बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चौध करोडको तरकारी बिक्री

मङ्गलबार, ३१ असोज २०७४, १६ : १७
मङ्गलबार, ३१ असोज २०७४

तेह्रथुम -आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ । 

बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो । सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिनुभयो । 

चौध हजार २८३ मेट्रिक टन तरकारी जिल्लाबाहिर बिक्री गर्दा रु १३ करोड ८० लाखभन्दा बढी रकम    भित्रिएको घिमिरेले बताउनुभयो । बाह्र हजार ८५६ मेट्रिक टन अर्थात् ४७ प्रतिशत तरकारी जिल्लामै खपत भएको थियो । जिल्लामा व्यावसायिक तरकारीखेती गर्ने किसानको संख्या थपिँदै गएको छ । किसानले खाद्यान्न बालीभन्दा तरकारी बालीबाटै मनग्य आम्दानी लिन थालेका छन् । 

किसनले दुई मुरी मकै फल्ने जमिनबाटै वर्षे र हिउँदे तरकारी खेतीबाट रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् । किसानको ध्यान थोरै मेहनत, कम लगानी र नगद आम्दानी भन्दै तरकारीखेतीतर्फ तानिएको घिमिरेले बताउनुभयो । जिल्लामा ७३६ हेक्टर क्षेत्रफलमा वर्षे, ४७० हेक्टरमा हिउँदे र ४५० हेक्टरमा बेमौसमी तरकारीखेती हुने गरेको छ । 

गत आवमा किसानले ११ हजार ३९३ मेट्रिक टन वर्षे तरकारी उत्पादन गरेकामा एक हजार ७०८ मेट्रिक टनमात्रै जिल्ला बाहिर बिक्री गर्न पठाइएको कृषि कार्यालयले जनाएको छ । बेमौसमी तरकारी आठ हजार १०० मेट्रिक टन उत्पादन भएकामा दुई हजार २५ मेट्रिक टन मात्र जिल्ला बाहिर पठाइएको थियो । 

बेमौसमी तरकारीखेतीतर्फ किसान आकर्षित भएका कृषि कार्यालयका प्राविधिक सहायक भुवन बुढाथोकीले बताउनुभयो । गत आवमा सात हजार ६४६ मेट्रिक टन हिउँदे तरकारी उत्पादन भएकामा एक हजार १४६ मेट्रिक टन जिल्लामै खपत भएको थियो । 

“तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ,” फुलेकका व्यापारी महेन्द्र पौडेलले भन्नुभयोे । जिल्लामा बन्दाकोभी र काउलीको माग बढी रहेको उहाँको भनाइ छ । 

लालीगुराँस नगरपालिका–४, फुलेकका जगल काफ्ल तरकारीखेती गर्दा अन्य बालीभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ । “तरकारी खेती गरेरै वार्षिक रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी हुन्छ ।” परम्परागत खेती छाडेर तरकारी खेती गर्न थालेपछि यहाँका किसानको आर्थिक अवस्था बलियो हँुदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप