शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउथ सुडानमा अपमानित यूएन मिसन

सोमबार, ३० असोज २०७४, १० : ४५
सोमबार, ३० असोज २०७४

थप्पड खाएर पनि टिकिराख्ने राष्ट्रसङ्घीय रणनीति 

काठमाडौँ – साउथ सुडानको राजधानी जुबास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका हेलिकप्टरको ताँती नै देख्न सकिन्छ । यूएनका ठूला विमान आउने जाने गरिरहन्छन् । विश्व खाद्य कार्यक्रमका हेलिकप्टर, आईसीआरसीलगायतका एनजीओ आईएनजीओका हेलिकप्टरले विमानस्थल भरिएको छ । राजधानी जुबाबाहेकका क्षेत्रमा दिनहुँ लडाइँ भइरहन्छ । डिंका जातिको तर्फबाट राष्ट्रपति साल्भाकिरले लडाइँको नेतृत्व गरेका छन् भने विद्रोही सेनाको तर्फबाट निउर जातिको प्रतिनिधित्व गर्दै पूर्वउपराष्ट्रपति डा. रिक मचार लडाइँको मैदानमा छन् । 

निकै व्यस्त देखिने विमानस्थलको आडमा टेन्टको छानामुनि रहेको इमिग्रेसन अफिसलाई सुडान पिपुल्स लिबरेसन आर्मी (एसपीएलए)का एकजना लेफ्टिनेन्ट कर्णेलले कमान्ड गरेका छन् । 

यूएन मिसनमा जाने विभिन्न देशका सैनिक तथा अफिसियल कर्मचारी सबैभन्दा पहिले इमिग्रेसनमा अपमानित हुन्छन् । यूएन हाउसमा स्टाफको रूपमा कार्यरत नेपाल प्रहरीका डीएसपी नरहरी रेग्मी भन्छन्– ‘अनेक बहाना बनाएर सामान्य कुरामा पनि दुःख दिने घट्ना यहाँ सामान्य भइसकेको छ ।’ 

गत बिहीबार शान्ति मिसनमा सहभागी हुन जुबा विमानस्थल ओर्लिएको बेलायती सेनाका एक अधिकारीलाई इमिग्रेसनका एक कर्मचारी सोध्दै थिए– ‘तपाईंहरू किन यहाँ आएको ? संयुक्त राष्ट्रसङ्घ किन हाम्रो साउथ सुडानमा बसिरहेको छ ?’ एसपीएलएका सुरक्षा अधिकार सकभर यूएनसँग जोडिएका मान्छे साउथ सुडान विमानस्थलमा ओर्लिएको हेर्न चाहँदैनन् । ओर्लिएपछि सकभर कुनै त्रुटि देखाएर फिर्ता पठाउन खोज्छन्, त्यो पनि नसके अपमानित गर्छन् । 

एयरपोर्टमा जहाजका ताँती मात्रै छैनन्, राजधानी जुबाको सड्कमा सबैभन्दा धेरै मुभमेन्ट गर्ने गाडीमा ‘यूएन’ लेखिएको हुन्छ । निकै तामझामका साथ महँगो मिसन सञ्चालन गरेको संयुक्त राष्ट्रसङ्घलाई साउथ सुडानको सरकारी नियकाले भने घृणा गर्दै आएको छ । 

‘राष्ट्रसङ्घलाई यहाँका सुरक्षा अधिकारीले विद्रोही सेना (निउर)लाई सपोर्ट गर्न आएको भन्ने बुझेका छन्’– मिसनमा कार्यरत एक नेपाली अधिकारी भन्छन्– ‘त्यसैले शान्ति मिसनमा आएका सुरक्षा फौजदेखि यूएन स्टाफसम्म यहाँ अपमानित भइरहेका छन् ।’ 

संयुक्त राष्ट्रसङ्घीय मिसन साउथ सुडान (अनमिस)ले विद्रोही पक्ष र सरकारी पक्ष दुवैलाई समान व्यवहार गर्ने नीति अख्तियार गरेको छ । राष्ट्रसङ्घको उपस्थितिकै कारण डिंका बाहुल्य क्षेत्र जुबा र त्यस आसपासमा रहेका निउरहरूलाई राज्यले कत्लेआम गर्ने हिम्मत गरेको छैन । हजारौँ निउरहरू यूएनको क्याम्पमा  सुरक्षित बस्न पाएका छन् । जसका कारण विद्रोही फौजले अनमिस आफ्नो पक्षमा रहेको बुझाइ पालेको छ । 

जुबा सहरमा यूएनका गाडी सबैभन्दा धेरै ट्राफिक प्रहरीको निशानामा पर्छन् । मोबाइल पकेटमै हुँदा पनि गाडी रोकेर किन मोबाइलमका कुरा गरेको भन्दै ट्राफिक प्रहरीले १५ हजार एसएसपी (साउथ सुडानिज पाउन्ड) मागेको अनुभव सुनाउँदै थिए एक सुरक्षा अधिकारी ।

त्यति मात्रै हैन, लामो पेट्रोलिङमा निस्किएको पिसकिपर्सहरूको सुरक्षा फौजलाई सिर्फ एकजना एसपीएलएका अधिकारीले बीच बाटोबाटै फिर्ता पठाइदिएको उदाहरण अनगिन्ती सुन्न पाइन्छ । 

यसरी मिसनमा खटिएका सैन्य अधिकारी र आफ्ना स्टाफ अपमानित हुँदा पनि अनमिसले थप्पड खाएरै भए पनि साउथ सुडानमा टिक्ने रणनीति लिएको छ । राष्ट्रसङ्घका महासचिवको प्रत्यक्ष निगरानीमा सञ्चालित अनमिसमा ४२ देशका सेना प्रहरी र अन्य दर्जनौँ मुलुकबाट अफिसर स्टाफ कार्यरत छन् । फिल्डमा जाँदा सरकारी फौजले थप्पड हाने पनि यूएनले ‘चुपचाप फर्कनू तर प्रतिकार नगर्नू’ भन्ने आदेश दिएको छ । 

‘विभिन्न मुलुकमा राष्ट्रसङ्घले फरक–फरक मिसन सञ्चालन गरेको हुन्छ, यहाँको मिसनको मुख्य लक्ष्य भनेको प्रोटेक्सन अफ सिभिलियन हो’– सुडानमा १३ महिना बिताएका नेपाली सेनाका प्रमुख सेनानी डिकबहादुर थापा भन्छन्– ‘साउथ सुडानमा द्वन्द्वका कारण आन्तरिक विस्थापितहरूलाई खाना र सुरक्षा प्रदान गर्नु अनमिसको मुख्य ध्येय रहन्छ ।’ 


       
अपमान सहन नसकेर जापानी फौज फिर्ता
साउथ सुडानमा शान्ति स्थापनार्थ खटिएको जापानी सेनाको फौज जुवा विमानस्थल नजिकै टम्पिङ क्याम्पमा बसेको थियो । तर सात महिनाअघि उक्त फौज घर फर्किएको छ । जापानी फौज घर फर्कनुको मुख्य कारण साउथ सुडानी सुरक्षा अधिकारी र सरकारको व्यवहार मुख्य कारण भएको बताइएको छ । 

पेट्रोलियम खानी राष्ट्रसङ्घको सुरक्षा घेरामा
साउथ सुडानमा पेट्रोल खानीहरू धेरै छन् । केही खानीहरूबाट उत्तरी सुडानले पाइपलाइनमार्फत कच्चा पेट्रोल लगेको छ, जसको रोयल्टी साउथ सुडानले पाउँछ । तर युद्ध र गरिबीका कारण साउथ सुडानले आफ्नै पेट्रोलियम खानीहरू उत्खनन गर्न नसक्दा राजधानीमै तेलको हाहाकर छ । जुबामा रहेका पेट्रोलपम्प अगाडि सधैँ गाडीका ताँती देखिन्छन् । स्थानीयहरू पम्प खुलेको बेला प्रतिलिटर २३ एसएसपी मा किनेको तेल बाटोमा पसल थापेर १५० एसएसपीसम्ममा बेच्छन्, त्यो पनि सरकारी सेना–पुलिसको आँखा छल्दै । 

इजिप्टले लागू गरेको मुस्लिम शासनकाविरुद्ध उत्तरी सुडानसँग युद्ध गरेको दक्षिण सुडानले यसअघि करिब १३ वर्ष स्वतन्त्र प्रदेशका रूपमा अभ्यास गरेको थियो । पछि उत्तरी सुडानले स्वतन्त्र प्रदेशमाथि हस्तक्षेप गर्दै आफ्नै कानुन लागू गरेपछि दुई देशका बीचमा पुनः निर्णायक युद्ध भयो, परिणाम स्वरूप २०११ मा साउथ सुडान स्वतन्त्र भयो । 

उत्तरी सुडान र दक्षिणी सुडानको युद्ध अझै सकिएको छैन । दुई देशको सिमानामा रहेको ‘अबेई’ भन्ने स्थान पेट्रोलियम पदार्थ र पशुपालनका लागि राम्रो मानिन्छ । उक्त स्थानलाई दुवै देशले आफ्नो भनेर दाबी गर्दै आएपछि संयुक्त राष्ट्रसङ्घले अबेईलाई नियन्त्रणमा लिएर आफ्नै सुरक्षा घेरामा राखेको छ ।

साउथ सुडान : जातीय युद्धको डरलाग्दो तस्बिर

 

साउथ सुडानमा राष्ट्रसंघको विश्वास जित्दै नेपाली सेना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप