न्यून हुन्छ ।’

संक्रमित बिरामीलाई सास फेर्न गाह्रो भएमा घरमै बसेर उपचार गर्ने कि अस्पतालमा पुग्ने भनेर डाक्टरसँग सल्लाह लिएरमात्र अक्सिजन लिने प्रक्रिया अगाडि बढाउन उनको सुझाव छ ।

घरमा अक्सिजन राख्दा हुने खतरा

घरमा अक्सिजन ग्याससहितको सिलिन्डर राख्नु सुरक्षाका दृष्टिले खतरा हुने विज्ञहरु बताउँछन् । भरी अक्सिजन सिलिन्डर राख्दा, खोल्दा, प्रयोग गर्दा सानो गल्ती भएमा आगलागीसमेत हुन सक्ने डा. अधिकारी बताउँछन् । चिकित्सकको निगरानी र सल्लाहमा बिरामीलाई घरमै राखेर अक्सिजन प्रयोग गर्दा स्वास्थ्यमा समेत झन् खतरा निम्तिन सक्ने उनले बताए ।

अक्सिजन चाहिएभन्दा बढी प्रयोग गर्दा फोक्सो सुक्ने डा. दास बताउँछन् । यस्तै अक्सिजन खोल्दा, प्रयोग गर्दा ध्यान नपुर्याएको खण्डमा आँखामा गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक अक्सिजन समयमै जुटाउन अस्पतालहरुलाई हम्मेहम्मे छ । होमआइसोलेशनमा बस्ने संक्रमितले चिकित्सकको परामर्शबिना अक्सिजन प्रयोग गर्दा एकातिर उनीहरु आफै जोखिममा परिरहेको र अर्कोतिर अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन अभाव भई उनीहरुको जीवनलाई समेत जोखिममा पार्ने गरेको चिकित्सकहरु बताउँछन् ।

डा. दास भन्छन्, ‘एकातिर अक्सिजन आवश्यक पर्ने बिरामी समयमै अक्सिजन नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था छ भने केहीले पहुँचका आधारमा घरघरमा अक्सिजन राखेका छन्, जो उचित तरिकाले प्रयोग गर्न नजान्दा आफै बिरामी भएर अस्पताल आउने गरेका पाइन्छन् ।’

संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढेको छ । यद्यपि सामान्य लक्षण देखिएर होमआइसोलेसनमा बसेका सबैलाई अक्सिजन र बेडको आवश्यकता नपर्ने डा. अधिकारी बताउँछन् ।

बेड र अक्सिजनको अभाव भन्ने त्रासले अक्सिजन सिलिन्डर सञ्चित गर्नेलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप